Comments Add Comment

त्रिकोणात्मक सिरिज खेल्न नेपाल आज सिंगापुर जाँदै

८ असोज, काठमाडौं । त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा सहभागिता हुन नेपाली क्रिकेट टिम आज राति सिंगापुर जाँदैछ ।

सिंगापुर क्रिकेट संघको आयोजनामा हुन लागेको त्रिकोणात्मक सिरिजमा आयोजक टिमसँगै नेपाल र टेष्ट राष्ट्र जिम्बाब्वे छ । यो प्रतियोगिताको लागि नेपाली टिम आज राति १० बजेर १५ मिनेटमा सिल्क एयरबाट सिंगापुर प्रस्थान गर्ने टिम म्यानेजर रमन शिवाकोटीले जानकारी दिएका छन् ।

त्रिकोणात्मक सिरिज यही शुक्रबारदेखि सुरु हुँदैछ । त्रिकोणात्मक सिरिजको पहिलो खेलमा शुक्रबार नेपालले जिम्बाब्वेसँग प्रतिस्पर्धा गर्नेछ । डबल राउण्ड रोविनको आधारमा सञ्चालन सिरिजमा नेपालले आफ्नो दोस्रो खेल शनिबार सिंगापुरसँग खेल्नेछ भने तेस्रो खेलमा जिम्बाब्वेसँग अक्टोबर १ मा  प्रतिस्पर्धा गर्नेछ । त्यस्तै अक्टोबर २ मा सिंगापुरसँग खेल्नेछ । शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।

यो सिरिज सकेर नेपाल त्यतैबाट ओमान प्रस्थान गर्नेछ । ओमानमा नेपालले अन्य चार राष्ट्रसँग टी–२० सिरिज खेल्नेछ । ओमान क्रिकेट संघको आयोजनामा हुने सिरिजमा आयोजकसँगै नेपाल, नेदरल्यान्ड्स, हङकङ र टेष्ट राष्ट्र आयरल्यान्ड रहेका छन् । अक्टोबर ५ तारिखदेखि सुरु हुने यो सिरिजमा नेपालले आफ्नो पहिलो खेल हङकङसँग ६ तारिखमा प्रतिस्पर्धा गर्नेछ । त्यस्तै, सात तारिखमा नेदरल्यान्ड्ससँग खेल्ने नेपालले तेस्रो खेल ९ तारिखमा आयरल्यान्डसँग र चौथो खेल ओमानसँग १० तारिखमा प्रतिस्पर्धा गर्नेछ ।

यी दुवै सिरिजका लागि नेपाली टिम यसअघि नै घोषणा भइसकेका छन् । कप्तान पारस खड्काको कप्तानीमा रहेको नेपाली टिममा अधिकांश युवा खेलाडी रहेका छन् । कुसल मल्ल र इशान पाण्डेले टिममा पहिलोपटक स्थान बनाएका छन् भने सुशान भारी, आरिफ शेख र सन्दीप जोराले पुनगरागमन गरेका छन् ।

टिम नेपाल

पारस खड्का (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), विनोद भण्डारी, सन्दीप लामिछाने, पवन सर्राफ, सन्दीप जोरा, कुशल मल्ल, रोहितकुमार पौडेल, सोमपाल कामी, करण केसी, आरिफ शेख, अविनाष बोहरा, ललितनारायण राजवंशी, सुशान भारी र इशान पाण्डे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment