Comments Add Comment

सयवर्षे सत्यमोहन : स्फूर्तिको राज के हो ?

काठमाडौं । नेपालीहरुको ७२ वर्षे औसत आयु पार गरेर सत्यमोहन जोशी सय वर्ष कटिसकेका छन् । हामी नेपालीका निम्ति सय वर्ष बाँच्नु एक दूर्लभ अवसर हो ।

संस्कृतिविद् जोशी सय वर्षको उमेरमा पनि निरोगी छन् । यस्तो लाग्छ, उनमा अझैसम्म युवा जोश, उर्जा र जाँगर ज्यूँको त्यूँ छ । आखिर यत्तिका उमेरसम्म उनी कसरी स्वस्थ छन् ? उनको दीर्घायूको राज के हो ?

सक्रिय दैनिकी

पाटन दरबार क्षेत्रको पछाडिपट्टि बखुम्बहालमा पुरानो शैलीको एउटा घर छ । त्यहीँ जोशी दम्पत्तिको बसोबास छ ।

सयवर्षे जोशिला जोशी कहिलेकाहिँ एकै दिन ३/४ वटा कार्यक्रममा सहभागी हुन्छन् । अरुबेला निवासमा नै भेटघाटमा सक्रिय हुन्छन् ।

बुधबार बिहान ९ बजेतिर जोशीको निवासमा पुग्दा दुई/तीनवटा समूहसँगको भेटघाटमा उनी सहभागी भइसकेका थिए । घरबाहिर उनको विगत सुन्न र नयाँ कुरा सिक्न आउनेहरुको भीड देख्दा नेताको घरमा कार्यकर्ताहरु लाइनमा बसेजस्तो भान हुन्थ्यो ।

भेट्न आउनेहरुले व्यक्तिगत जीवनको कुरा सोध्दा उनी खासै खुल्दैनन् । जस्तोसुकै कुरामा पनि समग्र संस्कृतिसँग जोडेर उत्तर दिन्छन् । उनको रगत-रगतमा संस्कृतिको सम्मान झल्किन्छ ।

औषधि खानुपरेको छैन

जोशी पछिल्लो समय आँखाले अलि धर दिन छाडेको बताउँछन् । ६ वर्षको उमेरदेखिको स्मरणसमेत सुनाउन सक्ने जोशीले पहिलेको भन्दा स्मरण शक्ति कम हुँदै गएको बताए ।

जोशीले यो उमेरमा पनि कुनै औषधि खाने गरेका छैनन् । शरीरमा ठूलो रोग केही छैन । सामान्य सुगर र रक्तचापको समस्या भए पनि त्यसले औषधि खानुपर्ने अवस्थामा पुर्‍याएको छैन । स्मरण शक्ति र रोगबाट उन्मुक्तिका लागि पनि उनी दैनिक घर अगाडिको चौरमा खाली खुट्टा हिँड्ने गर्छन् ।

उमेरले शताब्दी पार गरिसकेका जोशीको दिमाग अझैसम्म तन्दुरुस्त छ । बुढो हुँदैमा मस्तिस्क बुढो हुँदैन भन्ने प्रमाण हुन् सत्यमोहन । तथापि पहिलेको भन्दा केही स्मरण शक्तिमा ह्रास आएको जोशीले अनुभूति गर्न थालेका छन् ।

साधारण खानपिन

यत्तिका वर्षसम्म पनि सक्रिय जीवन बिताइरहेका मानिसको स्वस्थ्यको राज त पक्कै पनि केही होला भन्ने जिज्ञासा धेरैको हुन्छ । यही जिज्ञासा हामी जोशीसमक्ष राख्यौं ।

जोशीले पहिलेदेखि नै एकैप्रकारको खाना दाल, भात र तरकारी खाने गरेका छन् । समय-समयमा हुने पार्टीमा बाहेक उनी बाहिरको खाना सकेसम्म खाँदैनन् । जुन पायो, त्यही ठाउँमा उपयुक्त खाना नमिल्ने भएकाले आफ्नै घरमा नै सकेसम्म खाना खाने उनको बानी छ ।

जोशीका अनुसार ‘साधारण खानपिन र नियमित एवं समान किसिमको खाना नै उनको स्वास्थ्यको राज हो । उनी दैनिक एक गिलास शुद्ध दूधलाई बढी प्राथमिकता दिन्छन् ।

उनी भन्छन्, दैनिक एकै किसिमको खाना र एक गिलास नियमित दूध सेवन नै मेरो स्वास्थ्यको राज हो । म सादा जीवन जिउने मान्छे, अरु केही लोभ लाग्दैन ।

‘ललितपुरको इमाडोलबाट दूध मगाउने गरेको छु’ जोशीले अनलाइनखबरसँग भने, ‘जता पायो उतैबाट किन्दा शुद्धतामा समस्या आउने भएकाले त्यहाँबाट दूध मगाउने गरेको हुँ ।’

चिया आफूहरुको प्रचलन नभएको उनले सुनाए । राणा शासनकालतिरै काठमाडौंमा भोटे चियाको प्रचलन रहेको भए पनि अहिले त्यो चियाको प्रचलनयता हराइसक्यो । अहिले धेरैले प्रयोग गर्ने चियाको चलन भने भारतबाट आएको हो ।

वाल्यकालमा कहिलेकाहीँ भोटेचिया खाने गरेको भए पनि सानो उमेरदेखि नै चियामा खासै चासो नभएको उनले सुनाए । जोशी भन्छन्, ‘म चिया खासै पिउँदिनँ । कहिलेकाहीँ मात्रै हो । अन्यथा एकैपटक बिहानको खाना खान्छु । दिउँसो चिउरामा अचार मिसाएर अलिकति खाजा खाने गरेको छु । साँझ दालभात तरकारी नै हो । स्वस्थ्य रहनका लागि जे खाए पनि नियमित खानुपर्छ ।’

जोशीले मासु खासै खाने गरेको छैनन् । पार्टीहरुमा जाँदा थोरै खाने गरेको भए पनि पछिल्लो समय मासुमा त्यति रस बस्न छाडेको उनी सुनाउँछन् ।

निद्रा लागोस् भन्नका लागि राति सुत्नेबेलामा दुई पेग स्थानीय रक्सी भने खाने गरेको उनले सुनाए । ‘रक्सी खाएपछि सुतिहाल्छु, अनि निद्रा लाग्छ ।’

नयाँ लुगा नसिलाएको धेरै भयो

जोशीको खानपिन र लवाइखवाइ सामान्य छ । घरमा उनी प्रायः सेतो टोपी, सर्ट र सुरुवालमा देखिन्छन् । कार्यक्रममा जाँदा दौरा सुरुवाल लगाउँछन् । जीवनशैलीमा तडक भडकको गन्ध भेटिँदैन । अनलाइनखबरसँगको कुराकानीमा जोशी भन्छन्, ‘जति बाँचिन्छ, यस्तै सादा जीवन पाउँछन् । अरु केही चाहिँदैन ।’

आजभोलि जोशी आफ्नो मनपर्ने भादगाउँले ढाकाको टोपी लगाउँदैनन् । वि.सं ०५४ साल माघ शुक्ल पञ्चमीको दिन आफ्नी आमा नुगलदेवी जोशीको निधन भएपछि उनले भादगाउँले ढाकाटोपी पनि लगाउन छाडेर सादा टोपी लगाउन थालेका हुन् । अन्यथा उनलाई कालो र बुट्टेदार ढाकाटोपी मन पर्छ ।

धेरै वर्ष भयो, जोशीले नयाँ कपडा सिलाएका छैनन् । पहिले सिलाएका कपडा नै धेरै भएकाले उनलाई नयाँ कपडाको आवश्यकता छैन । उनी भन्छन्, अहिले त रेडिमेडले जमाना नै उल्ट्याइसक्यो । सूचीकारकहाँ सिलाएको कपडा लगाएको मज्जा रेडिमेडमा कहाँ आउँछ र ?

संगीतमा मन

संस्कृतिविद जोशीलाई स्थानीय शैलीको संगीत जोशीलाई एकदमै मन पर्छ । उनी युवावस्थादेखि नै यस्ता संगीतप्रति आकषिर्त थिए ।

पछिल्लो पुस्ताले त्यस्ता संगीतहरु संरक्षण गर्न नसकेकोमा उनलाई चिन्ता छ । जोशीलाई युवावस्थामा संगीतप्रति मोह जगाउने माध्यम कास्की, तनहुँतिरको पश्चिमेली संगीत हो ।

आफ्नो जागिरको सिलसिलामा त्यता पुग्दा निरश भएको मनलाई प्रफुल्लित गराउन सफल भएपछि ती गीत संगीतप्रति अगाध प्रेम बसेको उनी सुनाउँछन् ।

ललितपुर महानगरपालिकाको दोस्रो नगरसभाले विसं २०७६ बैशाख ३० गतेदेखि जोशीको जन्म शताब्दीको अवसरमा एक वर्षसम्म विभिन्न कार्यक्रम गरी जन्मशताब्दी मनाउने निर्णय गरेको थियो ।

गत वर्षदेखि महानगरले जोशीलाई  जीवनभरका लागि सम्मान र सहयोगस्वरुप बाहिर यात्रा गर्नका लागि सवारीसाधन, चालक र अंगरक्षकको समेत व्यवस्था गरी मासिक ५० हजार दिने निर्णय गरेको थियो । तर, जोशीले यी कुनै पनि सुविधा लिएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment