Comments Add Comment

चाडपर्व सुरक्षा योजना : कालोबजारी रोक्ने, ड्राइभरलाई फूलमाला लगाउने

६ असोज, काठमाडौं । गृहमन्त्रालयले दशैं, तिहार, छठलाई लक्षित गरी ‘चाडपर्व विषेश सूरक्षा योजना’ ल्याएको छ । जसमा बसपार्कबाट बस छुट्दा चालक÷सहचालकलाई फूलको माला लागाइदिनेदेखि बिग्रे, भत्केका सडक सुधार गर्नेसम्मका योजना समेटिएका छन् ।

सुरक्षित यात्राका लागि प्रोत्साहन होस् भनेर गाडी छुट्दा चालक र सहचालकलाई फूलको माला लगाएर गन्तब्यतर्फ पठाउने योजना गृह मन्त्रालयको छ । ‘उहाँहरु (ड्राइभर)लाई बसपार्कबाट बस छुट्नुअघि प्रोत्साहन/ढाडस/मोटिभेसन होस भनेर फूल दिएर, माला लगाएर पठाउने प्रवृत्ति विकास गर्न गइरहेका छौं’ सोमबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा गृहमन्त्री रामबहादुर थापाले भने ।

विशेष सुरक्षा योजनामा बिग्रे, भत्केका सडक सुधार गर्ने, धार्मिक स्थलहरुमा सुरक्षा, सीमा क्षेत्रमा पनि सहायता कक्ष, टिकटमा कालोबजारी र कृत्रिम अभाव हुन नदिने लगायतका योजना छन् । अहिल पनि सडक सुधार जारी रहेको र यसले केही समय निरन्तरता पाउने गृहमन्त्री थापाले बताए ।

यी हुन्, गृहले अपनाएको चाडपर्व विषेश सुरक्षा योजना

१. राजमार्ग र सहायक राजमार्गमा यात्रु सहायता कक्ष स्थापना गर्ने
२. टिकटमा कालोबजारी र कृत्रिम अभाव रोक्ने
३. बिग्रे, भत्केका सडक सुधार गर्ने,
४.धार्मिक स्थलहरुमा विशेष सुरक्षा व्यवस्था गर्ने
५. सीमा क्षेत्रमा सहायता कक्ष सञ्चालन गर्ने
६. बसपार्कबाट बस छुट्नुअघि चालक/सहचालकलाई फुल/माला लगाइदिने
७. लामो दुरीका बसमा दुई जना सवारी चालक अनिवार्य गर्ने
८. दुर्घटना रेक्यु टिम र रेक्यु भेइकल तयारी अवस्थामा राख्ने
९. यात्रामा महिला हिंसा हुन नदिन सादा ता पोशाकमा सुरक्षाकर्मी खटाउने
१०. विभिन्न ठाउँमा इमरजेन्सी मेडिकल टिमको ब्यवस्था गर्ने
११. समुदाय प्रहरी साझेदारी कार्यक्रम मार्फत जनचेतनामूलक कार्यक्रम गर्ने
१२. नियमित अनुगमन गर्ने

गृहमन्त्री थापाबाट चाडपर्व विशेष सुरक्षा योजना सुनेपछि समिति सदस्यहरुले सरकारलाई सुझाएका छन्– नीति भन्दा ठूलो कार्यान्वयन हो । कार्यान्वयनमा ध्यान दिनू । अधिकांश सांसदहरुले चाडपर्वमा सीमा क्षेत्रबाट लुटपाट, चोरी तस्करी हुने गरेको भन्दै यसतर्फ ध्यान दिन सुझाव दिए ।

यो पनि पढ्नुहोस संसदीय समितिले भन्यो – दशैंमा भारु लिएर आउनेलाई दुख नदिनू

नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले उत्तरी सीमा क्षेत्रमा पनि लुटपाट हुनसक्ने बताए । उनले गाडी छुट्दा त्यसको कन्डिसन पनि जाँच गर्नुपर्ने बताए ।

नेकपाका सांसद महेश्वरजंग गहतराजले मदिरा सेवन गर्ने र होहल्ला गर्ने तथा, ग्याङ फाइट गर्नेलाई नियन्त्रण गर्नुपर्ने बताए । उनले सुरक्षा निकायकै संरक्षणमा जुवातास खेलाउने, पटका पड्काउने कार्य पनि रोक्नुपर्ने सुझाव दिए ।

उपहार लिने/दिनेलाई कारबाही गरौं : झपट रावल

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका सांसद झपट रावलले चाडपर्वका नाममा उपहार लिने÷दिनेलाई कारबाही गर्नुपर्ने बताए । उपहार मागेरै लिने दिने प्रवृत्ति कर्मचारीतन्त्रमा रहेको भन्दै उनले यसतर्फ ध्यान दिनुपर्ने बताए ।

‘राष्ट्रसेवक कर्मचारीहरुका बीचमा एउटा उपहार संस्कृति छ । तल्लो तहका कर्मचारीले माथिल्लो तहका कर्मचारीलाई उपहार दिने परम्परा छ । यसलाई रोक्न उपहार लिने र दिने दुबैलाई कडा भन्दा कडा कारबाही गरिनेछ भनेर निर्देशन अथवा परिपत्र के गर्न सकिन्छ गृहमन्त्रालयले जारी गरोस्’ सांसद रावलले भने ।

गृहसचिव प्रेमकुमार राईले पनि चाडपर्वमा माथिल्लो तहका कर्मचारीलाई तल्लो तहकाले उपहार दिने प्रवृत्ति रहेको स्वीकार गरे । ‘पहिले यत्ति नै ले भन्थे, त्यो देखेको पनि हो । माथिल्लो तहका कर्मचारीलाई रिझाउन भए पनि दिन्थे । तर, अहिले हराउँदै गएको छ’, गृहसचिव राई भन्छन् ।

जिल्लामा अनुगमन हुन सकेन : गृहसचिव राई

गृहसचिव राई स्थानीय तह र जिल्लामा बजार अनुगमन हुन नसकेको बताउँछन् । कारण– जिल्ला समन्वय समितिका सभापतिको संयोजकत्वमा अनुगमन समिति रहने ब्यवस्था । जिससका सभापतिको पद निर्वाचित पद हो । आफूलाई जिताउने मतदाताकहाँ अनुगमन गर्न जान नमान्ने प्रवृत्ति जिससका सभापतिहरुमा देखिएको उनको भनाइ छ ।

जिससका सभापतिहरुले प्रमुख जिल्ला अधिकारी (सिडियो)को निर्देशन समेत अटेर गर्दै आएको गृहसचिव राईको दुखेको छ ।

‘ढुङ्गा बालुवादेखि बजार निरीक्षण, औषधिको म्याद सकिएका कुरामा अनुगमन गर्न सीडीओले घचघच्याउँदा पनि जिससका सभापतिहरु अनुगमनका लागि तयार हुनुहुन्न । टार्न खोज्नुहुन्छ । १५ दिन, १० दिन पछि जाऔं । म बाहिर जान्छु । जस्ता कुरा आएका छन् र अनुगमन हुन सकेको छैन’ राईले भने ।

गृहसचिव राईले जिससका सभापतिको संयोजकत्वमा अनुगमन समिति रहने संरचनाकै विषयमा सोच्न आग्रह गरे । ‘जिसस सभापतिको संयोजकत्वमा अनुगमन समिति भए पछि अरु हिँड्ने कुरा आएन । त्यसकारण यो संरचनालाई सोच्नुपर्ने देखिन्छ’ उनले भने ।

यो पनि पढ्नुहोस दशैंमा घर छाडेर जाँदै हुनुहुन्छ ? प्रहरीलाई खबर गर्नुस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment