२१ वैशाख, काठमाडौं । भारतका चार राज्य र एक केन्द्र शासित प्रदेशमा सम्पन्न विधानसभा चुनावको मतगणना जारी छ ।
पश्चिम बंगालमा जारी मतगणनाको सुरुवाती रुझानमा सत्तारूढ तृणमूल कांग्रेस (टीएमसी) लाई पछि पार्दै भारतीय जनता पार्टी (भाजपा) ले अग्रता लिएको छ ।
बीबीसीले ‘डेटानेट’ को हवाला दिँदै टीएमसी १२७ र भाजपा १४७ सिटमा अग्रता लिएको छ ।
असममा भाजपा कांग्रेसभन्दा धेरै अगाडि देखिएको छ । रुझानअनुसार भाजपाले ६६ र कांग्रेसले २० सिटमा अग्रता लिएको छ ।
तमिलनाडुमा मुख्यमन्त्री एमके स्टालिनको डीएमकेले ८७ सिटमा अग्रता बनाएको छ । यहाँ विपक्षी एआईएडीएमके ३७ सिटमा अगाडि छ । अभिनेता विजयको पार्टी टीवीकले २१ सिटमा अग्रता लिएको छ ।
यस्तै केरलमा कांग्रेस नेतृत्वको युनाइटेड डेमोक्रेटिक फ्रन्ट (यूडीएफ) ५० र सत्तारूढ लेफ्ट डेमोक्रेटिक फ्रन्ट ३९ सिटमा अगाडि छ ।
असम, केरल र पुडुचेरीमा ९ अप्रिल र तमिलनाडुमा २३ अप्रिलमा मतदान भएको थियो । पश्चिम बंगालमा २३ र २९ अप्रिलमा मतदान भएको थियो ।
मतगणना चलिरहँदा पश्चिम बंगाल विधानसभा चुनावको नतिजामा सबैको ध्यान छ । यहाँ कयौं एग्जिट पोलहरूले सत्तारुढ टीएमसी र भाजपाबीच कडा प्रतिष्पर्धा हुने अनुमान गरेका छन् ।
असम र पुडुचेरीमा अधिकांश एग्जिट पोलमा भाजपाको ‘कम व्याक’ हुने अनुमान लगाइएको छ । केरल र तमिलनाडुमा अधिकांश एग्जिट पोलमा यूडीएफ र डीएमकेको सरकार बन्ने अनुमान गरिएको बीबीसीले जनाएको छ ।
प्रतिक्रिया 4