Comments Add Comment

ईजीआरपीलाई निरन्तरता दिने स्थानीय तहका प्रमुखको प्रतिबद्धता

१३ असोज, वीरगञ्ज । पर्साका स्थानीय तहका प्रमुखहरुले राष्ट्रिय प्रारम्भिक शिक्षा पढाई कार्यक्रम (ईजीआरपी) प्रभावकारी देखिएको बताएका छन् । उनीहरुले युएसआईडीले सहयोग नगरे पनि स्थानीय तहले कार्यक्रमलाई निरन्तरता दिने गरी तयारी गर्ने प्रतिबद्धता जनाएका छन् ।

वीरगञ्जमा सोमबार आयोजित जिल्ला स्तरीय नेतृत्व विकास तथा पैरवी कार्यक्रममा कतिपय स्थानीय तहका प्रमुखले ईजीआरपीले १-३ कक्षाकोठा व्यवस्थापनका लागि २ लाख अनुदान नदिएका विद्यालयमा पनि अनुदान दिने घोषणा गरेका छन् ।

कार्यक्रममार्फत जिल्लाका ११५ विद्यालयलाई विद्यालय व्यवस्थापन अनुदान स्वरुप २ लाख रुपैयाँ प्रदान गरिएको थियो । जिल्लामा ३६० वटा विद्यालय छन् ।

वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले शिक्षा र स्वास्थ्यमा स्थानीय तहले ४० प्रतिशत बजेट विनियोजन गर्नुपर्ने बताए । उनले बालबालिकाको बेस राम्रो बनाउन प्रारम्भिक कक्षा पढाई कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

‘माटो पुर्ने, ग्राभेल गर्ने, बाली लगाउनेमा भन्दा शिक्षामा लगानी गर्नुपर्छ । ४० प्रतिशत बजेट शिक्षा र स्वास्थ्यमा अनिवार्य खर्च गर्ने व्यवस्था मिलाउनुपर्छ,’ उनले भने, ‘त्यसरी छुट्याइएको बजेट ५० प्रतिशत पहिल्यै खाने अनि बाँकीले काम गरेजस्तो गर्ने नक्कली तालिममा खर्च गर्ने होइन, प्रभावकारी काम हुनुपर्छ ।’

स्थानीय तहले कार्यक्रमका लागि बजेटको व्यवस्था गर्न सकेपनि प्राविधिक पक्षमा सहयोग आवश्यक पर्न सक्ने उनले औल्याए ।

जिल्ला समन्वय समिति पर्साका उपसभापति ठाकुरप्रसाद न्यौपानेले बालबालिकाको भविष्यका लागि गरेको लगानीले वर्षौसम्म लाभ दिने बताए । ‘बिग्रेर आएको इँटालाई ताछेर सच्याउने भन्दा इँटाको फर्मा नै बदल्नुपर्छ,’ उनले भने, ‘स्थानीय तहले शिक्षा सम्बन्धी कानून बनाउने क्रममै ईजीआरपीलाई ध्यान दिनुपर्छ ।’

पर्सागढी नगरपालिकाका नगर प्रमुख लोक नारायण यादवले पालिकामा ईजीआरपीले विद्यालय व्यवस्थापनका लागि अनुदान दिएको १० वटा विद्यालय र अन्य विद्यालयको शैक्षिक अवस्थामा फरक पाएको बताए । ‘पर्सागढीमा ३० वटा विद्यालय छन्, १० वटामा कक्षा सुधारका लागि २ लाख रुपैयाँ दिएको थियो,’ उनले भने, ‘ती विद्यालयका बालबालिका बाँकी २० वटाका भन्दा अब्बल देखिएका छन् ।’

उनले बाँकी विद्यालयको १-३ कक्षा व्यवस्थापनका लागि नगरपालिकाले बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए ।

पकाहामैनपुर गाउँपालिकाका प्रमुख विजय कुमार चौरसियाले ७ वटा विद्यालयलाई अनुदान आएको र बाँकी १० वटा विद्यालयमा पालिकाले नै अनुदान दिने घोषणा गरे ।

शिक्षा विकास तथा समन्वय एकाई प्रमुख भक्त बहादुर श्रेष्ठले विद्यालय अनुगमनको पाटोलाई ध्यान दिनुपर्नेमा जोड दिए । ‘शिक्षक नियमित विद्यालयमा जान्छन् वा जाँदैनन्, कक्षा कोठामा के-के लिएर पस्छन् । र के गर्छन,’ उनले भने, ‘यति मात्रै ख्याल गर्दा पनि शिक्षामा धेरै सुधार आउँछ ।’

पर्सा जिल्लामा ईजीआरपी कार्यक्रममार्फत सामुदायिक विद्यालयलाई शिक्षण सिकाइ सामग्री, सन्दर्भ पढाई सामग्री वितरण गरिएको ईजीआरपी कार्यक्रमका पर्सा संयोजक भरत सहनीले जानकारी दिए ।

यस्तै, कक्षा १ देखि ३ का १ हजार ९८ शिक्षकलाई १० दिने शिक्षक पेशागत विकास तालिम प्रदान गरिएको उनको भनाइ छ ।

३५६ प्रधानाध्यापक तथा प्राथमिक विद्यालयका इन्चार्जलाई ५ दिने शिक्षक पेशागत सहयोग तालिम दिनुको साथै जिल्ला तह तथा स्थानीय तहबाट विद्यालय अनुगमन समेत गरिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment