Comments Add Comment

चितवनमा दशैंको मुखमा बढ्यो तरकारीको मूल्य

१० असोज, चितवन । बुधबार साँझ भरतपुर-१० मा लागिरहेको हाटबजारमा कृष्णपुरका हुतराज पन्त एक महिला ब्यापारीसँग झगडा गरिरहेको भेटिए । कारण थियो तरकारीको मूल्य ।

एक मुठो साग हातमा लिएका पन्तलाई ती महिला ब्यापारीले ६० रुपैयाँ भनेपछि पारो छुट्यो । उनले हातबाट सागको मुठो भुँइमा फाल्दै भने, ‘अचाक्ली गर्ने, ठग्ने ?’ कृष्णराज पन्त जस्तैं धेरै उपभोक्ताहरु बजारमा पुग्दा हिजोआज आश्चार्यमा पर्न थालेका छन्, तरकारीको भाउ सुनेर ।

तरकारी उत्पादन हुने प्रमुख जिल्लाको सूचीमा नाम लेखाएको चितवनमा पछिल्लो दुई हप्तामा तरकारीको मूल्य धेरै बढेको छ । हरेक तरकारीको मूल्य औसत ७० रूपैयाँ प्रतिकिलो पर्छ । तरकारी किनेर खानुपर्नेहरुलाई निकै समस्यामा पारेको छ, बढेको मूल्यले ।

थोक बजारमा नै महंगो भएको तरकारी खुद्रासम्म आइपुग्दा छोइनसक्नु छैन । तर, पनि दुई छाकको गर्जो टानुपर्ने बाध्यता छदै छ । बजारमा गोलभेडा, प्याज, बोडी, लौका, करेला, साग, परवाल, फर्सि, च्याउ, काक्रो, स्याउलगायत अधिकांश फलफूल तथा तरकारीको भाउ बढेको छ । तर, घटेको केही तरकारीको पनि व्यवसायीले पुरानो मूल्यमा बिक्री वितरण गर्दै आएका छन् ।

भदौको अन्तिम साता र असोजको पहिलो हप्तामा तरकारीको भाउ निकै बढेको व्यवसायीहरुले बताए । लगातार परेको पानी त्यसपछिको चर्को घामले तरकारीको उत्पादनमा नै कमि आएको उनीहरुको दावी छ ।

नारायणगढस्थित क्षेत्रपुरमा रहेको ताजा तरकारी तथा थोक बजारमा ४० देखि ६० प्रतिशतसम्म तरकारीको भाउ बढेको छ । बजारमा त्यति धेरै तरकारी पनि छैन । यो समय तरकारीको अफसिजन भएको ब्यापारीहरु बताउँछन् ।

कुनै समय ५० पैसामा एक धार्नी काउली पाउने यहाँ यतिबेला तरकारीको भाउ निकै उच्च भएको छ । पहिला पहिला एकपटक आउँदा एकसातालाई पुग्ने तरकारी लैजाने ग्राहकहरुले हिजोआज एकदुई किलो मात्रै किन्ने गरेको हाटबजारमा ब्यापार गर्ने हरिकला मगरले बताइन् ।

एक मुठा निउरो, एक किलो फर्सी, एक किलो सिमी हातमा झुण्डाएर तरकारी बजारबाट घरतिर लाग्दै गरेका भरतपुर-९ का दधीराम ढकालले तरकारीको भाउ छोइनसक्नु भएको सुनाए ।

यति तरकारी खरिदमा उनले २२० रुपैयाँ खर्चिए । बजार भाउ किन यति बढेको होला भन्ने जिज्ञासाको जवाफ दिदै ढकालले भने, ‘चाडपर्व नजिक आएको छ, बर्खा पनि भैरहेको छ, उत्पादन छैन त्यसैले बढेको होला ।’

ढकालकै भनाइमा सहमत छन्, फलफूल तथा तरकारी व्यवसायी संघका अध्यक्ष थिरप्रसाद धिताल । धिताल भन्दछन्, ‘लगातारको झरी, स्रोह श्राद्ध र उत्पादनमा आएको कमीका कारणले भाउ बढेको छ । उत्पादन कमी हुँदै गयो, माग अधिक छ, आपूर्ति घट्दा मूल्य बढ्नु स्वभाविक नै हो ।’

सोह्र श्राद्धमा धेरै मानिसहरू शाहाकारी हुने भएकोले त्यसको दवाव तरकारीमा पर्ने गरेको अध्यक्ष धितालले बताए । अघिल्ला वर्षमा समेत यो सिजनमा तरकारीको मूल्य बढ्ने गरेको अनुभव अध्यक्ष धितालसँग छ ।

तर, यसपटक गत वर्षभन्दा अलिक बढी नै मूल्य बढेको पाइएको छ । क्षेत्रपुरमा रहेको महानगर ताजा तरकारी तथा फलफूल केन्द्रमा विगत एक दशकभन्दा अघिदेखि तरकारीको ब्यापार गर्दै आएका ब्यापारी बाबुराम घिमिरेले बजारमा तरकारीको मूल्य ४० देखि ७० प्रतिशतसम्म बृद्धि भएको सुनाए ।

चितवनको उत्पादन अति नै कम हुनु, तरकारी आयात हुने मकवानपुरको टिस्टुङ, पालुङ, धादिङ र काठमाडौंको काठ क्षेत्रमा समेत उत्पादनको कमी हुँदा भाउ बढेको ब्यापारी घिमिरे बताउँछन् ।

वर्षाको सिजनमा चितवनको तरकारीले यहाँको माग धान्दैन । मकवानपुरको पालुङ र काठमाडौंको काठ क्षेत्रबाट तरकारी ल्याउनुपर्छ ।

खुर्सानी, पर्वल र गोलभेडामा भारतको भर पर्नु परेको छ । बितेको दुई हप्तामा २० रुपैयाँ किलोमा बिक्री भैरहेको बन्दाको मूल्य प्रतिकिलो ४०, स्कुस १० बाट ३०, लौका २५ बाट ६०, गोलभेडा ३० बाट ६०, साग मुठाको ५०, फर्सी प्रतिकिलो २० बाट ५०, पर्वल २० बाट ६० पुगेको छ ।

भदौको दोस्रो सातासम्म १० रुपैयाँ किलो पर्ने घिरौला अहिले किलोको एक सय पर्ने गरेको उपभोक्ताहरुको गुनासो छ ।

भरतपुर-१८ का तरकारी उत्पादक किसान रामचन्द्र रेग्मीका अनुसार लगातार परेको वषर्ाका कारणले लहरे तरकारीबाली नष्ट भएको छ । ‘धेरै दिनसम्म लगातार पानी परेको पर्‍यै छ, कहिले काही चर्को घाम लाग्छ, लगाएको घिरौला, करेला, काक्रो, मुला, काउली पानीले मर्‍यो,’ किसान रेग्मीले भने, ‘अब तत्कालै थप उत्पादन दिन सक्ने अवस्था छैन ।’ किसान रेग्मीले दशैं तिहार र कात्तिकको अन्तिम सातासम्म पनि तरकारीको भाउ नघट्ने बताए ।

हाट बजार एशोसिएसनन चितवनका अध्यक्ष लालबहादुर रायले उत्पादन कम र माग बढी भएकोले मूल्य बढेको बताए ।

खेती योग्य जमीन घडेरीमा विक्री बितरण हुँदै गएको तर खानेमुख भने थपिदै गएकोले बजारमा मूल्य बढ्नु स्वभाविक भएको उनको धारणा छ ।

तरकारीको बढ्दो मूल्यका कारणले उपभोक्ताको क्रय शक्ति क्षयीकरण भैरहेको भरतपुर-७ कृष्णपुरमा दीपक पाठकले बताए ।

तरकारीको भाउ बढ्दा त्यसको मार हरेकका भान्सा भान्सामा परेको पाठकले बताए । उनको अनुभवमा एक तरकारीलाई प्रतिस्थापन गर्ने अर्को तरकारीका उत्पादन नहुँदा मूल्य बढेको हो ।

तरकारीको मूल्य बढ्दा त्यसको मार होटल तथा रिर्सोट सञ्चालकहरुले समेत भोगेका छन् । भरतपुर ४ लंकुका द ग्रीन पार्कका सञ्चालक जोन कँडेलले तरकारीको भाउ बढ्दा आफूहरुले लिने सामान्य नाफालाई खुम्चाउने गरेको बताए । ‘तरकारीको भाउ बढ्दो भन्दैमा हामीले मेन्यु परिवर्तन गर्ने वा बढाउने भन्ने हुँदैन,’ सञ्चालक कँडेलले भने, ‘तरकारको बढेको मूल्य सबैतिर बाँडिन्छ, मार त प्रत्यक्ष रुपमा नै पर्छ ।’

कति हुन्छ चितवनमा तरकारीको खपत ?

व्यवसायी आफैं मिलेर खोलेको जिल्लाकै सबैभन्दा ठूलो महानगर फलफूल तथा तरकारी बजारमा दैनिक १ सय टन तरकारी बिक्रीवितरण हुँदै आएको छ ।

क्षेत्रपुरमा रहेको तरकारी बजारमा २ सय सटर छन् । ८० वटा तरकारीका, ७० वटा फलफूल, ४० खुद्रा र १० वटा किसानलाई निःशूल्क तरकारी बेच्न दिने सटर छन् ।

देशभरका १७ जिल्लाबाट तरकारी आयात निर्यात गर्दै आएको यो बजारबाट दैनिक करिब ५० लाख रूपैयाँ बराबरको आर्थिक कारोबार भइरहेको छ ।

दशैंमा तरकारी र फलफूल गरी १ करोडभन्दा बढीको कारोबार हुन्छ । जिल्लाका विभिन्न एक दर्जनभन्दा बढि स्थानमा किसान र उपभोक्तालाई लक्षित गरी हाटबजार सञ्चालन गरिएको छ । ती बजारमा दैनिक एक हजार किलो तरकारी विक्री हुँदै आएको हाट बजार व्ययवस्थापन समितिका अध्यक्ष लालबहादुर रायले बताए ।

हाटबजारबाट किसानहरुले आफ्ना ताजा उत्पादन बेच्ने हुँदा बिचौलियाहरुले बढी नाफा खाएर उपभोक्तालाई मार पार्न नसक्ने अध्यक्ष रायको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment