Comments Add Comment

दशैंको फूलपातीमा ‘डराइरहने दाङ, कराइरहने काठमाडौं’

घोराहीमा साहित्य महोत्सव आयोजना हुँदै

१२ असोज, दाङ । दाङमा १८ असोजमा एकदिने साहित्य महोत्सव हुने भएको छ । साहित्य तथा कला क्षेत्रमा क्रियाशील संस्था उदाहरण समूहले फूलपातीको अवसर पारेर महोत्सव गर्न लागेको हो ।

‘समूहले विगत ५ वर्षदेखि विभिन्न साहित्य, कला र रंग क्षेत्रमा कार्यक्रम गर्दै आइरहेको छ,’ महोत्सव संयोजक नवीन अभिलाषीले भने, ‘यस पटकको कार्यक्रम अलि फरक किसिमले गर्दैछौं । यो कार्यक्रममा बहस बढी हुनेछ ।’

‘दाङ लिटरेचर मिनी-फेस्टिभल’ नाम दिइएको कार्यक्रममा साविक राप्ती क्षेत्रमा जन्मिएर बाहिर रहेका साहित्यकारको प्रस्तुति रहने आयोजकले जनाएको छ । मिनी महोत्सव ३ सेसनमा चल्नेछ ।

आयोजकले दिएको जानकारी अनुसार मोफसल र राजधानीबीच साहित्यमा बढिरहेको दूरीबारे ‘डराइरहने दाङ र कराइरहने काठमाडौं’ शीर्षकमा पूर्वप्राज्ञ तथा वरिष्ठ समालोचक डा. अमर गिरी, कथाकार नवीन विभाष र कवि विष्णु सन्न्यासबीच बहस हुने छ ।

‘सुदूरका सञ्चारमा सिर्जना’ सेसनमा सञ्चार क्षेत्रमा राप्तीको उपस्थितिबारे बहस हुने भएको छ । ‘यस सेसनमा राप्ती साहित्य परिषदका वरिष्ठ उपाध्यक्ष टीकाराम उदासी, बाह्रखरीका साहित्य तथा कला सम्पादक लेनिन बन्जाडे र पत्रकार नरेन्द्र केसीबीच बहस हुने छ,’ समूहका सदस्य घनश्याम अस्तित्वले भने ।

महोत्सवको तेस्रो सत्र ‘गाउँ फर्किरहेका अक्षरहरु..’मा दशैंको अवसर पारेर घर फर्किएका दर्जन बढी कविले आफ्ना रचना राख्नेछन् । महोत्सवमा राप्तीको भूगोलबाट काठमाडौं र अन्य बाहिरी जिल्लामा बस्ने १ सय ५० बढी कवि, लेखक, पत्रकार, कलाकार, समालोचक, राजनीतिक व्यक्तित्वको सहभागी हुने आयोजकले जनाएको छ ।

नेपाली कला, साहित्य र संगीतको क्षेत्रमा मोफसलमा सिर्जनात्मक र हस्तक्षेपकारी भूमिका खेल्ने उद्देश्यले २०७१ सालमा कलेज कविता अभियानमार्फत सुरु भएको युवा श्रष्टाहरुको यो अभियान २०७३ सालदेखि ‘उदाहरण समूह’मा परिवर्तन भएको थियो । समूहले हालसम्म ‘गणतन्त्र र कविताहरु’, ‘५० नाघेका कवि र कविताहरु’, ‘चुल्हो नाघ्दै आगोका कविताहरु’, ‘भिडियोमा कविताहरु’ लगायत दर्जन बढी रचनात्मक कार्यक्रम गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment