Comments Add Comment

गाउँपालिका केन्द्रको विवादलाई कांग्रेसले राजनीतिकरण गरेको नेकपा सांसदको आरोप

१४ असोज, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले आइतबार तनहुँमा कांग्रेस नेता मिनेन्द्र रिजालमाथि आक्रमण प्रयास नभएको र जनताले गाउँपालिका केन्द्र सार्ने निर्णयको बिरोध गर्ने क्रममा रिजालको बाटो छेकेको दावी गरेको छ ।

तनहुँबाट निर्वाचित नेकपाका सांसद कृष्णकुमार श्रेष्ठ (किसान)ले रिसिङ गाउँपालिकाका पदाधिकारीले एकलौटी रुपमा अपायक पर्ने ठाउँमा गाउँपालिका केन्द्र लगेर भवन शिलान्यास गर्न लागेपछि स्थानीय विरोधमा उत्रिएको बताए ।

उनले भने ‘त्यहाँ नेकपामा मान्छेमात्र थिएनन्,सर्वसाधारण जनता र बृद्धबृद्धाहरु समेत सडकमा आएका थिए । गाउँपालिका केन्द्र ढुंगागाडेबाट सार्ने निर्णयको बिरुद्ध आयोजित बन्द सफल पार्न उनीहरुले बाटोमा अवरोध गरेका थिए, त्यसक्रममा रिजालको टोली रोकिएको हो ।’

गत आइतबार गाउँपालिकाको भवन शिलान्यास गर्न गएका कांग्रेस नेता मिनेन्द्र रिजालको टोलीलाई नेकपा कार्यकर्ताले अवरोध गरेका थिए ।

नेपाली कांग्रेसले चुनाव जितेको रिसिङ गाउँपालिकाको केन्द्र सर्वदलीय बैठकबाट सबैलाई बीचमा पर्ने ढुंगागाडे भन्ने ठाउँमा कायम भएको श्रेष्ठले बताए । तर रामचन्द्र पौडेललगायतका कांग्रेस नेताको दबाबमा पोखरीभन्ज्याङमा भवन शिलान्यास गर्न लागिएपछि बिरोध भएको नेकपाले जनाएको छ ।

शिलान्यास कार्यक्रममा भने पौडेल गएका थिएनन् । सेवाग्राहीलाई अपायक पर्ने ठाउँमा केन्द्र लगिएकोमा कांग्रेसकै स्थानीय कार्यकर्ता पनि असन्तुष्ट रहेको सांसद श्रेष्ठले बताए । स्थानीय मुद्दालाई कांग्रेसका नेताहरुलाई राजनीतिकरण गरेर राष्ट्रिय मुद्दा बनाएको आरोप उनको छ ।

श्रेष्ठले भने ‘आक्रमण गरेको भए घाउचोट लाग्थ्यो तर त्यहाँ बन्द आह्वान गरिएकाले स्थानीयले रोकेका हुन् र उनीहरुले रिजाललाई आफ्ना गुनासा समेत सुनाएका छन् । गाउँपालिका केन्द्रको विवादको विषयलाई राष्ट्रिय राजनीतिक इस्यु बनाउँदा क्षणिक फाइदा होला तर स्थानीय समस्या समाधान हुँदैन ।’

केन्द्र सार्ने निर्णयबारे प्रदेश बेखबर

यसैबीच गण्डकी प्रदेश सरकारले तनहुँको रिसिङ गाउँपालिका केन्द्र ढुंगागाडेबाट सार्ने निर्णय अहिलेसम्म प्राप्त नभएको जनाएको छ । गण्डकीका अर्थमन्त्री किरण गुरुङले केन्द्र सार्ने निर्णय गाउँपालिकाबाट प्रदेशमा नआएको बताए ।

तनहुँको सोही क्षेत्रबाट निर्वाचित भएका गुरुङले गाउँपालिका केन्द्र अहिलेसम्म ढुंगागाडेमै रहेको र भवन अन्यत्र शिलान्यास गरिएकोबारे जानकारी नरहेको प्रष्ट पारे । उनले गाउँपालिका केन्द्र सारिएको भए प्रदेश हुँदै संघीय सरकारले निर्णय गर्नुपर्ने समेत स्मरण गराए ।

यो पनि पढ्नुहोस्

‘टाउकोमा बियरको बोतल उज्याए, म मुखैमा गएर उभिएँ’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment