Comments Add Comment

संविधान दिवसमा कार्यविधि विपरीत कैदी छुटे

९ असोज, काठमाडौं । संविधान दिवसका अवसरमा सरकारले राम्रो चालचलन रहेको भन्दै २६० कैदीलाई रिहा गर्‍यो । यसरी रिहा भएकामध्ये आधा कसैको हत्या गरेर वा हत्याको प्रयास गरेको दोषी ठहर भएर जेलमा सजाय भोगिरहेका थिए ।

यतिमात्र होइन, सवारी दुर्घटनामा अरुको ज्यान लिएर जेल सजायँ भोगिरेहको ५२ जना पनि बाँकी कैद सजायँ मिनाहा भएर संविधान दिवसको अवसरमा छुटेका छन् ।

असल चालचलन भएकाले कैद कट्टाका लागि सिफारिस गरिएको कारागार व्यवस्थापन विभागका सूचना अधिकारी देवर्षि सापकोटाले बताए । भन्छन्, ‘संविधान र सजाय माफी मुलतवी, परिवर्तन वा कम गर्नेसम्बन्धी कार्यविधि अनुसार ५० प्रतिशत जेल सजायँ भोगेकाहरु बाँकी कैद कट्टा सिफारिसमा परेका हुन् ।’

योपटक बाँकी कैद कट्टा भएर रिहा भएकाहरु मध्ये ८५ जना ज्यान मुद्दामा र ४६ जना ज्यान मार्ने उद्योगको मुद्दामा दोषी ठहर भएर सजायँ काटिरहेकाहरु छन् ।

यस्तै, सवारी ज्यान मुद्दाका दोषी ठहर भएका जेल सजाय काटिरहेका ५२ जना पनि छुटेका छन् । खून, डाँका तथा चोरी मुद्दाका १३ जना, कुटपिट अंगभंग मुद्दाका ११ जना र गौबध मुद्दाका ६ जना पनि कैद कट्टा भएर रिहा भएका छन् । त्यस्तै, कुटपिट मुद्दामा ४, नक्कली नोट कारोबारमा एक, ठगीमा २ र बच्चा जन्माएर फालेको मुद्दाका दोषी ठहर भएका कैदी पनि छुटेका छन् ।

वरिष्ठ अधिवक्ता सुनिल पोखरेल भन्छन्, ‘लामो कैद सजायँ हुने धेरै कसुर नेगेटिभ लिस्ट (कैद माफी/मिनाह कट्टा नहुने सूची)मा छन् । ज्यान मुद्दा मात्र पोजेटिभ लिस्टमा भएकाले बाँकी कैद कट्टा भएर छुट्नेहरुमा उनीहरु धेरै पर्ने गरेका हुन् ।’

साथै लामो समयसम्म जेलमा बसेकाहरुको मात्र चालचलन असल भए नभएको थाहा हुने भएकाले पनि रिहा हुनेहरुको सूचीमा उनीहरु नै बढी पर्ने उनीले बताए ।

तर, लामो समय जेल बसेको र असल चालचलन भएका सबै कैदी छुट्ने होइन । निश्चित संख्याका कैदीको मात्र बाँकी कैद मिनाहा तथा कट्टा हुने भएकाले यसमा पहुँच भएकाहरु पनि हावी हुने जेलका गृह प्रशासनका अधिकारीहरु स्वीकार गर्छन् । विगतमा असल चालचलन भएको भन्दै छुटेकाहरु फेरि अपराधका घटनामा संलग्न हुनुले पनि यसलाई पुष्टि गर्ने एक अधिकारीले बताए ।

कार्यविधि विपरीत पनि छुटे

सजायँ माफी मुलतवी, परिवर्तन वा कम गर्नेसम्बन्धी कार्यविधि अनुसार २३ वटा अपराधमा कसूरदार ठहरिएका व्यक्तिको सजाय माफी, मुलतवी, परिवर्तन वा कम हुँदैन ।

जसमा भ्रष्टाचार, जबरजस्तीकरणी, सरकारी लिखत कीर्ते, संगठित अपराध, मानिसको ज्यान लिने नियतले गरिएको आगजनी, राज्यविरुद्धको कसूर, युद्ध अपराध, विध्वांसात्मक अपराध वा हातहतियार सम्बन्धी अपराध, महिला र बालबालिकाविरुद्धको यौन शोषण, क्रुर हिंस्रक तथा विभत्स तरिकाले गरिएको हत्या, वैदेशिक रोजगार, संरक्षित वन्यजन्तुसम्बन्धी कसूर लगायत छन् ।

तर, संविधान दिवसमा बाँकी कैद मिनाहा भएर रिहा हुनेहरुमा वैदेशिक रोजगारसम्बन्धी कसूरमा दोषी ठहर भइ जेल सजाय भोगिरहेका तीन जना पनि परेका छन् । डिल्लीबजार कारागारमा रहेका सलन नगरकोटी, दिनेश चन्द डिसी र मकवानपुर कारागारमा कैद भुक्तान गरिरहेका विनोद काप्री छुटेका हुन् ।

सरकारी छाप तथा दस्तखत कीर्ते मुद्दामा दोषी ठहर भएका ७ जनालाई पनि कार्यविधि विपरित छोडिएको छ । यसरी छुट्नेमा प्रदेश १ बाट टंकप्रसाद पोखरेल, कुमार भट्टराई, संजिव शाक्य, प्रदेश ३ बाट विश्वम्वर गलान, अनिल कुमार पाख्रिन, गण्डकी प्रदेशबाट गोविन्दप्रसाद पौडेल र राजु पौडेल छन् । ‘कार्यविधिमा उल्लेख भएको सरकारी लिखत कीर्तेको मुल भावलाई छलेर कैद मिनाहा गरे जस्तो देखिन्छ’, एक अधिवक्ताल भनेका छन् ।

कैद कट्टीको प्रक्रिया

कार्यविधिमा प्रत्येक कारागारमा रहेका कैदीको सम्बन्धित कार्यालयले चालचलनको अभिलेख राख्नुपर्ने व्यवस्था गरेको छ । जसलाई ६/६ महिनामा अद्यावधिक गरेर कारागार व्यवस्थापन विभाग वा क्षेत्रीय प्रशासन कार्यालयमा पठाउनुपर्ने उल्लेख गरिएको छ ।

‘कसैले आफूलाई भएको सजायँ मुलतवी, परिवर्तन वा माफी गराउन चाहेमा कारणसहित निवदेन दिन सक्ने कार्यविधिमा भनिएको छ, ‘त्यसलाई सम्बन्धित कारागारले चालचलनको अभिलेखसहित विभागमा पठाउनुपर्छ ।’

विभागबाट ‘कसूरको प्रकृति र गम्भीरता, कसूर गर्दाको परिस्थिति र आशय, कसूरदारको उमेर, कैदीको चालचलन, कसूरदारको विगतको चरित्र, कैदीको स्वास्थ्य, कैद भुक्तान गरेको अविध र बाँकी अवधिका आधारमा गृहमन्त्रालयमा पठाउनुपर्ने व्यवस्था छ ।

गृहबाट मन्त्रिपरिषदमा पेश गरेर आवश्यक थपघट गरी राष्ट्रपतिसमक्ष सिफारिस हुने गरेको छ । र, राजपत्रमा प्रकाशित भएपछि कैद कट्टीको प्रक्रिया सकिने कार्यविधिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment