Comments Add Comment

कुन दिशामा कत्रो बनाउने घरको मूलद्वार ?

घरको सबैभन्दा प्रमुख द्वार नै घरको मुख हो । त्यसको कारण यसको स्थान चयनमा वास्तुशास्त्रले महत्व दिएको छ । कुन दिशामा घरको मूल द्वार बनाउने भन्ने विषय महत्वपूर्ण हुन्छ । घर निर्माणको क्रममा द्वार राख्ने सम्बन्धी शास्त्रीय मान्यता अनुसार घर बनाउने ठाउँबाट घरबाहिरको बाटो तर्फ फकिएर जग हालेको कूल क्षेत्रफललाई ९ भागमा विभाजन गर्नु पर्दछ । यसरी द्वार बनाउने दिशा पहिचान गर्नेबेलामा आफ्नो जमिनबाट बाटोको तर्फ हेरेर उभिनुपर्छ । त्यसबाट दाहिनेतर्फ ५ भाग र बायाँ तर्फबाट ३ भाग छाडेर बाँकी रहेको भागमा द्वार राख्नु पर्दछ ।

द्वार राख्ने विषयमा वास्तुसौख्य शास्त्रमा भनिएको छ –

नवभागं गृहं कृत्वा पञ्चभागं तु दक्षिणे

त्रिभागं वामतः कृत्वा शेषं द्वारं प्रकल्पयेत्

मुख्य द्वारको स्थापनामा केही विचारणीय तथ्य यस प्रकारको छ ।

–गृहमध्ये कृतं द्वारं द्रव्यधान्यपवनाशनम् ।

अर्थात् आवाशीय गृहको मध्ये भागमा प्रमुख द्वार हुनुहुँदैन ।

–मुख्य द्वार कुनै एक कुनामा समेत हुनुहुँदैन ।

–मुख्य द्वार स्थापित गर्ने समयमा यो कुरा पनि ध्यानमा राख्नु पर्दछ कि द्वार वास्तुमण्डलको शिराहरु एवं वंश (वास्तुमण्डलको रेखा) तथा वास्तुमण्डलको मर्म स्थल हुनु राम्रो मानिन्छ । साथै द्वार निर्माण गर्दा तल उल्लेख गरिए जस्तो निर्माण गर्नुहुँदैन ।

शिरामर्माणि वंशाश्च नालमध्यं त सर्वशः

विहाय वास्तु मध्यं च द्वाराणि विनिवेशयेत् (वास्तुसौख्य)

–घरको ढोका आफ्नो खुल्ने र आफैं बन्द हुने स्वभावको हुनु हुँदैन । शास्त्रका अनुसार यस्तो भएमा यसले कूलको नाश गर्ने वास्तु शास्त्रहरुमा बताईएको छ । यस विषयमा बृहत्संहितामा भनिएको छ ।

उन्मादः स्वयमुद्घाटितेडथ पिहिते स्वयं कुलविनाशः

यस श्रेणीमा यन्त्र चालित द्वारको समेत प्रयोग गर्नु हुँदैन । किनकी यो कार्य स्वतः हुने भएपनि यो यन्त्रद्वारा नै सञ्चालित हुने गर्दछ ।

–द्वारलाई नियम अनुसार नै बनाउनु पर्दछ । अधिक ठूलो द्वार हुँदा राजकूलबाट भय एवं सानो द्वार हुँदा चोरहरुद्वारा भय हुने गर्दछ । यस विषयमा पनि वृहद् संहितामा भनिएको छ –

मानाधिके नृपभयं दस्युभयं व्यसनमेव नीचे न

–द्वारको आकृति भव्य खालको र राम्रो हुनुपर्ने शास्त्रीय मान्यता छ । जसरी मुख्य द्वारमा भव्य प्रकारको सजिसजाउ गर्न सकिन्छ । त्यस्तो सजिसजाउ अरु द्वारहरुमा गर्नुहुँदैन । गृहको मुख्य द्वारको सजावट कलश, श्रीफल, पत्र, सुन्दर स्त्री तथा अन्य आकृतिहरुद्वारा हुनु पर्दछ ।

–मुख्य द्वारको सम्मुखमा पीठहरु, रुद्र एवं सूर्यको प्रतिमा, वामन, ब्रह्मा आदिको प्रतिमूर्ति आवश्यक पर्दछ ।

–एउटा द्वारको ठीक माथिल्लो द्वार र अर्काे घरको सम्मुख पर्नेगरी आफ्नो घरको मूलद्वार राख्नु हुँदैन ।

– द्वारको सम्मुखमा राजमार्ग, कोण, वृक्ष, स्तम्भ, कुवा, फोहोर नाली, देवता एवं देवतुल्य व्यक्तिको प्रतिमा आदि राख्नुहुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment