Comments Add Comment

सभामुख महराले चिनियाँ अधिकारीसँग भने-राष्ट्रपति सीको स्वागतको तयारी तीव्र

कजाकस्तानमा सिचुवान प्रान्तका सेक्रेटरीसँग भेटवार्ता

११ असोज, काठमाडौं । सभामुख कृष्णबहादुर महराले चिनियाँ कम्युनिष्ट पार्टी सिचुवान प्रान्तका सेक्रेटरी पेङ दिङ्हृवासँग भेटवार्ता गरेका छन् । कजाखस्तानको नूरसुल्तानमा सम्पन्न युरेसियन मुलुकका सभामुखहरुको बैठकबाट फर्किने क्रममा शुक्रबार सभामुख महरासहितको नेपाली प्रतिनिधि मण्डलले सिचुवान प्रान्तका पार्टी सेक्रेटरी पेङसँग भेटवार्ता गरेको हो ।

बेइजिङमा बिहीबार चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन (सीपीपीसीसी)का उपाध्यक्ष लिउ सिनछङसँग भेटवार्ता गरेका महराले शुक्रबार सिचुवान प्रान्तका पार्टी सेक्रेटरी पेङसँग भेटवार्ता गरेका हुन् ।

भेटका अवसरमा सभामुख महराले चिनियाँ राष्ट्रपति सी जिनफिङलाई स्वागत गर्न नेपाल आतुर रहेको भन्दै नेपाल सरकारले भ्रमणको तयारी तीव्रताका साथ गरिरहेको जानकारी दिएका थिए । सिचुवान प्रान्तका पार्टी सेक्रेटरी पेङले राष्ट्रपति सीको नेपाल भ्रमणले दुई देशको सम्बन्ध र आत्मीयता झन् उचाइमा पुग्ने बताएको सभामुख महराको सचिवालयले जनाएको छ ।

चिनियाँ राष्टँपति सी भारत हुँदै असोज २७ गते नेपाल आउने बताइए पनि चीन र नेपाल सरकारका अधिकारीहरुले भ्रमण मितिबारे औपचारिक रुपमा जानकारी दिएका छैनन् ।

भेटका अवसरमा सभामुख महराले नेपाल र सिचुवान प्रान्तको सम्बन्धलाई अझ सुदृढ गर्न छेन्दुमा नेपाली महावाणिज्य दूतावास स्थापना गर्न जरुरी रहेको पनि बताएका थिए । जवाफमा पेङले चीनको तिब्बतबाट शुरु हुने परियोजनाले नेपाल र चीनबीचको यातायात थप सहज हुने बताएका थिए ।

सभामुख महरासहितको प्रतिनिधि मण्डल शनिबार काठमाडौं फर्किंदै छ । युरोसियन मुलुकका सभामुखहरुको बैठकमा भाग लिन सभामुख महरा ६ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै गत साता कजाकस्तान गएका थिए । सभामुख महरा नेतृत्वको प्रतिनिधिमण्डलमा प्रतिनिधिसभा सदस्य मानबहादुर विश्वकर्मा, राधा ज्ञवाली र अमृतादेवी अग्रहरि, संघीय संसद सचिवालयका प्रमुख लेखा नियन्त्रक बसन्तराज सिग्देल र सभामुखका स्वकीय सचिव डोरबहादुर पुन छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment