Comments Add Comment
साहित्य वार्ता :

‘पुरुषमाथि धेरै दबाव छ, अध्यात्मभित्र झन् कलह देखेँ’

मान्छेको बाँच्ने आफ्नै प्रयोजन हुन्छ, मेरो प्रयोजन खुसी हुने हो- सञ्जीव उप्रेती

११ असोज, काठमाडौं । डा. सञ्जीव उप्रेती सामान्य मानिसका लागि दुरह लाग्छन् । उनी चरासँग कुरा गर्छन् । रुखहरुलाई अंगालो हाल्छन् । घन्टौं एकान्तमा बस्छन् र एक्लै-एक्लै मुस्कुराउँछन् । उनी सुल्झिन नसकेको घटना जस्तै प्रतीत हुने गर्छन् ।

डा. उप्रेती आजको एक हजार वर्षपछि नेपालीले दालभात र तरकारीको साटो गँगटो खाएको देख्छन् र त्यसको सजीव व्याख्या गर्छन् । पानी र अक्सिजनको हाहाकार भएपछि पृथ्वीवासीले अर्बौं अर्ब डलर खर्च गरेर स्पेसमा यात्रा गरेको र अर्को पृथ्वी भेट्न नसकेको प्रयास सम्झन्छन् र चिन्तित हुन्छन् ।

त्रिभुवन विश्वविद्यालयमा २५ वर्षसम्म अंग्रेजी  भाषा र साहित्य पढाएपछि दुई वर्षअघि डा. उप्रेतीले अवकाश लिए ।  समयअगावै जागिर छाड्नुको कारण थियो- ‘खुसीको खोजी’ । यो खुसीको खोजीमा उनी त्यही गर्छन्, जसले उसलाई सन्तुष्टि दिन्छ । यही सन्तुष्टिको खोजीमा यसपटक डा. उप्रेतीले ‘हंस’ उपन्यास बजारमा ल्याएका छन् ।

यसअघिका नेपाली उपन्यासहरु मान्छेलाई केन्द्रमा राखेर लेखिएका थिए । यो उपन्यासमा हाँसले आफूलाई केन्द्रमा राखेर मान्छेले गरेका उपद्रो पोल खोलेको छ । उपन्यासमा अनेक चराचुरुङ्गी र प्रकृतिले मानिसको ठालु प्रवृत्तिलाई कसरी सहिरहेका छन् भन्ने कुरा पढिरहँदा पाठक पटक-पटक झस्कन्छन् ।

डा. उप्रेतीले १२ वर्षअघि ‘घनचक्कर’ उपन्यास लेखेर मानिसमा भएको पागलपनको कथा सुनाएका थिए । यो उपन्यासले बौद्धिक जगतमा विभिन्न किसिमका बहस छेडेको थियो । आम पाठकले भने उपन्यास जटिल भएको भन्दै पुनर्लेखनको माग गरे । केही वर्षअघि यसलाई उनले पुर्नलेखन गरेर बजारमा ल्याएपछि उपन्यास यसरी पुर्नलेखन गर्नुहुन्छ कि हुन्न भन्ने अर्को बहस पनि छेडियो ।

व्यवहारमा अत्यन्तै सरल उप्रेती साहित्यकार कृष्ण धरावासीका बालसखा पनि हुन् । हामीले उनको लेखन र बाँच्ने कला बुझ्न उनको बालपनबाटै कुरा सुरु गर्‍यौं ।

तपाईं किन यति एकलकाँटे ? बाल्यकालसँग यो एक्लो रहने स्वभावको कुनै सम्बन्ध छ ?

पक्कै छ । सबैभन्दा पहिले त म राजस्थानमा जन्मिएँ । किनभने, दोस्रो विश्वयुद्धको सिपाही भएर मेरा हजुरबुवा भारततिर लाग्नुभएको रहेछ ।  त्यतैका नेपाली परिवारसँग विवाह गरेपछि मेरी आमा जन्मनुभयो, उतै पढ्नुभयो । मेरा बुवा डाक्टरी पढ्न राजस्थान जाँदा उहाँहरुको भेट भयो,  प्रेम भयो । त्यहीँ विवाह भयो र म जन्मिएँ ।

पढाइपछि बुवा सरकारी जागिरे भएर कैलाली जानुभयो । हामी उतै गयौं । त्यसपछि भोजपुर पुग्नुभयो, हामी उतै पुग्यौं । जागिर छाडेर निजी क्लिनिक खोलेपछि भने हाम्रो स्थायी बसोबास झापामा भयो ।

अटोबायोग्राफी अफ योगी पुस्तकले यति गहिरो छाप छाड्यो कि मलाई भौतिक जीवनभन्दा आध्यात्मिक जीवन बढी रसपूर्ण लाग्न थाल्यो । यही रनाहामा कलेज छाडेर आर्यघाटतिर जान थालेको हुँ । तीन महिना त म पूर्णरुपमा आर्यघाटको भश्मेश्वरमै बसेँ

यो एकलकाटेँ बानीको विकासचाहिँ कसरी भयो त ?

म एक्लो छोरो । जन्मिएँ राजस्थानमा । तर, त्यो स्मृतिमा छैन । कैलालीमा दुई वर्ष बसेका झल्याकझुलुक स्मृतिमा छन् । तर भोजपुरको ४ वर्षे बसाइ भने राम्रोसँग याद छ । यी वर्षहरुमा मेरा कुनै साथी भएनन् । म एक्लै-एक्लै वन-जंगल चाहार्थें । खोल्साहरुमा पस्थेँ ।  आमाले मलाई स्वतन्त्र रहन दिनुहुन्थ्यो । सायद बालकलाई कुनै दबाव र प्रभावमा राख्नुहुन्न भन्ने उहाँ बुझ्नुहुन्थ्यो । योबेला म घण्टौं प्रकृतिलाई हेरेर बस्ने भैसकेको थिएँ । विद्यालय टाढा भएकाले घरमै आमा र  बुवाले मलाई पढाउनुभयो । एकैपटक झापामा ४ कक्षामा भर्ना भएको थिएँ । सायद यो एकांकीपन अहिले पनि कायम छ ।

यो वर्ष कृष्ण धरावासीसँग दोस्तीको ५० वर्ष मनाउँदै हुनुहुन्छ ।  पहिलो भेटको सम्झना आउँछ ?

जस्ताको त्यस्तै । हाम्रो विद्यालयमा त्योबेला एक कक्षादेखि पाँच कक्षासम्म काठको तख्ता ओछ्याइएको एउटै हलमा पढाइ हुन्थ्यो । छुट्टा-छुट्टै पाँचवटा समूहमा भुइँमा पलेटी मारेर विद्यार्थीहरु बस्थे र  कुर्सीमा छडी लिएर सरहरुले कक्षा सञ्चालन गर्नुहुन्थ्यो । त्यो मेरो विद्यालयको पहिलो अनुभव थियो । त्यो दिन लहरै मिलाएर राख्दा मेरो छेउँमा जो साथी देखियो, ऊ नै कृष्ण धरावासी थियो । पहिलोपटक आफ्नोजस्तो कद काँठीको व्यक्तिसँग बोेलेको, साथी बनाएको र मित्रवत सम्बन्ध राखेको पहिलो व्यक्ति ऊ हुन पुग्यो । ठ्याक्कै ५० वर्षपछि पनि त्यो प्रथम मित्रता अहिले पनि उस्तै छ । कस्तो नरम सम्बन्ध भने, हिजोअस्ति मात्रै ऊसँग बोलचाल भएको जस्तो ।

यस्तो ‘लंगौटियार’ साथीलाई पनि ‘तपाईं’ सम्बोधन गर्नुहुन्छ, अनौठो होइन ?

तिमी सम्बोधन गर्दथ्यौं । एसएलसी पास गरेर उनी क्याम्पस पढ्न इलाम गए । प्रथम विद्यार्थीले डाक्टर बन्नुपर्छ भन्ने सामाजिक मान्यता लिएर मचाहिँ काठमाडौं आएँ । एक वर्षपछि दसैंमा हाम्रो भेट भयो । उनले त क्याम्पसको संगतमा साथीहरुलाई तपाईं भन्न थालेछन् । अब उनले तपाईं भनेपछि मैले तिमी भन्ने कुरा आएन । उमेरले जेठा पनि हुन् । बाध्यतापूर्वक तपाईं भन्न सुरु गरेँ । तर, तपाईं त देखिने कुरा हो, हामी तँ स्तरकै साथी हौं ।

तपाईंहरुको साहित्यिक यात्रा विद्यालयदेखि नै सुरु भएको हो कि ? कस्तो थियो दुवैको साहित्यिक स्तर ?

हाम्रो दोस्ती जमिरहनुमा सायद साहित्यले पनि काम गरेको थियो । मेरी आमा साहित्य, कला र संगीत तीनवटै विधामा रुचि राख्नुहुन्थ्यो । राजस्थानी संस्कार सायद उहाँमा परेको थियो । भोजपुरमै हुँदा उहाँले मलाई कमिक्सहरु पढ्न दिनुहुन्थ्यो । फुर्सदको समयमा उहाँ हिन्दी र अङ्ग्रेजीका जासुसी र रोमान्टिक पुस्तक पढिरहनुहुन्थ्यो । त्यसका कथाहरु पनि सुनाउनुहुन्थ्यो ।

झापामा जसै कृष्णसँग भेट भयो, उनी लेख्न रुचाउने रहेछन् । स्कुलमा हुने कार्यक्रमहरुमा हामी दुवैले कविता सुनाउन थाल्यौं । हामी कौरव र पाण्डव खेल खेल्थ्यौं । त्यसमा हामी जिद्दी गरेर पाण्डवको पक्ष लिन्थ्यौं । किनभने, अरु कुरामा विद्यालयका दादा केटाहरुलाई जित्न सकिँदैनथ्यो । जित्ने यो राम्रो माध्यम थियो । यसले महाभारतका पात्रहरुसँग परिचय गरायो ।

अलि पछि हामी पात्रहरुका बारेमा कुरा गर्न सक्ने भयौं । फरक के थियो भने उनी कुशल संगठनकर्ता थिए । साहित्यिक कार्यक्रमहरु गर्थे । म भने एकलकाँटे भएर डुलिरहन्थें । उनका साथी धेरै थिए । तर, मेरा साथी भने उनीमात्रै रहे ।

तपाईं अस्कल पढ्दा पनि पशुपति आर्यघाटतिर गइरहनुहुन्थ्यो रे । प्रेम गर्ने उमेरमा वैराग्य कसरी पलायो ?

मेरा बुवा ओशोका पुस्तकहरु पढ्नुहुन्थ्यो । १६/१७ वर्षको उमेरमा मैंले पनि ती पुस्तक पढ्न थालेँ । आध्यात्मिक पुस्तक पढ्ने क्रममा एउटा अनौठो पुस्तक मैंले हात पारेँ- ‘अटोबायोग्राफी अफ योगी’ ।  यो पुस्तकले यति गहिरो छाप छाड्यो कि मलाई भौतिक जीवनभन्दा आध्यात्मिक जीवन बढी रसपूर्ण लाग्न थाल्यो । यही रनाहामा कलेज छाडेर आर्यघाटतिर जान थालेको हुँ । तीन महिना त म पूर्णरुपमा आर्यघाटको भश्मेश्वरमै बसेँ । त्यो पनि १७ वर्षको उमेरमा ।

योगी हुनुपर्ने मान्छे, प्राध्यापक हुनुभयो । के कारण पर्‍यो ?

मेरो मनमा जुन योगीहरुको कल्पना थियो, आर्यघाट बस्ने क्रममा ध्वस्त हुनपुग्यो । योगीहरुमा पनि तँ बढी भगवानको नजिक कि म, तेरो साधना बढी कि मेरो,  तँ ठूलो योगी कि म, तेरो सिद्धान्त राम्रो कि मेरो भन्ने प्रतिस्पर्धा, इर्ष्या र अहंकार हुँदोरहेछ ।

मैले अध्यात्मभित्र त झन् कहालीलाग्दो कलह  देखेँ । आज पनि म विभिन्न सम्प्रदायमा ध्यानका विधि सिक्न जान्छु । हरेक सम्प्रदायले के दाबी गर्छन् भने मेरो बाटो भएर मात्र मुक्त भइन्छ, यो नै अन्तिम सत्य हो । अब भन्नुस्, योभन्दा झूठ अरु के हुन सक्छ ?

त्यही भएर खगोल विज्ञान र भविश्य विज्ञानमा रुचि राख्न थाल्नुभएको हो ?

जीवन सहजरुपमा बुझ्न यो पनि तरिका हो । जस्तो- हाम्रो विशाल ब्रह्माण्डभित्र हाम्रो आकाश गंगा कति सानो छ, तोरीको गेडाजस्तो । हाम्रो आकाश गंगाभित्र हाम्रो सौर्यमण्डल कति सानो छ, तोरीको गेडाजस्तो । हाम्रो सौर्य मण्डलभित्र हाम्रो पृथ्वी कति सानो छ, तोरीको गेडाजस्तो ।

हाम्रो पृथ्वीभित्र हामी कति कमजोर छौं, कमिलाजस्तो । यो विशाल ब्रह्माण्डमा हामीले पाएको ज्ञान, धन, ऐश्वर्य जे जति छन्, ती सबको कति अर्थ छ ? मानव भएर हामीले जे गर्नुपर्ने हो, गरिरहेका छौं ? यसले बाँच्ने तरिका सिकाउँछ जस्तो लाग्छ ।

भनेपछि मानिस केका लागि बाँच्ने त ?

मानिसको बाँच्ने आफ्नै प्रयोजन हुन्छ । मेरो प्रयोजन खुसी हुने हो । आजको पूँजीवादी युगमा बाँच्नका लागि कुनै कुरा उत्पादन गर्नुपर्छ । त्यसलाई बेच्न जान्नुपर्छ र यस्तो व्यक्तिमात्र बाँच्न सक्छ । तर, म भने त्यस्तो ठान्दिनँ । मेरा लागि उत्पादन भनेको खुसी हो । मैले यत्रो वर्ष प्राध्यापन गरेँ, पैसा पनि पाएँ । तर, पैसाका लागिभन्दा खुसीका लागि त्यो काम गरेँ । पैसाका लागि गरेको भए डाक्टरी गर्थें हुँला । बुवासँग माफी मागेर अंग्रेजी साहित्य पढ्नतिर लाग्नुको कारण यही खुसी थियो । समय अगावै जागिर छाड्नुमा पनि कारण यही छ । आज म डुलन्ते भएर हिँड्छु, पुस्तक लेख्छु भने यो पनि खुसीका लागि । मसँग बाँच्ने यो मात्रै आधार छ ।

तपाईंकी जीवनसंगीनी अर्चना थापाले महिलावादका विषयमा विद्यावारिधि गर्नुभयो । तपाईंले चाहिँ पुरुषवादका विषयमा ? योविपरीत विषय चयन गर्नुको कुनै कारण छ ?

महिलावाद र पुरुषवाद एकअर्काका विपरीत होइनन् । पुरुषवादले महिलाको र महिलावादले पुरुषको विरोध गर्दैनन् । यी एकअर्काका सहयोगी विषय हुन् । मैले अध्ययन गर्दा पाएँ, पुरुषमाथि धेरै दबाव छ । उसले परिवार पाल्नुपर्छ, उसले नाम, नाम र ऐश्वर्य कमाउनुपर्छ भन्ने सामाजिक दबाव छ । यो नेपालजस्ता अविकसित मुलुकमा मात्र होइन, विकसित मुलुकमा पनि छ ।

यही कारण पुरुषहरुलाई महिलाका तुलनामा बढी मुटुरोग, उच्च रक्तचाप, तनाव र अप्ठ्याराहरु छन् । यो अध्ययन गर्दा यसलाई कसरी कम गर्न सकिन्छ भनेर पनि खोज गरेँ ।

अर्चनाले महिलाहरुले भोग्नुपर्ने समस्याहरुको अध्ययनलाई नयाँ दृष्टिबाट हेरिन् । यसो गर्दा कतै न कतै महिलावाद र पुरुषवाद मिलेर  समाजलाई राम्रो दिशा कसरी दिन सकिन्छ भन्ने निष्कर्ष पनि निस्कियो । म यसलाई विपरीत विषय मान्दिनँ र होइन पनि ।

तर, तपाईंहरुका रुचि र सोचहरु भिन्न छन्…

हो, भिन्न छन् । उनी बढी सक्रिय, कामप्रति बढी जिम्मेवार र सामाजिक छिन् । एकैठाउँ बसेर घन्टौं काम गर्न सक्छिन् । म सक्दिनँ ।

दुवैजना लेखक पनि हुनुहुन्छ । लेखनमा सहयोग, एकअर्कामा प्रतिस्पर्धा वा इर्ष्या जस्ता कुराहरुको अनुभव गर्नुहुन्छ ?

म सिद्धान्तबाट मुक्त हुन आख्यान लेख्छु । खुसी उत्पादन गर्न लेखिएका कुराभित्र सिद्धान्त नहुन सक्छ । खुसी हुन बाहिरी बुद्धि आवश्यक पनि छैन

हामी एकअर्काका पहिलो पाठक हौं । र,  ठूला आलोचक पनि । प्रतिस्पर्धा वा इर्ष्या भन्ने कुराचाहिँ हुन्न । आफूले धेरै राम्रो लेखेँ भनेर सुनाएका बेला भयंकर आलोचना हुँदा चित्त दुख्छ । एक-दुई दिनसम्म बोलचाल बन्द पनि हुन्छ । त्यो आलोचना आफ्नै भलाइका लागि हो भन्ने थाहा पाएका कारण दुखाइ कम भएपछि स्वतः सम्बन्ध पहिलेजस्तै हुन्छ ।

हामी एकअर्काका शुभचिन्तक र प्रेमी हौं भनेर कसरी भन्न सक्छौं भने एकअर्काको राम्रो पक्ष अघि बढाउन तुरुन्तै काम गर्छौं । जस्तो- जुन दिन मैले उनको कथा सङ्ग्रह ‘कठपुतला’ पढेँ । त्यसको बजार प्रतिक्रिया पनि राम्रै आयो । त्यसपछि मैले आफ्नो पुस्तक उनलाई छाप्न नदिने निर्णय गरेँ । जब कि उनको प्रकाशन गृह अक्षर क्रिएसनबाटै मेरा पुस्तक पनि छापिन्थे ।

यसो किन गरेँ भने उनी प्रकाशक भन्दा लेखिका हुनुपर्छ । मेरो मात्र होइन, उनको पुस्तक पनि व्यवसायिक प्रकाशन गृहबाट आउनुपर्छ । यसो गर्दा उनी प्रकाशकको भूमिकाबाट लेखिका हुन पाउँछिन् । त्यस्तै नीति उनले पनि लिन्छिन् ।

कहिलेकाहीँ को ठूलो विद्वान, को बढी बौद्धिक भन्ने द्वन्द्व हुँदैन ?

आफूलाई ठूलो, बौद्धिक र बुझेको ठान्नु पनि रोग नै हो । यो ब्रह्माण्डका विषयमा हामीले कति नै कुरा जानेका छौं र ? यो विशाल ब्रह्माण्डमा हामीले थाहा पाएका कुरा कस्तो छ भने शून्यका पछाडि दशमलब राखेर जतिवटा शून्य राखेर अन्त्यमा एक लेख्दा पनि धेरै हुन्छ ।

सय वर्षअघिसम्म हामीसँग हवाइजहाज थिएन । १० वर्षअघिसम्म हामीलाई इन्टरनेट चलाउन आउँदैनथ्यो । मानव शरीरलाई समेत हामीले पूर्णरुपमा जान्न सकेका छैँनौ । त्यसैले यो सोच नै निरर्थक छ ।

अन्त्यमा, लेखनका बारेमा केही प्रश्न छन् । जस्तो- तपाईंले ‘घनचक्कर’ लाई पुनर्लेखन गर्नुभयो । यसको विरोध पनि भयो,  के भन्नुहुन्छ ?

पुनर्लेखन गर्नुहुन्न भन्नुको अर्थ, मैले १० वर्षअघि सोचेको कुरा आज पनि ठीक छ भनेर जिद्दी गर्नु हो । जब कि १० वर्षमा मैले त्यस विषयमा कति नयाँ कुरा थाहा पाएँ, त्यसलाई सच्याउने कि नसच्याउने ? जो सच्चिँदैन, ऊ जड हुन्छ ।

उसै पनि विश्व साहित्यमा पुनर्लेखन नै नभएका होइनन्, यस्ता सयौं उदाहरण छन् । महाभारतका पात्रमाथि लेख्नु, ऐतिहासिक विषयमा लेख्नु, एउटा साहित्यकारले लेखेका विषयमा अर्को साहित्यकारले लेख्नु अति सामान्य कुरा हुन् ।

मैले आफैं ‘मकैको अर्को खेती’ नामक नाटक लेखेँ । त्यो राणाकालमा कृष्ण अधिकारीको मकैको खेती पुस्तकको पुनर्लेखन हो ।

अर्को कुरा, मैले पुस्तकका विषयवस्तु चलाएको होइन, भाषामा सरलता ल्याउने प्रयास मात्र गरेको हुँ । घनचक्कर उपन्यास लेख्नुअघि मैले अंग्रेजी भाषामा धेरै लेखेँ । नेपाली लेख्दै जाँदा सरल भाषामा पनि ती कुरा भन्न सकिँदो रहेछ भन्ने बोध भएपछि पुनर्लेखन गरेको हुँ ।

तपाईंले सिद्धान्तका कुरा लेखेर नेपाली लेखकलाई विश्व साहित्यमा चलेको विभिन्न सिद्धान्तको ज्ञान दिनुभयो । तर, कतिपयले के भन्छन् भने तपाईंका पुस्तकहरु आफैँ सिद्धान्तमा छैनन् । के  भन्नुहुन्छ ?

म सिद्धान्तबाट मुक्त हुन आख्यान लेख्छु । खुसी उत्पादन गर्न लेखिएका कुराभित्र सिद्धान्त नहुन सक्छ । खुसी हुन बाहिरी बुद्धि आवश्यक पनि छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment