Comments Add Comment

संसदीय समितिले भन्यो – दशैंमा भारु लिएर आउनेलाई दु:ख नदिनू

६ असोज, काठमाडौं । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले दशैंमा भारतबाट घर फर्किने नेपालीलाई भारतीय नोटका कारणका दुःख नदिन सरकारलाई निर्देशन दिएको छ । सोमबारको बैठकले दशैं मान्न घर फर्किने नेपालीले नेपालमा नचल्ने भारतीय नोट ल्याए पनि कारबाही नगर्न गृह मन्त्रालयलाई निर्देशन दिएको हो ।

हाल नेपालमा भारतको एक सय रुपैयाँमात्र प्रचलन गर्न पाइन्छ । पाँच सय, एक हजार र दुई हजार दरका भारतीय नोटको कारोबार गर्न पाइदैन । तर भारतमा रोजगारी गर्नेले घर फर्किँदा यस्तो रकम बोक्न सक्ने गृहसचिव प्रेमकुमार राईले समिति बैठकमा बताए । उनका अनुसार नेपालमा नचल्ने भारतीय नोट किन ल्याएको भन्दै बोर्डरमा प्रहरीले दुख दिन सक्छ ।

समिति सभापति शशी श्रेष्ठले गृह मन्त्रालयलाई अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकसँगसमन्वय गरी यो समस्या सुल्झाउन निर्देशन दिएको बताइन् ।

छलफलमा सांसदहरुले नेपाल प्रवेश गर्नुअघि भारतीय नोट उतै (बोर्डर) साट्ने ब्यवस्था मिलाउन सकिन्छ कि भन्ने प्रस्ताव गरेका थिए । त्यसो गर्दा चोरी र डकैतीको सम्भावना रहेको केही सांसदहरुले नै बताए ।

जवाफमा गृहमन्त्री रामबहादुर थापाले अर्थमन्त्रालयसँग कुरा गरेर नेपालमा नचल्ने भारतीय नोट लिएर आउनेहरुलाई पर्न सक्ने समस्याको समाधान गर्ने प्रतिबद्धता जनाए । उनले भने, ‘भारतीय ठूला नोटहरु नेपालमा नचल्ने विषयले समस्या आउने देखिन्छ । अर्थमन्त्रालयसँग छलफल गरेर यो समस्या सकेसम्म छिटो समाधान गर्नेरित जोड दिन्छौं ।’

अर्थ मन्त्रालय बोल्नुपर्‍‍यो :  गृहसचिव राई

गृहसचिव राईले यो विषयमा अर्थ मन्त्रालयले प्रष्ट पार्नुपर्ने बताए । ‘यो विषयमा के गर्ने भन्दा उहाँहरु (अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंक) बोल्नुहुन्न’, समिति बैठकमा गृहसचिव राईले भने ।

उनले अगाडि भने ‘भारतीय नोट तपाईंंले किन ल्याउनुभयो ? २ हजार कहाँबाट आयो ? एक हजार कहाँबाट आयो ? भनेर हाम्रै सुरक्षा निकाय र अन्य प्रशासनिक निकायबाट दुख दिने खालको प्रवृत्ति बढ्न सक्ने सम्भावना छ’ गृहसचिव राईले भने, ‘लिने भए लिने भन्नुपर्‍यो । ब्याण्ड हो भने ब्याण्ड भनिदिनुपर्‍यो ।’

सीमा क्षेत्रको लुटपाट रोक्नु, सवारी भाडा जथाभावी हुन नदिनू

राज्य समितिले दशैं तिहार, छठ लगायतका पर्वमा हुन सक्ने आपराधिक क्रियाकलाप (चोरी÷डकैती, लुटपाट) रोक्नका लागि पूर्व तयारी गरी शान्ति सुव्यवस्था कायम गर्न पनि गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

दशैंका बेला चाडपर्व मनाउन काठमाडौं उपत्यकाबाट ठूलो संख्यामा मानिसहरु बाहिरिन्छन् । त्यही मौकमा चोरीका घटनाहरु हुन सक्ने भन्दै समितिले उपत्यकामा हुन सक्ने चोरी नियन्त्रण विषेश सुरक्षा ब्यवस्था कायम गर्न गृहलाई भनेको छ ।

यस्तै, लामो दुरीका सवारी साधनलाई व्यवस्थित गर्न, सवारी भाडादरलाई सरकारी मापदण्ड अनुरुप लिने ब्यवस्था गर्ने गरी ब्यवस्था मिलाउन भनेको छ ।

समितिले चाडबाडमा अत्याधिक उपयोग हुने दैनिक उपभोग्य सामग्रीहरुको पर्याप्त आपुर्ति गर्न र कालो बजारी नियन्त्रण गरी आम नागरिकलाई सहज र सुरक्षित रुपमा चाडपर्व मनाउने वातावरण तयार गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

त्यसअघि समिति बैठकमा गृहमन्त्री थापाले सवारी दुर्घटनारहित बनाउने गरी सरकारले सूरक्षा योजना बनाइएको जानकारी दिएका थिए । गृहसचिव राईले लामो दुरीका सवारीसाधनलाई अनिवार्य रुपमा दुई वटा ड्राइभर राख्न र बढी भाडा नलिन भनिएको उल्लेख गर्दै त्यसो गरे तुरुन्त कारबाही हुने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment