Comments Add Comment

बढी शुल्क फिर्ता गर्न मेडिकल कलेजलाई एक महिने अल्टिमेटम

Photo Credit : किरण भट्टराई/गृहमन्त्रीको सचिवालय

६ असोज, काठमाडौं । सरकारले तोकिएभन्दा बढी शुल्क लिएका मेडिकल कलेजलाई रकम फिर्ता गर्न एक महिने अल्टिमेटम दिएको छ ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’, शिक्षामन्त्री गिरिराजमणि पोखरेलबीच भएको संयुक्त बैठकले विद्यार्थीबाट बढी लिइएको शुल्क एक महिनाभित्र फिर्ता नगरे कारबाही प्रक्रिया समेत अघि बढाउने निर्णय गरेको हो ।

छलफलमा सहभागी एक अधिकारीका अनुसार सरकारको आह्वान अटेरी गरे मुलुकी अपराध संहिताको ठगी सम्बन्धी कसूर र चिकित्सा शिक्षा ऐनमा भएको व्यवस्था बमोजिम कारबाही अघि बढाउने निर्णय भएको छ ।

गृहमन्त्रालयमा भएको बैठकमा गृह सचिव प्रेमकुमार राई, शिक्षा सचिव महेश दाहाल, त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुधा त्रिपाठी, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा. डा. श्रीकृष्ण गिरी, आईओएमका डीन जगदिश अग्रवाल लागयत पनि सहभागी थिए ।

शिक्षामन्त्रीको प्रस्तावमा निर्णय

बैठकमा गृहमन्त्री थापाले ०७२ सालपछि सरकारले मेडिकल शिक्षाको शुल्क तोकेपछिको अवधिमा लिइएको बढी शुल्क फिर्ता गराउन राजनीतिक र कानूनी समाधान खोजिने बताएका थिए ।

शिक्षामन्त्री पोखरेलले अघिल्लो वर्षको मन्त्रिपरिषद बैठकले बढी शुल्क लिएका कलेजलाई सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन सकिने निर्णय गरेको स्मरण गराउँदै शुल्क फिर्ता नगरे सोही अनुरुप कारबाही अघि बढाउनुपर्ने प्रस्ताव राखेको स्रोतले बतायो ।

अहिले काठमाडौं उपत्यकाभित्र एमबीबीएस अध्ययनका लागि ३८ लाख ५० हजार र उपत्यकाबाहिर ४२ लाख ५० हजार शुल्क लिन पाउने सरकारी सीमा छ ।

सीमाभन्दा बढी शूल्क लिएको बताउँदै अहिले चितवनको सीएमसी मेडिकल कलेजका विद्यार्थी आन्दोलनरत् छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment