Comments Add Comment

मौसमविद् भन्छन्– दशैं घमाइलो नहुने भाे

मनसुन लम्बिनुको कारण पत्ता लगाउन अनुसन्धान आवश्यक : अर्याल

९ असोज, काठमाडौं । यस वर्षको मनसुन दशैंसम्म नै यथावत रहने भएको छ । मनसुन दशैंसम्म रहने भएपछि मौसमविदहरूले दशैं घमाइलो नहुने अनुमान गरेका छन् ।

यस वर्षको दशैं असोज १२ देखि सुरु हुँदैछ । घटनास्थापना १२ गते र टीका २१ असोजमा परेको छ । तर, यस वर्षको दशैं गतिविधिलाई मौसमले प्रभाव पार्ने देखिएको छ ।

दशैंको सुरुवाती दिनसम्मै मनसुन रहने पक्का भएकाले पानी पर्ने खतरा मौसमविदहरुले औंल्याएका छन् । ‘मनसुन बाहिरिन अझै एक साता बढी लाग्ने भएकाले दशैंको सुरुवाती दिनमा वर्षा हुने सम्भावना देखिन्छ’, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्याल भन्छन्, ‘दशैंका अन्य दिनहरूमा पानी पर्छ कि पर्दैन भनेर अनुमान गर्न भने अबको एक साता कुर्नुपर्छ ।’

मौसम पूर्वानुमान महाशाखासँग लामो समयको मौसमी प्रक्षेपण गर्ने प्रविधि छैन । उसँगको प्रविधिले एक साताको मात्रै मौसमी आकलन गर्न सक्छ ।

दशैंको सुरुवाती दिनपछि मनसुन रहने या बाहिरिने भन्नेबारे अहिले नै यकिन गर्न नसकिने भएकाले त्यसपछिका दिनको मौसम कस्तो हुन्छ भन्नेबारे भने मौसमविद्ले केही बताएका छैनन् । दशैंको विशेषता घमाइलो मौसम भए पनि यस वर्ष त्यस्तो रौनकता नहुने अनुमान माैसमविदको छ ।

‘दशैंमा मौसम घमाइलो हुने गर्छ । तर, यस वर्ष मनसुन लम्बिएकाले त्यस्तो नहुने खतरा बढेको छ’, मौसमविद् अर्यालले अनलाइनखबरसँग भने ।

शनिबारसम्म पानी पर्न सक्ने

दशैंमा पानी पर्ने प्रक्षेपण गरेका मौसम पूर्वानुमान महाशाखाका मौसमविदहरूले अबका ३ दिन देशभर बदली भई वर्षा हुनसक्ने सम्भावना छ । नेपालको मध्य र पूर्वी भागमा दक्षिणपूर्वी जलवास्पयुक्त हावाको प्रभाव रहेकाले त्यसबाट वर्षा हुनसक्ने मौसमविदको भनाइ छ ।

‘मनसुनी गतिविधिमा केही दिनदेखि सक्रियता देखिएकाले अबको ३ दिन बदली नै हुने देखिन्छ । शनिबारसम्म पानी पर्छ । आक्कल झुक्कल घाम लागे पनि मौसम दशैं लागेजस्तो हुँदैन’, मौसमविद् अर्यालले भने ।

अनुसन्धान आवश्यक

नेपालमा सामान्यतया जून १० बाट मनसुन सुरु भएर सेप्टेम्बर २३ सम्म रहन्छ । तर, पछिल्ला केही वर्षयता ढिलो गरी बाहिरिँदै आएको मनसुन यस वर्ष अझैसम्म सक्रिय नै छ । दक्षिण एसियाको नेपाल, भारत, पाकिस्तानलगायतको ठूलो क्षेत्रलाई ओगटेर मनसुन सक्रिय हुने भएकाले भित्रिने र बाहिरिने समयमा अन्तर आएको हुनसक्ने मौसमविद बताउँछन् ।

‘नेपालमा सामान्यतः जून १० बाट मनसुन सुरु भएर सेम्टेम्बर २३ सम्ममा बाहिरिनु पर्ने हो’, मौसमविद् अर्याल भन्छन्, ‘तर दक्षिण एसिया भारत, पाकिस्तान, बंगलादेशलगायतका ठूलो क्षेत्र ओगटेर नेपालमा सिजनल मौसमी गतिविधि हुने भएकाले यसमा तलमाथि भएको हुनसक्छ ।’

नेपाललगायत दक्षिण एसियाली मुलुकको मनसुनी गतिविधिमा केही फेरबदल आए पनि यसबारे ठोस अनुसन्धान नभएको उनले बताए । मौसमी प्रणालीमा देखिएको यस्तो गतिविधिबारे अनुसन्धान गर्न आवश्यक रहेको उनको भनाइ छ ।

‘केही वर्षयता नेपाललगायत दक्षिण एसियाली मुलुकको मनसुनी गतिविधिमा केही फरकपना देखिएको छ’, मौसमविद् अर्याल भन्छन्, ‘के कारणले मनसुनी गतिविधिमा नयाँ स्वभाव देखिएको छ भन्नेबारे अनुसन्धान हुनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment