Comments Add Comment

दशैं र चिनियाँ राष्ट्रपतिको भ्रमण तयारीले त्रिभुवन विमानस्थललाई दबाव

१३ असोज, काठमाडौं । जहाजमा यात्रुको चाप बढेका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले क्षमता अभिवृद्धिको काम भइरहेको छ । धावनमार्गसँगै जोडिएको समानान्तर ट्याक्सी वे, स्ट्रीट लाइटसहित अन्य बाटो र संरचना पुनर्निर्माणका काम गर्न विमानस्थल दैनिक ७ घण्टा बन्द हुन्छ । खुलेको दैनिक १७ घण्टाको अवधिमा विमानस्थलले पूर्ण क्षमतामा काम गर्नुपर्छ ।

विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीका अनुसार दशैं नजिकिएसँगै विमानस्थलमा यात्रु मात्र होइन, वायुयान र उडान संख्या पनि बढेका छन् । दैनिक तीन सयभन्दा बढी उडान–अवतरण यस विमानस्थलमा हुन्छ । यो ट्राफिक विमानस्थल २१ घण्टा खुलेको अवस्थामा भन्दा पनि बढी हो । किनकी अफ सिजनमा दैनिक ८०–९० अन्तर्राष्ट्रिय र २ सय हाराहारी आन्तरिक उडान हुने गरेको थियो । अहिले उडान–अवतरणको सख्ंया दैनिक ३ सय नाघेको छ ।

अर्कोतर्फ दशैंपछि नेपालमा चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमण हुँदैछ । त्यसको तयारी र व्यवस्थापनको काम पनि विमानस्थललाई थपिएको छ ।

‘एक त हरेक दशैं–तिहारमा विमानस्थलको व्यवस्थापन मुस्किल पर्छ’, महाप्रवन्धक क्षेत्री भन्छन्, ‘त्यसमाथि यसपाली एकातर्फ राष्ट्रपतिको भ्रमणको तयारी गर्नुछ, अर्कोतर्फ ट्याक्सी वे, पार्किङ बेमा समेत संरचना बनिरहेका छन् ।’

सरकारले बुटिक एयरपोर्ट घोषणा गरी यहाँ नेपाली मौलिक शैलीका संरचनाहरुसमेत थपिरहेको छ । यो काम समेत आगामी डिसेम्बरसम्म सकाउनै पर्ने दवाव व्यवस्थापनसँग रहेको छ ।

राष्ट्रपति भ्रमणले प्रभावित हुन्छ उडान–अवतरण

चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणका दौरान आम सर्वसाधारण यात्रुले सास्ती पाउने छन् । सरकार चिनियाँ राष्ट्रपतिको भ्रमणमा कुनै पनि सुरक्षा मामलामा सम्झौता गर्ने पक्षमा छैन । त्यसकारण विमानस्थलमा ‘नोटाम’ जारी हुने र त्यसले अन्य उडान–अवतरण प्रभावित हुने छ ।

यद्यपि यसको सूचना वायुसेवा कम्पनीलाई अग्रिम दिने र कम्पनीले सोहीअनुसार उडान व्यवस्थापन गर्नुपर्ने प्रचलन छ । महाप्रवन्धक क्षेत्रीका अनुसार राष्ट्रपतिको भ्रमण र आम यात्रुको सुविधा दुवैलाई सहज हुने गरी व्यवस्थापन मिलाउने बताउँछन् । त्यसबाहेक विमानस्थललाई सिंगार्ने र सेवा सुविधा बिस्तारका काम पनि यो अवधिमा हुने छन् ।

अंग्रेजी नयाँ वर्षको प्रारम्भसँगै नेपाल भ्रमण वर्ष २०२० शुरु हुन्छ । १ जनवरी २०२० का दिन भ्रमण वर्षकै अवसर पारी त्रिभुवन विमानस्थललाई पनि ‘बुटिक एयरपोर्ट’का रुपमा घोषणा गेर्न तयारी छ । त्यसपछि भने विमानस्थल २४ सैं घण्टा संचालनमा ल्याउने योजना सरकारको रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment