Comments Add Comment

पहिरोका कारण पाल्पाको रानीमहल जाने पर्यटकलाई सास्ती

१५ असोज, पाल्पा  ।  ऐतिहासिक क्षेत्र रानीमहल जाने सडकमा पहिरो खस्दा यातायातका साधन सञ्चालन हुन सकेको छैन । सडकमा पहिरो खसेर अवरुद्ध सडकमा पर्यटक पैदल हिँड्न बाध्य छन् ।

तानसेन–रानीमहल सडक खण्डको गाईघाट नजिकै पहिरो खसेको थियो । पहिरो हटाउने काम नहुँदा तानसेनदेखि ऐतिहासिक, महत्व बोकेको पर्यटकीय क्षेत्र आवतजावतमा सास्ती खेप्नुपरेको स्थानीय बासिन्दाको गुनासो छ ।

तानसेन नारायणडाँडा, गाईघाट हुँदै रानीमहलसम्म यात्रा गर्न छोटो सडक हो । १३ किलोमिटर छोटो दूरीमा रहेकाले पर्यटक यस सडक प्रयोग गर्ने स्थानीय बासिन्दा तथा होटल व्यवसायी वसन्त कुँवरले बताए ।

पर्यटक गाईघाटसम्म गाडीमा आएर पैदलयात्रा गर्न बाध्य भएका छन् । वर्षाका कारण रानीमहलसम्म पुग्न आधादर्जन स्थानमा पहिरो खसेको छ । पाल्पाको तानसेनबाट स्याङ्जाको आलमदेवी क्षेत्रमा जानेहरु समस्यामा परेका छन् ।

दशै‌ं तिहारको अवसरमा विद्यार्थीको निकै आकर्षणस्थलका रुपमा रानीमहललाई लिने गरिन्छ । विद्यालय बिदा भएपछि विद्यार्थी ठूलो संख्यामा आउने भएपछि यस क्षेत्रमा चहलपहल हुने गर्दछ । पाल्पाको तानसेन नगरपालिका– १३ स्थित रहेको रानीमहल विसं १९९५ मा पश्चिमा शैलीमा निर्माण गरिएको विशाल दरबार हो ।  पश्चिम कमाण्डर खडक शम्शेरले आफ्नी पत्नी तेजकुमारीको सम्झनामा कालीगण्डकी तिरमा रहेको चट्टानमाथि दरबार निर्माण गरेका थिए ।  बेलायती इञ्जिनीयरको डिजाइनमा बनेको दरबार हेर्नका लागि आन्तरिक तथा बाह्य पर्यटक त्यहाँ पुग्ने गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment