Comments Add Comment

‘चिनियाँ राष्ट्रपति आउँदा माग्ने मात्रै काम नगरौं’

झिनामसिना कुरामा भन्दा ठूला आयोजना र पूर्वाधारमा जोड

११ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ अक्टोबरको तोस्रो सातातिर नेपाल भ्रमणमा आउँदैछन् । २३ वर्षपछि हुन लागेको चिनियाँ राष्ट्रपतिको भ्रमणलाई लिएर नेपालमा सरगर्मी बढेको छ ।

तर, सरकारीस्तरको तयारी हेर्दा भने भ्रमणबाट नेपालले ठूलै उपलब्धी हात पार्ला भन्ने अहिलेसम्म छाँटकाँट देखिँदैन । भ्रमणमा नेपाल र चीनबीच रेल सम्झौता हुने चर्चा भए पनि नेपालको तर्फबाट ठोस तयारी छैन ।

यसअघि चिनियाँ विदेशमन्त्रीको भ्रमणमा झिनामसिना लेनदेन गरेर आलोचित बनेको सरकार राष्ट्रपतिको भ्रमणमा पनि चुक्न सक्ने पर्याप्त जोखिम छ ।

विज्ञहरु भने यो भ्रमणलाई नेपालले जसरी पनि आफ्नो हितमा प्रयोग गर्नुपर्ने बताउँछन् । खासगरी नेपालले चीनसित पूर्वाधार निर्माणको विषयमा ठोस छलफल र सम्झौता गर्नुपर्ने उनीहरुको सुझाव छ ।

विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको मुलुकबाट नेपालले धेरै अपेक्षा गर्न सक्ने भए पनि नेपाल केवल मगन्तेको शैलीमा प्रस्तुत हुन नहुने विज्ञको सुझाव छ ।

प्रस्तुत छ, अनलाइनखबरसँगको कुराकानीमा विज्ञहरुले व्यक्त गरेको धारणा-

ठूला र अर्थपूर्ण आयोजनाको पहल गर्नुपर्छ- राधेश पन्त, लगानी बोर्डका पूर्वसीईयो

चिनियाँ उच्चस्तरीय भ्रमणमा नेपालले दुई देशबीच कनेक्टिभीटीका पूर्वाधारमा जोड दिनु सबैभन्दा महत्वपूर्ण हुन्छ । पूर्वाधार निर्माणमा चीनको अनुभव राम्रो छ ।

सडक, रेल वा हवाई लगायत अरु के हुन सक्छ, त्यसमा नेपालले ध्यान दिनुपर्छ । दुई देशबीचको व्यापारमा नेपाल पछाडि पर्नुको एउटा मुख्य कारण कमजोर पूर्वाधार पनि हो ।

यो भ्रमणमा नेपालले धेरै योजना पस्केर भन्दा पनि यसअघि नै निक्र्यौल गरिएको आयोजनामा नमूना विकासको मोडलका रुपमा काम गर भनेर चीनियाँ पक्षलाई आश्वस्त गराउन सक्नुपर्छ । जस्तो- बुढीगण्डकी परियोजना बनाएर देखाउ वा सिगात्सेबाट काठमाडौं रेलले जोडिदेउ जस्ता अर्थ राख्ने आयोजनामा नेपालले ध्यान दिनुपर्छ ।

नेपालका विविध आयोजनामा नेपाल र चीनबीच भएको विवाद र समस्याहरु यो भ्रमणले सल्ट्याउनुपर्छ । जस्तो- मेलम्चीको काउण्टर ग्यारेन्टी अझै नेपाली बैंकले पाएका छैनन्, चिनियाँ पक्षले पाएका केही आयोजनाहरुको प्रगति राम्रो छैन, यस्ता विषय चीनप्रति अविश्वासको संकेत हुन्् ।

विश्व अर्थतन्त्रको महाशक्तिको रुपमा उदाउँदै गरेको चीनले नेपाल विकास गर्दा उसलाई घाटा छैन, यसर्थ विश्व राजनीति लेनदेन (गिभ एण्ड टेक) पनि हो । चीन आफ्नो स्वार्थका लागि नेपालमा के-कस्तो विकास गरिदिन चाहन्छ, नेपाली नेतृत्वले त्यो बुझ्नुपर्छ र त्यसै अनुसार डिल गर्नुपर्छ ।

भूराजनीतिक महत्व नबुझी आफ्ना एजेण्डा मात्रै प्रस्तुत गरियो भने त्यो कमजोर भइदिन सक्छ । नेपालको अर्को नराम्रो प्रवृत्ति सधैँ अनुदान माग्ने भन्ने मात्र छ, माग्ने मात्रै काम नगरौं ।

पूर्वाधारमा निर्माणमा अडान आवश्यक- रवी शंकर सैँजु, वाणिज्य विज्ञ

ब्यापारका सम्बन्धमा नेपाल-चीन छलफल बार्ता भइरहेकै छ । सी भ्रमणममा पूर्वाधार निर्माणमा नेपालले अडान राख्नु आवश्यक छ । चाहेर, नचाहेर हामि भोलि ट्रान्जिट मुलुकका रुपमा विकास हुने नै हो । दुई विशाल मुलुकको बीचमा स्थायी र दीर्घकालीन ब्यापार पूर्वाधार भयो भने  नेपालमा लगानीको वातावरण बढ्ने कुरामा दुई मत छैन ।

चीन चाहन्छ कि नेपाल भएर भारतको ठूलो बजारमा प्रवेश गरौं । भारत पनि पक्कै चाहन्छ, नेपाल हुँदै चीन पस्न पाइयोस् । कम्तिमा नेपालमा आउने लगानीले चीन र भारतको ठूलो बजारलाई देखोस् भन्ने हेतुले नेपालले तयारी गर्नुपर्छ ।

रेल, सडकजस्ता पूर्वाधार आवश्यक रहेको कुरा राष्ट्रपति सीलाई नेपालले बुझाउनु सक्नुपर्छ । केही नाकाहरुको सञ्चालनबारे चीनले बोलेको र अग्रसरता देखाएको छ । तर, पूर्वको नाका खोल्नेबारे नेपालले कुरा राख्न सक्नुपर्छ ।

मेनु छोटो तर महत्वपूर्ण होस्- टंक कार्की, चीनका लागि पूर्वराजदूत

नेपाल अल्पविकसित मुलुक हो । विकासको आकांक्षा पूरा गर्नका लागि स्रोत अभाव छ । पूर्वाधार विकासका लागि सडक, रेल, हवाई जस्ता विषयमा नेपालले चीनबाट लिनुपर्ने सहयोग धेरै हुन सक्छ ।

चिनियाँ विदेशमन्त्रीले पनि नेपालले अघि सारेको योजनामा चीन सहयोगका लागि तयार छ भनेका छन् । यसको मतलब, अब बल नेपालको कोर्टमा छ । अब लामो ‘मेनु’ लिएर होइन कि नेपालको प्राथमिकता क्रम तोकेर नेपालले चीनलाई बुझाउन सक्नुपर्छ । सरकारले निश्चित मुद्दामा आफ्नो धारणा बनाउन ढिलाई गर्नुहुँदैन ।

चीनसँग भएको प्रविधि र पूँजी नेपालले कसरी आफ्नो हितमा प्रयोग गर्ने भन्नेमा  नेपाल सरकारको ध्यान जाओस् । तर, बुझ्नुपर्ने महत्वपूर्ण कुरा के हो भने नेपालको प्रतिवद्धतामा चीन आश्वस्त भने हुनैपर्छ ।

विकासको ध्येयका निम्ति नेपालले आफ्ना छिमेकी मित्रहरुको सहयोग लिनु अनिवार्य छ । तर, सहयोगका नाममा राजनीतिक वा सामरिक स्वार्थ भारत वा चीनबाट भित्र्याउन जरुरी छैन । विकासका लागि मित्र मुलुकहरुसँगको सहयोगले नेपालमा भित्रिने लगानी सबैको हितकर पनि हुन्छ ।

झिनामसिना कुरामा भन्दा पूर्वाधार सहयोग लिनुपर्छ- कल्याण शर्मा, चीन विज्ञ

नेपालले चीनसँग सिक्न सक्ने मुख्य विषय भनेको पूर्वाधार विकास नै हो । चीनले पूर्वाधारमा गरेको लगानी नेपालका लागि रोल मोडल हुन सक्छ । नेपाली भूगोलमा चिनियाँ पूर्वाधार ज्ञानमार्फत नेपाल चीनसँग जोडिने बलियो सेतु हुन सक्छ ।

नेपालमा निकै लामो समयपछि भएको यो भ्रमणमा चिनियाँ पक्ष केही दिन चाहन्छ । तर, नेपालले कसरी तयारी गर्छ, त्यसैमा उनीहरुको निर्णय आउला । झिनामसिना कुरामा भन्दा पनि नेपालले पूर्वाधारलाई आधार बनाएर चीनसँग सहयोग लिनका लागि तयारी गर्नु उचित हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment