Comments Add Comment

म्यान युनाइटेडमाथि स्कुले किशोरको अविस्मरणीय गोल

काठमाडौं । एक महिना अगाडि १६ वर्षे लुक म्याथेसन आफ्नो जीसीएसई रिजल्ट संकलन गरिरहेका थिए ।

बुधबार राति रोचडेलका डिफेण्डरले काराबाओ कपमा म्यानचेष्टर युनाइटेडविरुद्ध गोल गरे ।

युवा फुटबलर म्याथेसनका लागि यो सम्झन लायक क्षण हो । तर, उनले लामो समय खुशी मनाएर बस्न पाएनन् । बिहीबार विहान उनी शारीरिक परीक्षणका लागि स्कुल जानु छ ।

आफ्नो गोल सम्झिँदै उनले भने, ‘मैले प्रहार गरेँ, अनि बलले जालीको माथिल्लो भाग चुम्यो । त्यसपछि त मेरो शरीर मेरो नियन्त्रणमा थिएन ।’

म्याथेसन थप्छन्, ‘गोल हुनासँग आफ्नो घुँडा टेकेर चिप्लिएँ । मलाई पहाडबाट तल खसेजस्तो भएको थियो । यो विशेष… विशेष… क्षण थियो ।’

म्याथेसन आफ्नो स्कुल छोडेर म्याच खेल्न गएका थिए । छुटेको पढाई अब उनले आफ्नो छुट्टिका दिन कभर गर्न योजना बनाएका छन् ।

‘मलाई लाग्दैन कि म आज राति निदाउन सक्नेछु,’ उनी भन्दै थिए ।

रोचडेल र स्कुलले सहयोगी भूमिका खेलेको उनले सुनाए । ‘फुटबलमा कुनै ग्यारेन्टी छैन । कतिबेला के हुन्छ थाहा हुँदैन । तपाई विश्वकै उत्कृष्ट खेलाडी बन्न पनि सक्नुहुन्छ तर, जे पनि सम्भव छ । क चाहन्छु कि यो मामिलामा ब्याकअप प्लान होस् ।’

यदि फुटबलमा सोचेजस्तो भएन भने त्यतिबेला आफ्नो एकेडेमिक पढाई काम लाग्ने उनको अपेक्षा छ ।

म्याथेसनका धेरै साथी युनाइटेडका समर्थक छन् तर, उनी भने फरक रहे । ‘म नर्भिचको समर्थक हुँ’, उनले भने, ‘मेरो बुवा नर्भिचबाट हुनुहुन्छ र उहाँले नै मलाई जीवनभरका लागि नर्भिचको साथमा राख्नुभयो ।’

रोचडेलका प्रशिक्षक ब्रायन ब्यारी मर्फीले पनि उनको निकै तारिफ गरेका छन् । ‘लुक एक असाधारण युवक हुन् । उनी यस्ता खेलाडी हुन्, जो मैदानमा हुँदा ढुक्क हुन सकिन्छ,’ उनले भने ।

लुक पढाईमा पनि तिक्ष्ण रहेको मर्फी बताउँछन् । उनले भने, ‘लुकको जीसीएसई रिजल्ट पनि निकै राम्रो छ र त्यसले उनको फुटबललाई प्रतिबिम्बित गर्छ । हामीले त उनको उमेरमा ध्यानै दिएका छैनौं । अरुजस्तै सामान्य खेलाडीका रुपमा लिएका छौं ।’

लिग वान रोचडेलले पेनाल्टीमा थर्ड राउन्ड गेम हारे पनि म्याथेसनको गोल उनको व्यवसायिक फुटबल करिअरमा पहिलो थियो । पछिल्लो १२ महिनामा उनको फुटबलले नयाँ मोड लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment