Comments Add Comment

नयाँ आमाले गर्ने ५ गल्ति

के तपाईंको घरमा हालै मात्र नवजात शिशुको जन्म भएको छ ? अनि तपाईं ती नवजात शिशुलाई हेरचाह गर्नका लागि आवश्यक सबै कामहरु गर्नमा व्यस्त हुनुहुन्छ ? यद्यपि, ती सबै कामहरुलाई तपाईंले आवश्यकताभन्दा बढि त गरिरहनु भएको छैन ? अथवा त्यसको ठीक विपरित काहीँ कुनै कमि त भैरहेको छैन ?

नडराउनुहोस्, हामी यहाँ ती गल्तिहरुको कुरा गर्दैछौं, जुन हरेक नयाँ आमा (पहिलो पटक आमा बन्ने महिला) ले गरिरहेका हुन्छन् । यहाँ हामी कसरी तनावलाई कम गरेर सन्तुलन बनाइरहने भन्ने बारेमा समेत जानकारी दिँदैछौं ।

अत्यधिक प्रोटेक्टिभ हुनु

तपाईंले ९ महिनासम्म शिशुलाई आफ्नो गर्भमा राख्नुभएको हुन्छ । त्यसैले शिशु बाहिर आएपछि पनि तपाईंले उसलाई आफूबाट एक क्षणका लागि पनि टाढा राख्न चाहनुहुन्न अथवा पाउनुहुन्न । यो क्रियाकलाप हरेक नयाँ आमाले गरिरहेका हुन्छन् । तर, तपाईंले यही गल्ति गर्नबाट आफैंलाई रोक्नैपर्छ । संयमता अपनाउनु पर्छ । आफ्ना प्यारा सन्तानलाई उनीहरुको बुवा अथवा हजुरआमाको काखमा राखिदिनलाई अप्ठ्यारो मान्नु हुँदैन । विश्वास गर्नुहोस्, उनीहरु सुरक्षित हातमा छन् ।

हरेक कुरामा डराउनु

के तपाईंको नवजात शिशुले आवश्यकताभन्दा बढि नै उल्टी (भोमिट) गरिरहेको छ ? काहीँ उसले धेरै अथवा कम त खाइरहेको छैन ? के मेरा शिशु धेरै नै रोइरहेको छ ? अथवा अन्य शिशुहरुभन्दा कम रोइरहेको छ ? यस्ता हरेक साना–तिना कुराहरुलाई लिएर नयाँ आमाहरु सधैं चिन्तित भईरहन्छन् । तपाईंले आवश्यकता परेको बेलामा विशेषज्ञको सहयोग नलिनुहोस् अथवा ती स–साना संकेतहरुलाई बेवास्ता गर्नुहोस् भनेर हामी भन्दैनौं, यद्यपि हरेक कुरामा सशंकित हुनु पनि तपाईंहरु दुबै जनाको लागि राम्रो हुँदैन । शिशुलाई ठूलो भैरहेको हेर्न तथा त्यसको आनन्द उठाउनका लागि आफ्ना चिन्ताहरुलाई केही कम गर्नुपर्छ ।

आफ्नो बारेमा ध्यान नै नदिनु

आमा बन्ने बित्तिकै आफ्नो वजन घटाउनका लागि मेहनत गर्न थाल्नु अनिवार्य छैन । यद्यपि आफ्नो स्वास्थ्यका बारेमा ध्यान दिन भने अति नै अनिवार्य छ । शिशुको हेरचाह गर्दा–गर्दै प्रायः आमाहरु आफ्नै स्वास्थलाई बेवास्ता गरिदिन्छन् । शिशुलाई हुर्काउनु भनेको निकै थकाई लगाउने काम हो । त्यसैले पूर्ण आराम गर्नु तथा पुरै निद्रा सुत्नु हरेक नयाँ आमाका लागि अति अनिवार्य छ । तपाईं जति धेरै खुशी र स्वस्थ हुनुहुनेछ, तपाईंको शिशुले पनि उत्तिकै राम्रो महसुस गर्नेछ । त्यसैले आराम गर्ने कुनै पनि मौका नछाड्नु होला ।

पुस्तकहरुलाई मात्र विश्वास गर्नु

बालिबालिकाको लालन–पालन सम्बन्धि जानकारीहरु समेटिएका पुस्तकहरु निकै उपयोगी हुन्छन् । ती पुस्तकहरुमा निकै राम्रा जानकारीहरु समेटिएका हुन्छन् । तर, ती पुस्तकहरुलाई आँखा चिम्लेर पछ्याउनु उचित होइन । हरेक व्यक्तिको स्थिति फरक–फरक हुन्छ । जब शिशुलाई हुर्काउने प्रसंग आउँछ, त्यो बेला आफ्नो मनको कुरामा पनि विश्वास गर्नुपर्छ ।

हरेक क्षणको तस्बिर खिच्नु

पहिलो मुस्कानदेखि लिएर पहिलो पटकको उनको रुवाइसम्मको हरेक तस्बिर खिच्ने प्रयासमा कतै तपाईंले ती अनुभवको आनन्द लिन त बिर्सनु भएको छैन ? त्यस्ता अवसरहरुका तस्बिरहरु खिच्नुभन्दा अनिवार्य छ उनीहरुको त्यो क्षणलाई तपाईं आफैंले अनुभव गर्नु । उनीहरुका हरेक अनौठा क्रियाकलापलाई महसुस गर्नुहोस् र ती क्षणहरुको आनन्द उठाउनुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment