Comments Add Comment

राजस्व प्रशासन स्वच्छ राख्नुस् : अर्थमन्त्री

Photo Credit : अर्थमन्त्रीको सचिवालय

८ असोज, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले राजस्व प्रशासनलाई स्वच्छ राख्न कर्मचारीलाई निर्देशन दिएका छन् । राजस्व प्रशासनमा पारदर्शीता र कुशलता कायम गरी कार्य सम्पादन गर्न अर्थमन्त्रीले भन्सारका कर्मचारीलाई निर्देशन दिएका हुन् ।

बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको स्थलगत निरीक्षणमा पुगेका अर्थमन्त्री डा. खतिवडाले अन्तर्राष्ट्रिय व्यापारलाई सहज बनाउने गरी व्यवसायीमैत्री भएर काम गर्न कर्मचारीलाई निर्देशन दिए ।

उनले विमानस्थल विदेशी पाहुनाको लागि पहिलो प्रभाव पर्ने स्थल भएकाले नेपाल नागरिक उड्डयन प्राधिकरणसँग सहकार्य गरी नेपाल भ्रमण वर्ष २०२० को तयारी गरिने बताए । विमानस्थलमा अन्य निकायको समेत समन्वय हुने भएकाले प्रभावकारी, छिटोछरितो र सहज रुपमा सेवा दिनुपर्ने उनको भनाइ छ ।

मन्त्री खतिवडाले विमानस्थलमा भौतिक पूर्वाधारको समस्यालाई नागरिक उडड्यन प्राधिकरणसँग सहकार्य गरेर व्यवस्थापन गरिने स्पष्ट पारे । उनले भन्सारमा रहेका मालवस्तु तथा सामानको समयमै निकासी तथा लिलामी गरी काम नलाग्ने सामान स्टलमा नराख्नसमेत निर्देशन दिए ।

उनले तोकिएको राजस्व लक्ष्य पूरा गर्न सबै प्रकारका प्रयास गर्न निर्देशन दिए । निर्यात हुने मालवस्तुलाई प्राथमिकता दिनुपर्ने भन्दै जाँचपास प्रक्रियालाई सरल, छिटो र चुस्तदुरुस्त बनाउनु पर्ने मन्त्री खतिवडाको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment