Comments Add Comment

नेपालले अध्यक्षता गरेको सार्क बैठकमा भारत र पाकिस्तानको पानी बाराबार

कश्मीरको 'बगरे'सँग बस्दिनँ-कुरेसी, आतंकवादीसँग क्रिकेट खेल्दैनौं-जयशंकर

१० असोज, काठमाडौं । दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)अध्यक्ष राष्ट्रका हैसियतमा नेपालले आयोजना गरेको क्षेत्रीय बैठकमा भारत र पाकिस्तानको दुश्मनी छताछुल्ल भएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आयोजना गरेको बैठकमा भारत र पाकिस्तानका विदेशमन्त्रीले एकले अर्कोलाई बहिस्कार गरेका हुन् ।

न्यूयोर्कमा आयोजित बैठकमा वर्णानुक्रम अनुसार पहिले भारतका विदेशमन्त्री एस जयशंकरले बोल्ने समय पाएका थिए ।

जयशंकरले बैठकमा सम्बोधन गरुन्जेल पाकिस्तानी विदेशमन्त्री मोहम्मद कुरेसी बैठकमा बसेनन् । जयशंकर बोलेर हिँडेपछि मात्र पाकिस्तानी विदेशमन्त्री कुरेसी बैठकमा सहभागी भएको न्युयोर्कस्थित नेपाली नियोगका एक अधिकारीले जानकारी दिए ।

कश्मिरीको हत्यारासँग बस्दिनँ : कुरैशी

सार्क विदेशमन्त्रीस्तरीय बैठक न्यूयोर्कमा बस्ने करिब एक महिना अगाडि नै तय भएको थियो । परराष्ट्रमन्त्री ज्ञवालीले दुवै देशका विदेशमन्त्रीहरुसँग कुरा गरेपछि दुबै देश बैठकका लागि सहमत भएका थिए । तर उनीहरु एउटै बैठकमा सँगै बस्न भने मानेनन् ।

पछिल्लो समय भारतले जम्मु कश्मीरको विशेष राज्यको दर्जा खोस्दै संविधानको धारा ३७० लाई निश्प्रभावी बनाउनुका साथै प्रदेश टुक्राएपछि भारत पाकिस्तान तनाब बढेको छ ।

पाकिस्तानले कश्मिर मामिलालाई अन्तर्राष्ट्रियकरणको प्रयार गरेको छ । संयुक्त राष्ट्रसंघको ७४ औं महासभामा भाग लिन पुगेका पाकिस्तानी प्रधानमन्त्री इमरान खानले कश्मीरमा भारतले निहत्था नागरिकको हत्या गरिरहेको भन्दै हस्तक्षेप हुनुपर्ने लबिङ गरेका छन् ।

पाकिस्तानी विदेशमन्त्री कुरैसीले केही दिनयता आफ्नो ट्वीटरको प्रोफाइल फोटोमै ‘लेट कश्मीर स्पिक’ अर्थात कश्मीरलाई बोल्न देऊ भन्ने सन्देशसहित पोष्टर राखेका छन् । कुरैसीले कश्मीरका जनताको हत्यारासँग आफू एउटै टेबुलमा बस्न नसक्ने भन्दै सार्क बैठकमा भारतीय विदेशमन्त्री जयशंकर रहन्जेल सहभागिता नै जनाएनन् ।

परराष्ट्रमन्त्री ज्ञवालीले अध्यक्षता गरेको बैठकमा करिब २० मिनेट कुरैसीलाई पर्खिदा पनि उनी सहभागी भएनन् । यद्यपि उनी बैठकस्थल नजिकै थिए । बरु उनले मिडियामार्फत भने, ‘तपाईहरुलाई के लाग्छ, म कश्मीरका जनता मार्ने ‘बगरे’सँगै बस्न सक्छु ?

आतंकवादीसँग पुनः क्रिकेट खेलिन्न : जयशंकर

सार्क अध्यक्षको हैसियतमा नेपालले भारत र पाकिस्तान दुवै देशका विदेशमन्त्रीलाई एकै ठाउँमा राखेर क्षेत्रीय शान्तिको कुरा गर्न चाहेको थियो । तर दुवै देशबीचको पानी बाराबारको अवस्था विदेशमन्त्रीस्तरीय बैठकमा प्रकट भएको नेपाली अधिकारीहरुले बताएका छन् ।

जशंकरले बैठकमा बोल्दै पाकिस्तान धेरै चुनौतीपूर्ण छिमेकी भएको भन्दै भारत यस्तो छिमेकीसँग छलफल गर्न नसक्ने बताएका थिए । उनले आतंकवादलाई हतियार बनाउने पाकिस्तानसँग कुरा गर्नुको औचित्य नभएको बैठकमा बताएका छन् ।

भारत पाक सम्बन्ध यति कटुतापूर्ण भइसकेको छ कि सार्क वैठकमा जयशंकरले पाकिस्तानसँग क्रिकेट खेल पुनः शुरु गर्ने अवस्था नरहेको बताए । उनले त्यसो भनि नसक्दै पाकिस्तानी विदेशमन्त्री कुरैसीले जयशंकरलाई कश्मिरीका हत्यारा भनेर आरोपित गरेका थिए ।

जयशंकर हिँडेपछि बैठकमा सहभागी भएका कुरैसीले सार्क मन्त्रीस्तरीय बैठकमा पनि कश्मिर प्रसंग झिकेका थिए । त्यसबेला भारतीय उच्चायुक्त लगायतका कर्मचारी सहभागी थिए । सार्क बैठकमा द्धिपक्षीय विषयमा छलफल नगर्ने प्रचलन रहेकाले क्षेत्रीय शान्तिको कुरा बाहेक कश्मिर मामिलामा छलफल नभएको एक उच्च अधिकारीले बताए ।

नेपालको मध्यस्थता पहल

नेपालले भारत र पाकिस्तानको तनाव कम गर्न र क्षेत्रीय शान्तिको लागि दुई देशबीच मध्यस्थताको भूमिका निर्वाह गर्न खोजेको छ । दक्षिण एशियालीमा भारत र पाकिस्तान दुवैसँग राम्रो सम्बन्ध रहेको र संवाद निरन्तर गर्ने मुलुकमा नेपाल पर्छ र नेपाल सार्कको अध्यक्ष समेत हो ।

सन् २०१५ मा नेपालमा आयोजना भएको सार्क शिखर सम्मेलनपछि भारत र पाकिस्तानको तानवकै कारण १९ औं शिखर सम्मेलन हुन सकेको छैन । एक वर्षपछि अर्थात २०१६ नोभेम्बरमा इस्लामावादमा भेट्ने बाचासहित छुटिएका भारत र पाकिस्तान एउटै मन्चमा बस्न नमानेका कारण सार्कले काम गर्न छाडेको छ ।

कश्मिरमा भारतीय सैनिक क्याम्पमा आक्रमण भएपछि तीन वर्षअघि हुनुपर्ने सार्क शिखर सम्मेलनमा सहभागी हुन भारतले अश्वीकार गरेपछि स्थगित भएको थियो । त्यसयता अध्यक्ष मुलुकका हैसियतले नेपालले दुवै निरन्तर पहल गरिरहेको मन्त्री ज्ञवालीले बताए ।

प्रधानमन्त्री केपी ओली दोस्रो कार्यकाल निर्वाचित भएलगत्तै तत्कालीन पाकिस्तानी प्रधानमन्त्री काठमाडौं आएका थिए । उनले सार्क अध्यक्षको हैसियतमा शिखर सम्मेलनको वातावरण बनाउन ओलीसँग आग्रह समेत गरेका थिए । तर भारत र पाकिस्तान पछिल्लो कश्मिर प्रकरणपछि एउटै बैठकमा समेत बस्न नसक्ने अवस्थामा पुगेका छन् ।

पछिल्लो कश्मीर प्रकरणपछि भारत र पाकिस्तान दुवैले नेपालको समर्थन मागेका छन् । भारतीय विदेशमन्त्री एस जयशंकर काठमाडौं आएरै कश्मीर मामिलामा नेपालको साथ खोजेका थिए भने पाकिस्तानी विदेशमन्त्री कुरैसीले ज्ञवालीलाई फोन गरेर नेपालको साथ मागेका थिए । नेपालले भने कश्मीर प्रकरणमा असंलग्न नीति देखाएको छ । उसले कश्मीरमा रहेका नेपालीहरुको सुरक्षामा चासो राखेको छ र क्षेत्रीय शान्तिका लागि दुवै पक्षलाई संयमित रहन अपिल गरेको छ । कश्मिर प्रकरणमा सार्क क्षेत्रमा अशान्ति निम्त्याउनेतर्फ अध्यक्षका हैसियतले नेपालले चिन्ता व्यक्त गरेको छ ।

के भन्छ नेपाली नियोग ?

यसैबीच न्यूयोर्कस्थित नेपाली नियोगले सार्क विदेशमन्त्रीस्तरीय बैठकलाई अनौपचारिक भनेको छ ।

नियोगले जारी गरेको विज्ञप्तिमा परराष्ट्रमन्त्री ज्ञवालीले सार्क सदस्य राष्ट्रका विदेशमन्त्री तथा अन्य प्रतिनिधिहरु सहभागी सार्क मन्त्री परिषदको अनौपचारिक वैठकको आयोजना तथा अध्यक्षता गरेको जनाएको छ । वैठकमा ज्ञवालीले दक्षिण एसियाका सम्भाव्यता र आयामहरुमाथि प्रकाश पार्दै क्षेत्रीय तहमा प्रभावकारी समन्वयले यस क्षेत्रको सामाजिक-आर्थिक अवस्थालाई माथि उकास्नका लागि क्षमताको पूर्ण उपयोगमा मद्दत गर्ने धारणा राखे । साथै उनले यस क्षेत्रमा विद्यमान गरिबी, असमानता, जलवायू परिवर्तन, न्यून विकास, प्राकृतिक प्रकोप लगायतका विविध चुनौतिहरुलाई सम्वोधन गर्नका लागि आपसी समन्वयमा जोड दिएका थिए ।

वैठकका क्रममा विदेशमन्त्रीहरुले सार्कले विगत एक वर्षमा गरेको प्रगतिको समीक्षा गरेका थिए भने आपसी व्यापार, लगानी, कनेक्टिभिटी, पर्यटन र संस्कृतिका साथै सुरक्षा, शान्ति र स्थायित्वका निम्ति क्षेत्रीय सहकार्यमा जोड दिएको नियोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment