Comments Add Comment

नेकपाको चियापानमा एक लाखलाई निम्ता

१२ असोज,काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले नेपालीहरुका मुख्यपर्वको अवसरमा आयोजना गर्न लागेको चियापानका लागि एक लाख जनालाई निम्ता गर्ने भएको छ ।

आइतबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको चियापान तयारी बैठकले सोमबारदेखिनै निमन्त्रणा कार्ड वितरण गर्ने निर्णय गरेको हो । महासचिव विष्णु पौडेलको उपस्थितिमा बसेको बैठकले एक लाख कार्ड प्रकाशन गरी वितरण गर्नेलगायतका तयारी थालेको छ ।

नेकपाले असोज २९ गते भृकुटीमण्डपमा मध्यान्ह १२ देखि साँझ ५ बजेसम्म चाडपर्वको शुभकामना आदानप्रदान तथा चियापान आयोजना गर्दैछ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चियापान आयोजना गरेका हुन् ।

दशैं, तिहार, छठ, नेपाल संवत, इद, ल्होसार लगायतका नेपाली जनताका चाडपर्वको अवसरमा पार्टीले शुभकामना आदान प्रदान आयोजना गरेको केन्द्रीय कार्यालय सचिव ईश्वरी रिजालले बताए ।

चियापानमा कुटनीतिक नियोग, उद्योगी व्यवसायी, कलाकार, संवैधानिक अंग, राष्ट्रसेवक, विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता र राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तित्वहरुलाई निम्ता गरिएको छ ।

तत्कालिन एमालेका अध्यक्ष मनमोहन अधिकारीले थालेको शुभकामना तथा चियापान कार्यक्रमलाई नेकपाले निरन्तरता दिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment