Comments Add Comment

राष्ट्र बैंकले निकाल्यो गुरु नानकको सम्मानमा सिक्का

११ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले गुरु नानकको ५५० औँ जन्मोत्सवको अवसरमा विभिन्न दरका सिक्का निष्कासन गरेको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाल र नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले एक सय, एक हजार र दुई हजार पाँच सय दरका सिक्का शुक्रबार साँझ आयोजित एक कार्यक्रममा सार्वजनिक गरेका हुन् ।

गुरु नानकको सम्मानमा सिक्का निस्कासन गरिएको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले जानकारी दिए ।

ठमेलस्थित एक होटलमा आयोजित कार्यक्रममा सिक्का सार्वजनिक सँगै ‘शिख हेरिटेज अफ नेपाल’ नामक पुस्तक पनि सार्वजनिक गरिएको थियो । उक्त पुस्तक बीपी कोइराला भारत-नेपाल फाउण्डेशन र भारतीय दूतावासले प्रकाशित गरेका हुन् । त्यसले प्रमुख रूपमा शिख समुदायलाई नेपालसँग जोड्न खोज्ने प्रयास गरेको छ ।

कार्यक्रममा गभर्नर डा. नेपालले शिख समुदायबाट विभिन्न सामाजिक विकासका अतिरिक्त काठमाडौँ उपत्यकाको खानेपानी विस्तार र नेपाल पब्लिक मोटर्स सर्भिस संस्थाका माध्यमबाट यातायात क्षेत्रको विकासमा निकै ठूलो योगदान भएको बताए ।

नेपालका लागि भारतीय राजदूत पुरीले प्रत्येक व्यक्तिले आफूले आर्जन गरेको ज्ञान र सीप अरूलाई पनि बाँड्नुपर्छ भन्ने मान्यता राख्ने गुरु नानक सम्पूर्ण मानवजातिकै गुरु भएको बताए ।

को हुन् गुरु नानक ?

संसारमै सबैभन्दा बढी पैदलयात्रा गर्ने गुरु नानकले २३ वर्षसम्म उदासी भेषमा रहेर चीन, साउदी, श्रीलंका, नेपाललगायतका देश भ्रमण गरेका थिए । काठमाडौं उपत्यकामा गुरुनानक मठ बालाजु, विष्णुपादुका गुुरु नानक मठ ज्ञानेश्वर, पशुपति गुरु नानक मठ देवपतन, शोभा भगवती गुरु नानक मठ र थापाथली नानक मठ रहेको छ ।

उपत्यकाममा एक हजार ६०० रोपनीभन्दा बढी जग्गा गुरु नानक सभ्यता प्रवर्द्धनका लागि तत्कालीन राजाहरूले उपलब्ध गराएको इतिहास छ । हालको कुपण्डोलस्थित गुरुद्वारा २०३२ सालतिर बनाइएको हो । नेपालमा शिख समुदायको नेपालजञ्ज, वीरगञ्ज, बुटवल र कृष्णनगरलगायतका क्षेत्रमा बसोबास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment