Comments Add Comment

अंकित भन्छन्–‘बाहिरी ब्यानरबाट अफर आएन भने आफूलाई सफल मान्दिनँ’

शुक्रबारदेखि रिलिज हुन लागेको चलचित्र ‘रातो टिका निधारमा’का नायक अंकित शर्मा अहिले दबाब महशुश गरिरहेका छन् । निर्देशक तथा निर्माता अशोक शर्माका छोरा अंकित अब आफ्नो नाम र पहिचान बनाउन चाहन्छन् । यसका लागि, उनलाई यो चलचित्रको व्यापार मात्र होइन, उनको अभिनयको प्रशंसा समेत हुन आवश्यक छ ।

अंकित भन्छन्–‘हरेक बाबु आमाको सपना हुन्छ कि, छोराछोरीले नाम बनाउन् । छोराछोरीकै नामबाट चिनिन पाउ । मेरो बाबु आमाको पनि यो सपना छ । आशा छ, मैले पुरा गर्नेछु ।’ नेपाली चलचित्र क्षेत्रमा उनी नयाँ छन् । तर, नायकको रुपमा मात्र उनलाई दर्शकले नयाँ सोच्न सक्छन् । चलचित्र ‘सुन्तली’मै उनले सह–निर्देशकको रुपमा काम गरेका थिए ।

आफ्नै बाबु अशोक शर्माले बनाएको चलचित्र ‘जय भोले’मा उनी सह–निर्देशकको रुपमा देखिएका थिए । तर, यसपटक पर्दा अगाडि नै आउँदा उनलाई दबाब महशुश भएको हो ।

अंकितलाई दर्शकले नायकको रुपमा स्विकार गर्नेमा विश्वास छ । तर, स्विकार गरेनन् भने–‘मलाई केही मात्रामा संकेत भैसकेको छ कि, दर्शकले मलाई कसरी लिनुहुन्छ । यसैले, यसपटक स्विकार गर्नुहुन्छ भन्ने आशा छ । यदि, गर्नुभएन भने अर्को चलचित्रमा कमजोरी सच्चाएर काम गर्नेछु ।’

अंकितलाई चलचित्र क्षेत्रमा छोटो रेश दौडनु छैन । उनलाई लामो रेशको घोडा बनेर दर्शकको मन जित्नु छ । यसैले, आफूले एक बर्ष लगाएर तयारी गरेको उनले सुनाए ।

अनलाइनखबरसँग कुरा गर्दै अंकित भन्छन्–‘मेरो बुबाको ब्यानरमा मात्र काम पाएको खण्डमा म सफल भएँ भन्न सक्दिनँ । मलाई अरु ब्यानरले पनि पत्याउनुपर्छ । आशा छ, पहिलो चलचित्रमा काम हेरेपछि अरुले पनि अफर गर्नुहुनेछ ।’

चलचित्रको पहिलो लभ स्टोरी गीत सार्वजनिक हुँदा अंकितलाई धेरैले नकारात्मक प्रतिक्रिया दिएका थिए । सुरुमा यस्ता प्रतिक्रिया आउँदा उनले नराम्रो महशुश गरेका थिए । तर, अहिले नकारात्मक प्रतिक्रिया कम भएको छ । ट्रेलरसम्म आइपुग्दा उनले दर्शकको माया पाएका छन् । चलचित्र रिलिज भएपछि दर्शकले अझै माया गर्ने उनको विश्वास छ ।

अंकितलाई चलचित्रको नायक बन्नुपर्छ भन्ने सोच गतबर्षबाट आएको हो । यसैले, त उनले ‘जय भोले’बाट डेब्यू गरेनन् । बरु, एक बर्ष कुरेर ‘रातो टिका निधारमा’मा काम गरे ।

पहिलो चलचित्रमा उनलाई स्टारको रुपमा प्रस्तुत गरिएको छैन । अंकितले, कथामा काम गरेका छन् । उनलाई, किन हिरोइज्म नदेखाएको भनेर प्रश्न गर्ने पनि छन् । अंकित भन्छन्–‘एउटा कलाकारले राम्रो कथामा काम गरेपछि उसको स्टारडम बढ्दै जान्छ । सुरुमै हिरो देखिएर पछि जिरो देखिदा करिअर सुखद हुँदैन ।’

असोज १० गतेबाट रिलिज हुन लागेको चलचित्रमा उनले नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहसँग पर्दा शेयर गरेका छन् । साम्राज्ञीबाट धेरै कुरा सिक्न पाएको अंकित सुनाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment