Comments Add Comment

स्वदेशकै खसी–बोकाले टर्ने भयो दशैं

उत्पादन पर्याप्त रहेको व्यापारीको दाबी

५ असोज, काठमाडौं । सरकारले गत फागुनदेखि नेपालमा भारतीय खसी–बोकाको आयातमा घुमाउरो बन्देज लगायो । त्यसले गर्दा दशैंमा खसीको मासु अभाव हुने आशंका गरिएको थियो । तर, व्यवसायीहरुले भने स्वदेशी उत्पादन नै पर्याप्त भएकाले अभाव नहुने र मूल्य पनि नबढ्ने दाबी गरेका छन् ।

दशैं लाग्दै गर्दा जिउँदो खसीको आयात प्रशस्त मात्रामा भएकाले यस वर्ष चिन्ता गर्नुपर्ने अवस्था नरहेको नेपाल माछा मासु व्यवसायी संघले जनाएको छ । संघका द्वितीय उपाध्यक्ष उमेश खड्गीका अनुसार सरकारले भारतीय खसी–बोका ल्याउन बन्देज लगाउँदा पनि आन्तरिक उत्पादनले बजारको माग धान्न सक्छ ।

दुई वर्ष अगाडिको दशैमा काठमाडौं उपत्यकामा खसीको मासुको मूल्य प्रतिकिलो ९ सय थियो । गतवर्ष दशैंमा एक हजार रुपैयाँ पुग्यो । संघका अनुसार यस वर्ष दशैंको मुखैमा खसीको मासु प्रतिकिलो साढे ११ सयदेखि १२ सयमा बिक्री भइरहेको छ । साउनको तुलनामा अहिले खसीको मासु एक सय रुपैयाँ सस्तो भएको संघका अध्यक्ष रमेश खड्गी बताउँछन् ।

मासुको न्यूनतम वा अधिकतम मूल्य कति हुने भन्ने सरकारी मापदण्ड नहुँदा मासुको मूल्य व्यापारी आफैले तोक्ने गरेका छन् । नेपाल माछा मासु व्यवसायी संघका अध्यक्ष खड्गीका अनुसार मासु व्यवसाय परम्परागत ढंगले चलेको छ ।

‘कुन ठाउँ, कस्तो खसी र मासुको कस्तो परिकार हो त्यसैअनुसार मूल्य तोकिन्छ,’ खड्गीले भने । सरकारले मूल्य तोक्ने संयन्त्र नबनाएका कारण आफूहरुले कालाबजारीको आरोप खेप्नु परेको गुनासो खड्गीले गरे । ‘सरकारले खसी बोकाको आपूर्ति व्यवस्था सहज गरोस र मूल्य तोकोस्,’ उनले भने ।

वाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण विभागले मूख्य चाडपर्वमा भारतबाट खसी–बोका आयात खुलाउनेबारे अघिल्लो महिना कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग छलफल गरेको थियो । तर, बजारमा ठूलो अभाव नहुने कृषि मन्त्रालयको संकेतपछि यो वर्षको दशैंमा नेपाली खसीकै मासु प्रयोग गर्ने अवस्था बनेको विभागले जनाएको छ ।

नेपाली कृषकले आफ्नो उत्पादनले मूल्य पाउने र व्यापार घाटा न्यूनिकरणमा समेत टेवा पुग्ने भएकाले थोरै मूल्यवृद्धि स्वभाविक भएको विभागका महानिर्देशक योगेन्द्र गौचनले बताए । सुपथ मूल्यमा खाद्य व्यवस्था कम्पनीले खसी–बोका बेच्न थालेपछि मूल्य अझै घट्ने उनको दाबी छ ।

संघिय संरचनामा कार्यालयहरु व्यवस्थापन हुँदै गरेका कारण नेपालमा खसी-बोका उत्पादनको नयाँ तथ्याङ्क भने उपलब्ध हुन अझै समय लाग्ने पशुसेवा विभागले जनाएको छ । विभागका अनुसार आर्थिक वर्ष ०७४/७५ मा नेपालमा १ करोड १६ लाख ४७ हजार ३१९ वटा खसी-बोका थिए । उक्त वर्ष २ हजार ७५४ मेट्रिक टन मासु उत्पादन भएको विभागले जनाएको छ ।

पशुपालक कृषक लाभान्वित

पशु क्वारेन्टाईन मापदण्डअनुसार स्वस्थता प्रमाणपत्रका आधारमा मात्रै खसी–बोका भित्रिन दिने नीति सरकारले लिएको छ । व्यापारीले यस्तो प्रमाणपत्र ल्याउन नसक्दा भारतीय खसी–बोका नेपाल भित्रिन नसकेका हुन् । अहिले भारतीय क्वारेन्टाइनको स्वस्थता, सेनेटरी प्रमाण र ल्याब रिपोर्ट नल्याएका खसीबोका भन्सार पास हुँदैनन् ।

कृषि तथा पशुपंछि विकास मन्त्रालयका अनुसार उक्त नीति कार्यान्वयनमा आएसँगै बजारमा केही समय खसी बोका अभाव देखिएको थियो, जुन अहिले हल हुने क्रममा छ । रोग भित्रिनबाट रोक्न र नेपाली उत्पादनलाई प्रश्रय दिन पशु क्वारेन्टाईन कडाईकासाथ लागू गरिएको मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदी बताउँछन् । सुवेदीका अनुसार आफूले पालेका खसी–बोकाले बजार पाउँछन् भन्नेमा अहिले नेपाली कृषक निश्चिन्त बनेका छन् ।

‘केही समय मूल्यवृद्धि र अभाव देखिए पनि अब यो हट्छ,’ उनले भने, ‘यद्यपि स्वस्थ खसी बोका भारतबाट पनि भित्रिएको छ ।’

आर्थिक वर्ष ०७५/७६ मा २ अर्ब ६५ करोड १८ लाख ८५ हजार मूल्य बराबरको ३१ करोड ६० लाख ४९ हजार वटा खसी-बोका आयात भएका थिए । सो आवको सुरुवाती तीन महिनामै १६ करोड ६० हजारवटा जिउँदा खसी-बोका भारतबाट नेपाल भित्रिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment