Comments Add Comment

घुम्न आउने निम्तो दिन गण्डकीका मन्त्री वीरगञ्जमा

एक मानेमा के छ के छ दुई मानेमा दही छ
घुम्नै पर्ने ठाउँ जति गण्डकीमा रहेछ
आउनुस हजुर एकचोटी,
विन्ती कोटी कोटी,
पोखरा आउनुस एकचोटी

लोकगायक प्रजापति पराजुलीले वीरगञ्जमा आइतबार यस्तो गीत गुन्गुनाए । आन्तरिक पर्यटन प्रर्द्धनका लागि गण्डकी प्रदेशले आयोजना गरेको कार्यक्रममा पराजुलीले गीतमार्फत घुम्न आउन निम्तो दिएका हुन् ।

गण्डकी प्रदेश सरकारले सन् २०१९ देखि २२ सम्म आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ । त्यसका लागि प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले गण्डकी पर्यटन प्रवर्द्धन अभियाननै सञ्चालन गरिरहेको छ । असोज ९ गतेदेखि शुरु गरिएको अभियानको टोली आइतबार वीरगञ्ज आइपुगेको हो ।

प्रदेशका पर्यटनमन्त्री विकास लम्सालले वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीमार्फत वीरगञ्जवासीलाई निम्तो दिए । ‘प्रदेश सरकार गठन भइसकेपछि कसरी विकास गर्ने ? भन्नेबारे छलफल भयो । हामीले पर्यटनलाई पहिलो प्राथमिकतामा राख्यौं, उर्जा, अर्गानिक कृषि, र उद्योगधन्दालाई क्रमशः दोस्रो, तेस्रो र चौथो आधारको रुपमा लिएका छौं । त्यसैगरी पूर्वाधार विकास र दक्ष जनशक्ति उत्पादनलाई पनि हामीले समृद्धिको आधारको रुपमा क्रमशः पाँचौ र छैठौं स्थानमा राखेका छौं’ उनले भने ।

मन्त्री लम्सालले गण्डकी प्रदेशमा आउने पर्यटकका लागि खाद्यान्न वीरगञ्जले पठाउनुपर्ने बताए ।

गण्डकी प्रदेश सरकारले गण्डकी एयरलाइन्स नै खोलेर भए पनि ७ वटै प्रदेशमा हवाई मार्गसँग जोडने तयारी गरेको जानकारी उनले दिए । होम स्टेमा ३० करोड खर्चदा आलोचित भए पनि १ अर्ब रुपैयाँ भन्दा बढीको फाइदा भएको मन्त्री लम्सालले बताए ।

कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले जलस्रोतबाट भन्दा बढी आन्दानी पर्यटनबाट हुन सक्ने बताए । ‘पहाड र ताल मात्रै देखाएर हुँदैन, पर्यटकलाई टिकाउने अन्य गतिविधिहरु पनि गर्नुपर्छ’ उनले भने ‘कसरी जाने, कस्तो वातावरण छ भन्ने जानकारी पर्यटकलाई दिन सक्नुपर्छ ।’

पोखरा पर्यटन परिषदका अध्यक्ष चिरञ्जीवि पोखरेलले प्रदेश नं २ र गण्डकी प्रदेशको पर्यटनलाई जोडर समृद्धि हासिल गर्न सकिने बताए । ‘गण्डकी प्रदेशमा लोमान्थाङदेखि त्रिवेणीसम्म भौगोलिक तथा साँस्कृतिक विविधता छ’ उनले भने ‘तालैतालको सहर पोखरा छ, सहासिक खेलहरु बञ्जिङ जम्प, प्याराग्लाईडिङ जस्ता खेल खेल्न पाइन्छ । प्रदेश नं २ र गण्डकी प्रदेशबीच सहकार्य गरेर समृद्धिको यात्रा तय गर्न सकिन्छ ।’

गण्डकी पर्यटन प्रवर्द्धन अभियानका संयोजक जुद्धबहादुर गुरुङले प्रदेश ५, ३, २ र १ मा कार्यक्रम गरिसकेपछि तिहारपछि बाँकी प्रदेशमा समेत अभियान सञ्चालन गर्ने बताए ।

किन जाने गण्डकी प्रदेश ?

गण्डकी प्रदेश प्राकृतिक, भौगोलिक, जैविक, सामाजिक, साँस्कृतिक, आर्थिक लगायत दृष्टिले सम्पन्न प्रदेश हो । विश्वमै प्रसिद्ध अन्नपूर्ण तथा मनास्लु क्षेत्र, विश्वको सर्वोच्च उचाइमा रहेको तिलिचो ताल (४९१९ मिटर), विश्वकै होचो काली गण्डकी गल्छी, म्याग्दीको रुप्से धर्ना, काली गण्डकी नदी पनि यही प्रदेशमा छ ।

नेपालको पर्यटकीय राजधानीको रुपमा चिनिने पोखरा पर्यटकको आकर्षणको केन्द्र हो । पोखराबाट धवलागिरी र अन्नपूर्ण हिमश्रृंखला देख्न सकिन्छ । देशको एक मात्र शिकार आरक्ष ढोरपाटन गण्डकीमै छ । लोपोन्मुख हिउँचितुवा, कस्तुरी मृग, हाब्रे जस्ता जनावर, यार्सागुम्बा, भोटे लसुन, डालेचुक, क्यान्सरको उपचारका लागि प्रसिद्ध लौठसल्लादेखि लालिगुराँसको घना जंगल (घोरेपानी), सुनाखरीको राजधानी (पञ्चासे लेक) गण्डकी प्रदेशमै पर्छ । फेवाताल, बेगनासताल, रुपाताल जस्ता तालतलैया, सहासिक खेलहरु गण्डकी प्रदेशमा पुग्ने पर्यटकलाई अल्झाउँछ ।

मध्यकालीन चौबिसे राज्यको रुपमा रहेका कास्की, लमजुङ तनहुँ, गोरखा, रिसिङ, ढोर दरबार, घिरिङ र पुर्कोट यसैमा पर्छ । पुरातात्विक महत्वका विभिन्न दरबारले पनि पर्यटकलाई भुलाउँछ ।

हिमालपारीको जिल्ला मुस्ताङ स्थित जोमसोम, लोमान्थाङ, मुक्तिनाथ मन्दिर, कागबेनी लगायतका धार्मिक तथा पर्यटकीय स्थल, म्याग्दी स्थित ढोरपाटन आरक्ष, बेनी शिवालय,धवलागिरी हिमाल, गुज्र्रा हिमाल, मानापाथी हिमाल, हिमनदी, पुनहिल, तातोपानी कुण्डहरु छन् । त्यस्तै बाग्लुङ, पर्वत, स्याङजा, कास्की, लमजुङ, मनाङ, गोरखा, तनहुँ, नवलपुर जिल्लाका धार्मिक, ऐतिहासिक, प्राकृतिक मनोरम धरोहरहरु पर्यटकलाई आकर्षित बनाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment