Comments Add Comment

राजधानीमै पुनर्निर्माणको गति कमजोर, ३४ प्रतिशतले मात्रै बनाए आवास   

११ असोज काठमाडौं  । काठमाडौँ उपत्यकाभित्र नै भूकम्पपछिको पुनःनिर्माणको कामले गति लिन नसकेको पाइएको छ । भूकम्प प्रभावित अन्य जिल्लामा पुनःनिर्माणले गति लिएको र ८५ प्रतिशतको हाराहारीमा प्रगति हुन लागेका बेला उपत्यका भने पुनःनिर्माणको अवस्था दुरुहपूर्ण नै रहेको छ । प्राधिकरणका अनुसार उपत्यकाको पुनः निर्माण ३४ प्रतिशतको हाराहारीमा मात्रै रहेको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका अनुसार उपत्यका तीन जिल्लामा हालसम्म मात्रै ३१ हजार ४३० जनाले मात्रै तेस्रो किस्ताबापतको रकम लिएका छन् । पुनःनिर्माणको अवस्था पनि असाध्यै कमजोर रहेको छ ।

प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेका अनुसार काठमाडौँ जिल्लामा कूल लाभग्राहीको सङ्ख्या ४७ हजार ६६४ रहेकामा ४१ हजार ७२८ ले अनुदान सम्झौता गरेका थिए । अनुदान सम्झौता गरेकामध्ये आधाभन्दा कम अर्थात् ३० प्रतिशत जतिले मात्रै दोस्रो किस्ताबापतको रकम लिएका छन् । प्राधिकरणका अनुसार कूल १७ हजार ७८३ घरधनीले मात्रै दोस्रो किस्ताबापतको रकम लिएका हुन् । तेस्रो किस्ता लिनेको सङ्ख्या भने १४ हजार ७२ मात्रै रहेका छन् ।

यस्तै ललितपुरमा ‘गोरखा भूकम्प’ का कारण प्रभावित हुने लाभग्राहीको सङ्ख्या २८ हजार ४६३ रहेकामा अनुदान सम्झौता गर्नेमा २५ हजार ५४ रहेका छन् । पहिलो किस्ता सङ्ख्या २४ हजार ९२८ छ भने दोस्रो किस्ता ११ हजार १४७ घरधनीले मात्रै लिएका छन् । त्यस्तै तेस्रो किस्ता लिनको सङ्ख्या मात्रै आठ हजार ७०० रहेको छ ।

भक्तपुरको अवस्था पनि त्यस्तै रहेको छ । भक्तपुरमा कूल २८ हजार ४२६ जना लाभग्राहीको सूचीमा रहेका छन् । सो सूचीमा समावेश भएकामध्ये २४ हजार ५५१ ले पहिलो किस्ता, आठ हजार ७५९ ले दोस्रो किस्ता र आठ हजार ६५८ ले मात्रै तेस्रो किस्ताबापतको रकम लिएका छन् । उपत्यकाभित्र एक लाख चार हजार ५५३ लाभग्राही रहेकामा ९१ हजार ३३३ ले अनुदान स्म्झौता गरेका थिए ।

त्यस्तै ९१ हजार २०७ ले पहिलो किस्ता लिएकामा ३७ हजार ६८९ ले दोस्रो किस्ता लिँदा तेस्रो किस्ता लिनेको सङ्ख्या मात्रै ३१ हजार ४३० रहेका छन् । प्रतिशतका आधारमा हेर्ने हो भने कूल ८७ दशमलव ३६ प्रतिशतले अनुदान सम्झौता गरेकामा ९९.८ प्रतिशतले पहिलो किस्ता लिए । दोस्रो किस्ता लिने ४१ दशमलव २६ र तेस्रो किस्ता लिने ३४ दशमलव ४१ प्रतिशत रहेको छ ।

प्राधिकरणको विवरणअनुसार काठमाडौँमा २२ हजार ५८७ ले मात्रै घर निर्माणको काम शुरु गरेका छन् । घर निर्माण सम्पन्न गर्नेमा ११ हजार ९७१ छन् भने घर पुनःनिर्माण गर्दै गरेकामा मात्रै १० हजार ६१६ रहेका छन् ।

उता ललितपुरमा १२ हजार १३८ ले घर निर्माण शुरु गर्दा, पाँच हजार ३९२ ले निर्माण सम्पन्न गरेका छन् । त्यस्तै भक्तपुरमा ११ हजार ७०८ ले घर निर्माण शुरु गरेका छन् । आठ हजार ४०२ ले घर निर्माण सम्पन्न गर्दा तीन हजार २८८ ले घर पुनःनिर्माण गर्दै गरेको अवस्था रहेको छ ।

भूकम्प अति प्रभावित १४ जिल्लाका आधारमा हेर्दा अनुदान सम्झौता गर्ने ९५ प्रतिशत रहेका छन् । यस्तै पहिलो कित्ता लिने ९९ प्रतिशत, दोस्रो किस्ता ७८ प्रतिशतले लिँदा तेस्रो किस्ता समेत ६४ प्रतिशतले लिएका छन् । प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेका अनुसार शहरी क्षेत्रको पुनःनिर्माण अपेक्षाकृत ढङ्गले अगाडि बढ्न सकेको छैन । समयमै पुनःनिर्माण सम्पन्न गर्न उपत्यकाको पुनःनिर्माणको चुनौतीका रुपमा रहेको छ ।

शहरी क्षेत्रमा लाभग्राहीले रु तीन लाखको अनुदान लिई घर बनाउन अनिच्छुक देखिएका छन् । उपत्यकामा घर निर्माणको लागत बढी हुँदा रु तीन लाख न्यून देखिएको छ । क्षतिग्रस्त घर थोरै जग्गामा बनेका र हाल बनाउँदा नगरपालिकाको मापदण्ड पालना गर्नुपर्ने भएकाले पनि कठिनाइ उत्पन्न भएको निष्कर्षमा प्राधिकरण पुगेको छ ।

यस्तै एउटै घरमा धेरै परिवार बस्ने गरेको, अंशबण्डाका समस्या रहेको र मुद्दा पनि धेरै परेको पाइएको छ । क्षतिग्रस्त घर भत्काउँदा अर्कोलाई असर पर्ने र भूमिहीनको समस्या, सहुलियत ऋण प्रभावकारी हुन नसक्ने जस्ता कारणले पनि उपत्यकाको पुनःनिर्माणले गति लिन नसकेको पाइएको छ ।

यस्तै भूकम्प प्रभावित अन्य जिल्लामा प्राधिकरणको नीतिगत व्यवस्थाका बारेमा जानकारी भए पनि उपत्यकाभित्र भूकम्प प्रभावितले कम मात्रैमा जानकारी पाएका छन् । स्थानीय सरकार अन्य काममा बढी व्यस्त हुँदा पुनःनिर्माणको काम कम प्राथमिकतामा पर्ने गरेको छ भने साझेदार संस्थाको कम सक्रियता एवं संलग्नता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment