Comments Add Comment

साउदी आक्रमणको बदला लिन के अमेरिकाले इरानमा हमला गर्ला ?

७ असोज, काठमाडौं । गत शनिवार विश्व राजनीतिमा एउटा ठूलो घटना भयो, जसका कारण अमेरिकाले पश्चिम एसियामा नयाँ युद्धको शुरुवात गर्ने आशंका बढेको छ ।

संसारकै दोस्रो प्रमुख तेल उत्पादक साउदी अरबको सामरिक दृष्टिकोणले महत्वपूर्ण  दुई खानीहरूमा १० वटा ड्रोनहरूले एकसाथ आक्रमण गरे । आक्रणका कारण साउदी सरकारको स्वामित्च रहेको आरामको कम्पनीको तेल उत्पादन गर्ने क्षमतामा ५० प्रतिशतले ह्रास आउन पुग्यो । यसका कारण विश्व बजारमा तेलको आपूर्ति कम हुन गयो र तेलको मूल्यमा ३० वर्ष यताकै ठूलो उछाल आयो ।

साउदी अरबको छिमेकी मुलुक यमनका हुथी विद्रोहीहरूले उक्त आक्रमणको जिम्मेवारी लिए पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानतर्फ औँला ठड्याएका थिए । ट्रम्पले इरानले नै आक्रमण गराएको हो भन्नेबारे आफूसित प्रमाण रहेको बताएका थिए । तर, इरानले भने आक्रमणमा आफ्नो कुनै संलग्नता नभएको बताएको थियो ।

घटनाको भोलिपल्ट नै राष्ट्रपति ट्रम्पले एक ट्विटमार्फत अमेरिका इरानमाथि आक्रमण गर्न तयार रहेको बताए ; उनको क्याबिनेटले साउदीमाथि भएको आक्रमण युद्द बराबर भएको ठहर गर्यो । तर, आखिरमा ट्रम्पले इरानमाथि आक्रमण गर्ने निर्णय लिएनन् । किन ?

अमेरिका-इरान-साउदी अरबको सम्बन्धको पृष्ठभूमि

पश्चिम एसियामा एकातिर इजरायल र मुस्लिम मुलुकहरूबीच टकराव छ भने अर्कोतर्फ शिया मुसलमान बहुल इरान र सुन्नी बहुल साउदी अरबबीच कटुता छ। पछिल्ला वर्षहरुमा यो कटुताले युद्धग्रस्त यमनमा असर देखिन थालेको छ । सतही रुपमा हेर्ने हो भने यमनमा अहिले गृहयुद्ध चलिरहेको छ । तर, वास्तविकतमा यो युद्ध साउदी र इरानकाबीच चलिरहेको विश्लेषकहरू बताउँछन् ।

यमनमा एकातर्फ साउदी समर्थित गठबन्धन फौज छ भने अर्कोतर्फ हूथी विद्रोही छन्, जसलाई इरानले सघाएको अमेरिकाको आरोप छ । साउदीलाई अमेरिकाको साथ छ भने इरानलाई रुसको भर छ । सिरियामा अमेरिकी नेतृत्वको गुटको हार र रुसी समर्थन प्राप्त राष्ट्रपति बशर अल-असदको फौजको जितपछि पश्चिम एसियाको शक्ति सन्तुलन अहिले बदलिएको छ। अमेरिका र साउदी असदलाई हटाउन चाहन्छन् भने रुस र इरान उनलाई टिकाउन चाहन्छन् । अमेरिकाले इरानलाई आणविक हतियारको विकास गरेको आरोप लगाउँदै आएको छ र उसलाई अन्तराष्ट्रिय समुदायबाट एक्ल्याउने उसको नीति छ ।

किन भएन इरानमाथि आक्रमण ?

पहिलो कुरो साउदी र अमेरिका घनिष्ट मित्र भए पनि साउदीको रक्षा गर्ने लिखित सहमति दुई देशबीच भएको छैन । उत्तर प्रशान्त सन्धि संगठनका (नेटो) पक्ष राष्ट्रहरूमा एक अर्काको देशमा आक्रमाण हुँदा आफ्नै देशमा आक्रमण भए सरह व्यवहार गरिने लिखित सहमति छ । तर, साउदी र अमेरिकाबीच यस्तो सहमति छैन । दोश्रो कुरा हो, अमेरिकामा निकट भविष्यमा हुन गइरहेको चुनाव । अफगानिस्तानमा आफ्नो सेनालाई संलग्न गराएका कारण आफ्ना पूर्ववर्तीहरूको आलोचना गर्दै आएका ट्रम्प निर्वाचन अघि अमेरिकालाई अर्को युद्धमा होम्न चाहन्नन् ।
तर, साउदीमाथि भएको आक्रमणको सजायँ इरानलाई दिन चाहन्छन् ट्रम्प । अहिलेको अवस्था हेर्ने हो भने ट्रम्प इरानमाथिको अन्तराष्ट्रय प्रतिबन्धहरू अझै कस्न चाहन्छन् । साङ्केतिक रुपमा इरानको प्रतिरोध गर्न अमेरकाले शुक्रबार साउदीमा सयौँ सैनिक र क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली पठाउने घोषणा गरिसकेको छ ।

साउदी आक्रमण भएको एक हप्ता बितिसक्दा पनि यसका बारेमा सत्य-तथ्य थाहा हुन सकेको छैन । साउदी र अमेरिकाले इरानमाथि औँला ठड्याए पनि इरानले नै आक्रमण गरेको हो या होइन भन्नेबारे स्वतन्त्र छानविन भएको छैन ।

साउदीको तेलखानीमा भएको आक्रमणलाई लिएर अमेरिका र इरानवीचको सम्भाव्य युद्ध टरेको अन्तराष्ट्रिय विश्लेषकहरूको राय छ । तर, अफगानी तालिवानसितको वार्ताबाट हात झिकेको निर्णयले सबै चकित पार्ने सक्ने ट्रम्प नेतृत्वको अमेरिकाले इरानको सन्दर्भमा पनि ‘सरप्राइज’ नदेला भनेर भन्न सकिन्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment