Comments Add Comment

लहरे खेतीबाटै लखपति भए मामा भाञ्जा   

१० असोज, भद्रपुर । झापाको अर्जुनधारा–५ मा साझेदारीमा कृषि फार्म खोलेका मामा भक्तबहादुर भुजेल र भाञ्जा निर्मल अधिकारी लहरे तरकारी खेती गरेरै लखपति बनेका छन् ।

उनीहरुले फार्मको नाम पनि ‘मामा–भाञ्जा सिर्जनशील कृषि फार्म’ राखेका छन् । वैदेशिक रोजगारीबाट फर्किएपछि गाउँघरमै बसेर आधुनिक खेती गर्नु उचित ठान्दै लहरे तरकारी खेतीमा होमिएको मामा भक्तबहादुर भुजेलले बताए ।

उनीहरुको फार्ममा बेमौसमी लहरे तरकारी खेती लहलहाएको छ । यसैबाट दुवै मिहेनती भएको पुष्टि हुन्छ । तरकारी बेचेर वार्षिक रु १८ लाख नाफा हुने भाञ्जा निर्मल अधिकारीले बताए । शुरुमा फार्म खोल्दा आठ कठ्ठा जमीन लिजमा लिएको र मनग्यै आम्दानी दिन थालेपछि हाल १२ बिघा थप जग्गा लिजमा लिएर तरकारीको व्यावसायिक खेती गरिरहेको उनीहरु बताउँछन् ।

मामा भाञ्जा फार्ममा जुनसुकै मौसममा करेला, बोडी, काक्रा र टमाटर लटरम्म फलेका हुन्छन् । ‘पानी जम्ने तीन बिघामा धान फलाउँदैछौँ”, कृषि कर्मबाट सन्तुष्टि मिलेको जनाउँदै भक्तबहादुर भुजेल भने, “धान काटेपछि त्यहाँ फेरि टमाटर लगाउँछौँ ।”

उत्पादन भएको तरकारीको बजारमा समस्या छैन । नजिकको विर्तामोड, शनिश्चरे, चारपाने, चारआलीलगायतका बजारमा तरकारी खपत हुने गरेको छ । बोडी प्रतिकिलो रु ६०, करेला रु ५० देखि ६० र काक्रा रु ४५ मा विर्तामोडस्थित कृषिथोक बजारमा लगेर बेच्ने गरिएको उनले बताए ।

मामा भाञ्जा फार्ममा यतिबेला एक बिघामा काक्रा, डेढ बिघामा करेला र आठ कठ्ठामा बोडीले धमाधम आम्दानी दिइरहेको छ । बाँकी जग्गामा बिरुवा हुर्किरहेका छन् । फार्ममा काम गर्नका लागि स्थानीय १५ युवाले रोजगारीसमेत पाएको बताउँदै फार्म सञ्चालक अधिकारीले भने, “अर्काको मुलुकमा गुलामी गर्नुभन्दा आफ्नै देशमा पसिना बगाउनु धेरै जाति ।”

अर्जुनधारा नगरपालिकाले परिश्रमी किसान अधिकारी र भुजेललाई औजार खरीदमा गत आर्थिक वर्षमा रु ६० हजार अनुदान दिएको थियो । अधिकारी नगरपालिकाले किसानबाट उत्पादित तरकारी बेच्न बिक्रीकक्ष खोलिदिने हो भने विचौलियाबाट जोगिन सकिने बताए । मामा र भान्जाले मज्जाले कृषि फार्म चलाएको देखेर अर्जुनधारा–५, ८ र ११ मा डम्बर चौधरी र उनका भाइले ‘दाजुभाई कृषिफार्म’ भर्खरै स्थापना गरेका छन् ।

उनीहरुले सय हेक्टर जग्गा लिजमा लिएर प्रधानमन्त्री कृषि परियोजना विकासअन्तर्गत तरकारीको पकेट क्षेत्र नै तोकेर काम शुरु गरेको कृषि ज्ञान केन्द्रका प्राविधिक शेषराज पौडेलले बताए । आधुनिक प्रविधिबाट गरिने तरकारी खेतीका लागि कृषि ज्ञान केन्द्रले यस परियोजनालाई रु २५ लाख अनुदान प्रदान गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment