Comments Add Comment

कर्मचारीलाई गाईवस्तु छाडेजस्तो नछाड्नुस् : मन्त्री पण्डित

‘जहाँ खोज्यो, त्यहीँ सिंहदरबार छ’

७ असोज, पोखरा । लालबाबु पण्डित संघीय सरकारका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हुन् । सिंगो कर्मचारी प्रशासन उनले नै चलाउँछन् । तर बेलाबेला कर्मचारीलाई विझाउने गरी अभिव्यक्ति दिँदा विवादमा पर्छन् ।

मंगलबार पनि उनी कर्मचारीमाथि खनिए । गण्डकी प्रदेशका ८५ वटै स्थानीय तहका प्रमुख र प्रमुख प्रशासकीय अधिकृत सहभागी कार्यक्रममा मन्त्री पण्डितले कर्मचारीलाई गाइवस्तु छाडेजस्तो नछाड्न आग्रह गरेका छन् । कर्मचारीमा सुविधा र अधिकार खोज्ने तर कर्तव्य नसक्झिने रोग रहेको बताए ।

‘स्थानीय तहहरुबाट मेरो मन्त्रालयमा आएका कर्मचारीलाई सोध्छु बिदा लिएर आउनु भएको हो ?’ मन्त्री पण्डितले भने, ‘कति मेयरले भन्नुहुन्छ मेरा कर्मचारी हराए । अनि फेरि सोध्छु, बिदा दिएर पठाउनुहुन्छ कि हुँदैन ?’

उनले अघि भने, ‘महिनामा एकै दिन हाजिर गराउनुहुन्छ कि दिनदिनै ? गाईवस्तुलाई त्यतिकै जंगलतिर चर्न छाडेजस्तो गर्नुभएन । यो पाटोमा जनप्रतिनिधिलाई अधिकार छ ।’

प्रमुख प्रशासकीय अधिकृतले पनि मातहतका कर्मचारीको निगरानी गर्नुपर्ने उनको भनाइ थियो ।

प्रधानमन्त्रीले मन्त्रीहरुसँग कामको सम्झौता गरेजस्तै स्थानीय तहमा पनि गर्न उनले आग्रह गरे । ‘सचिवले सहसचिवसँग, सहसचिवले मातहतका कर्मचारीसँग पनि हस्ताक्षर गराएर काम गराउनुस्,’ संघीय मामिलामन्त्री पण्डितले भने, ‘काम परिणाममुखी बनाउन कागज गराउनुस् । कर्मचारीले कामले देखाउनुपर्छ ।’

कतिपयमा १५ मिनेट ढिलो कार्यालय आउने, ग्रेस टाइम पूरा भएपछि कार्यालयबाट जाने बानी रहेको उनले बताए । उनले हिजोको धङधङी छोडेर समृद्ध नेपाल बनाउनतिर लाग्न कर्मचारीहरुलाई निर्देशन समेत दिएका छन् ।

‘जहाँ खोज्यो, त्यहीँ सिंहदरबार छ’

मन्त्री पण्डितले अहिले नेपालमा जहाँ खोज्यो त्यहीँ सिंहदरबार रहेको धारणा राखे । ‘गाउँमा सरकार छ, नगरमा सरकार छ, संघमा सरकार छ । अधिकार बाँडफाँटका हिसाबले फरकफरक जिम्मेवारी दिइए पनि हाम्रो लक्ष्य र उद्देश्य एउटै हो’ उनले भने ।

उनले अन्तरसरकार समन्वयमा जोड दिए । आफ्नो अधिकार क्षेत्रभित्र समन्वय, सहकार्य र सहअस्तित्वसहित काम गर्दा कतै पनि समस्या नभएको उनको जोड दियो । ‘३ खुट्टा टेकेर गोलो बनाएपछि ओदान बन्छ । त्यसमाथि भाँडा राख्ने हो । त्यसैलाई उल्टो बनाइदियो वा एउटामा अलिकति भारी प¥यो भने तीनवटा तिनतिर हुन्छ । तीन वटैको बाटो फरक हुन्छ,’ मन्त्री पण्डितले भने ।

स्थानीय तहहरुले विधि र प्रक्रिया पुर्‍याएर काम गरे केन्द्रले अवरोध नगर्ने उनले बताए ।

जनताले जुनसुकै बेला प्रहार गर्न सक्छन्

तीन तहका जनप्रतिधिहरुको कहाँ कमजोरी भेन्छि भनेर जनताले चिहाएर हेरिरहेका संघीय मामिलामन्त्री पण्डितले बताए । जनप्रतिनिधि आँखाको नानी भएकाले सानोतिनो कमजोरी गर्दा पनि दण्डित हुने स्थिति रहेको उनको भनाइ थियो ।

महाभारतमा अर्जुनले तिर हान्दा आँखामात्र देख्ने गरेको भन्दै भने, ‘त्यसरी नै जनताले राम्रो गरिरहेको छ कि नराम्रो भनेर हेरिराखेका छन् । कहीँ सानो त्रुटी ग¥यो भने जुनसुकै बेला प्रहार गर्न छोड्दैनन् र त्यो प्रहारले हामीलाई कमजोर बनाउँछ ।’

उनले विकास निर्माणदेखि जनतालाई दिने सेवाप्रवाहसम्म विचार गर्न जनप्रतिनिधिहरुलाई आग्रह गरे । ‘ठेकेदारको हालैहाल, जनप्रतिनिधि र राष्ट्रसेवकको बेहालैबेहाल नहोस् । आफैंमाथि प्रहार हुने वातावरण सिर्जना नहोस्,’ मन्त्री पण्डितले भने, ‘विकास निर्माणको गुणस्तर हेर्ने जिम्मेवारी पनि यहाँहरुकै हो । चुनावमा पनि शीर ठाडो गरेर जवाफ दिन सक्ने गरी काम गरिदिनुपर्‍यो ।’

उनले दबाबमा आएर केही निर्णय नगर्न उनले जनप्रतिनिधि र कर्मचारीलाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment