Comments Add Comment

गुपचुप रुपमा स्टाफ नर्स भर्ती गर्न लागेको भन्दै वीर अस्पतालमा विरोध

१० असोज, काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले विज्ञापनबाट खुला प्रतिस्पर्धा हुन नदिई गुपचुप रुपमा २५ जना स्टाफ नर्स भर्ना गर्न लागेको भन्दै कर्मचारी संघले बिरोध गरेको छ ।

वीरकै कर्मचारीले नियम विपरीत आर्थिक चलखेल र आफन्त भर्ती गर्ने उद्देश्यले विज्ञापन नगरी कर्मचारी भर्ना नगरेको भन्दै संघका पदाधिकारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी दिएका छन् । तर वीर अस्पताल प्रशासनले भने शुक्रबारबाटै स्टाफ नर्सको अन्तर्वार्ता थालिसकेको छ ।

सेवा आयोगमार्फत आवश्यक पदपूर्ति गर्नुपर्नेमा विज्ञापन समेत नगरी आफन्त र चलखेलका आधारमा २५ जना नर्स भर्ना गर्न लागिएको आरोप कर्मचारी संघका पदाधिकारीले बताएका छन् ।

हाल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको पदपूर्ति समिति पदाधिकारीविहीन रहेको र तत्काल जनशक्ति अपुगका कारण विरामीको उपचारमै बाधा उत्पन्न भएपछि करारमा केही स्टाफ नर्स भर्ना गर्न नियम अनुसारनै कारवाही चलाइएको अस्पताल प्रशासनले जनाएको छ ।

अस्पतालका निर्देशक डा.केदार सेन्चुरीले आफू बैठकमा रहेको भन्दै थप कुरा गर्न चाहेनन् । कर्मचारी संघका पदाधिकारीले विहीबार नै सेन्चुरीलाई भेटेर विज्ञापन नगरी नर्स भर्ती गर्न खोजेको भन्दै आपत्ति जनाएपछि त्यस दिन निर्धारित अन्तर्वार्ता रोकिएको बताइएको छ ।

स्टाफ नर्स नियुक्ति गर्न लागिएपछि राजनीतिक भागबण्डा गरेर सबैका मान्छे भर्ती गरी यो प्रकरण सामसुम पार्ने प्रयास भइरहेको आरोप समेत कर्मचारीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment