Comments Add Comment

नेकपा कार्यकर्ताले तीन घन्टासम्म मिनेन्द्र रिजालको बाटो छेके

१२ असोज, तनहुँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकर्ताले नेपाली कांग्रेस नेता मिनेन्द्र रिजाललाई तीन घन्टा बाटो छेकेका छन् ।

रिजाल ऋषिङ गाउँपालिकाको भवन उद्घाटन गर्न तनहुँ गएका थिए । तर नेकपाका कार्यकर्ताले ठाउँठाउँमा रुख ढालेर सडक अवरुद्ध गर्ने प्रयास गरेका थिए । ‘कतिपय ठाउँमा त ढुंगामुढाको प्रयास गरे’, नेता रिजालले अनलाइखबरसँग भने, ‘गाउँपालिका प्रवेश गर्ने ठाउँ वडा नम्बर ८ मा तीन घन्टा बाटो छेके ।’

‘भवन निर्माणमा हाम्रो विरोध छ’ भन्दै बाटो छेकेका थिए । आफूले यसबारे छलफल गर्न सकिने तर कार्यक्रमस्थलमा नपुगी कुनै हालतमा नफर्कने अडान लिएर तीन घन्टा उभिएर बसेको उनले सुनाए ।

नेकपा कार्यकर्ताको अवरोधबारे थाहा पाएपछि कांग्रेस कार्यकर्ता पनि त्यहाँ पुगेका थिए । त्यसपछि उनीहरुले अवरोध हटाएको नेता रिजालले जानकारी दिए । नेता रिजालले भने, ‘लोकतन्त्रका लागि कसैबाट खतरा छ भने यो सरकारबाट मात्र छ ।’

यसैबीच नेकपाका कार्यकर्ताले मण्डले शैलीमा अवरोध गरेको भन्दै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले विरोध गरेका छन् । ‘पञ्चायतका मण्डलेहरुको शैली अनुशरण गर्दै नेकपाका नेता कार्यकर्ता फाँसीवादी र अधिनायवादी शैलीमा प्रस्तुत भएको घटनाको म घोर भत्र्सना गर्दछु’ पौडेलले विज्ञप्ति जारी गर्दै भनेका छन् ।

सरकारले यस्ता गतिविधि नियन्त्रण नगरे कांग्रेस आन्दोलनमा उत्रन बाध्य हुने उनको चेतावनी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment