Comments Add Comment

नेपाल दक्षिण एसियाकै पहिलो खुला दिसामुक्त देश

खुला दिसामुक्त देशको औपचारिक घोषणा आज

१३ असोज, काठमाडौं । नेपाललाई सोमबार खुला दिसामुक्त देश घोषणा गरिँदैछ । खुला दिसामुक्तको मानक पूरा गर्ने नेपाल दक्षिण एसियाकै पहिलो देश हो ।

प्रत्येक घरधुरीलाई चर्पीको पहुँचमा पुर्‍याउने मानक पूरा गरेपछि खुला दिसामुक्त नेपाल घोषणा गर्न लागिएको हो । खुला दिसामुक्त देश घोषणासँगै नेपालको पूर्ण सरसफाइसम्बन्धी पहिलो र महत्वपूर्ण राष्ट्रिय लक्ष्य तथा अन्तर्राष्ट्रिय प्रतिबद्धतासमेत पूरा हुने छ ।

काठमाडौं राष्ट्रिय सभागृहमा सोमबार मध्याह्न आयोजना हुने विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई खुला दिसामुक्त देश घोषणा गर्ने छन् । खुला दिसामुक्त देश घोषणा कार्यक्रमको सबै तयारी पूरा भएको खानेपानी तथा सरसफाइ मन्त्रालयले जनाएको छ । घोषणासभाको पहिलो सेसनको कार्यक्रमअन्तर्गत बिभिन्न कार्यपत्रहरुको प्रस्तुती र साँस्कृतिक कार्यक्रम प्रदर्शनी भने बिहान १० बजेदेखि नै जारी रहने छ ।

२०६८ सालमा सरसफाइ गुरुयोजना बनेपछि खुला दिसामुक्त अभियान सुरु भएको थियो । यो अभियानले शून्य अनुदानमा घरमा चर्पी बनाउने कामलाई कार्यान्वयन गरेको छ

नेपाललाई खुला दिसामुक्त देश घोषणा गर्ने कार्यक्रममा सातै प्रदेशका मुख्यमन्त्रीहरु, जिल्ला समन्वय समिति तथा स्थानीय तहका जनप्रतिनिधिहरुलाई पनि बोलाइएको छ ।

दुई वर्ष ढिला पूरा भएको लक्ष्य

सरसफाइ गुरुयोजनाअनुसार ‘खुल्ला दिसामुक्त भन्नाले खुल्ला रुपमा दिसा नगर्ने अवस्थालाई बुझिन्छ । दिसामा झिँगा बस्न नसक्ने गरी खाल्डोमा ढक्कन लगाइएको अवस्थाले  (चर्पीमा) खुल्ला दिसामुक्त जनाउँदछ । तर ढक्कन नभएको खाल्डोमा दिसा संकलन गरेपछि त्यस अवस्थाले चाहिँ खुल्ला दिसायुक्त अवस्था नै जनाउँदछ ।’

सरसफाइ गुरुयोजना २०६८ ले सन् २०१७ भित्रै सबै घरमा शौचालय निर्माण गर्ने र नेपाललाई खुला दिसामुक्त घोषणा गर्ने लक्ष्य राखेको थियो । तर, लक्ष्यअनुसार काम नहुँदा दुई वर्ष ढिला गरी खुला दिसामुक्त देश घोषणा गर्न लागिएको हो ।

२०६८ सालमा सरसफाइ गुरुयोजना बनेपछि खुला दिसामुक्त अभियान सुरु भएको थियो । यो अभियानले शून्य अनुदानमा घरमा चर्पी बनाउने कामलाई कार्यान्वयन गरेको छ ।

कुन प्रदेशमा कति शौचालय बने ?

राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिका सदस्यसचिव देवेन्द्र झाका अनुसार हाल देशभर ५६ लाख ६० हजार २१४ घरधुरीमा शौचालय बनेका छन् ।

प्रदेश १ मा ९ लाख ६५ हजार २७२, प्रदेश २ मा ९ लाख ३३ हजार ६४९ र प्रदेश ३ मा १६ लाख २२ हजार १९३ घरधुरीमा शौचालय बनेका छन् ।

यसैगरी, गण्डकी प्रदेशमा पाँच लाख ४८ हजार २१०, प्रदेश ५ मा सात लाख ९३ हजार ९९०, कर्णाली प्रदेशमा तीन लाख सात हजार ९६५ र सुदूरपश्चिम प्रदेशमा चार लाख ८९ हजार १२ घरधुरीमा शौचालय बनेका छन् । सदस्यसचिव झाका अनुसार यति शौचालय बनाउन झन्डै ७५ अर्ब रुपैयाँ पूर्णलगानी नागरिकको छ।

‘नागरिकको पूर्ण लगानी र सहभागितामा सफल भएको यो नेपाल सरकारको एक उदाहरणीय कार्यक्रम हो,’ सदस्यसचिव झाले भने ।

पहिलो खुला दिसामुक्त जिल्ला कास्की, अन्तिम भोजपुर

नेपालको पहिलो खुल्ला दिसामुक्त जिल्ला कास्की हो । कास्कीलाई २०६८ असार १० गते नै खुला दिसामुक्त घोषणा गरिएको थियो । खुला दिसामुक्त घोषणा गरिएको नेपालको अन्तिम अर्थात् ७७ औं जिल्ला भोजपुर हो । भोजपुर जिल्लालाई यही असोज ४ गते खुला दिसामुक्त घोषणा गरिएको थियो ।

राजधानी काठमाडौंलाई गत भदौ ३१ गते खुला दिसामुक्त घोषणा गरिएको थियो ।

तर, पर्याप्त आधारबिना हतारमा खुला दिसामुक्त घोषणा गरेको भनेर सरकारको आलोचना पनि हुने गरेको छ । कतिपय घरमा शौचालय नभएको, भएको पनि प्रयोगमा नआएको र सार्वजनिक शौचालय अभाव भएको कारणले पनि खुला दिसामुक्त घोषणा व्यवहारमा कार्यान्वयन हुनेमा शंका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment