Comments Add Comment

लत्ता–कपडा किनमेलमा ठगिने डर छ ? यसरी गर्नुस् ‘सपिङ’

१६ असोज, काठमाडौं । यतिबेला दशैं बजार तात्तिएको छ । सपिङ मलदेखि सडकपेटीका पसलसम्ममा उपभोक्ताहरुको बाक्लो भीड देख्न सकिन्छ ।

दशैंको किनमेल आफैंमा सहज हुँदैन । पसलको भीडभाड, व्यापारीको चर्को बार्गेनिङ र सामान छान्न सकसले गर्दा उपभोक्ता हैरान बन्छन् । नेपालमा प्रायः लत्ता कपडा तथा जुत्ता पसलहरुमा डरलाग्दो ठगी हुने गरेको छ । ब्यापारीले दोब्बर–तेब्बरसम्म मूल्य बढाएर भन्ने हुनाले बार्गेनिङ गर्न नजाने सहजै फस्न सकिन्छ ।

हामी यहाँ दशैंका लत्ताकपडा वा जुत्ता खरिद गर्नका लागि केही उपयोगी सल्लाहहरु तपाईंलाई दिँदैछौंः

– सबैभन्दा पहिले कपडा कहाँ किन्ने भन्ने छनोट महत्वपूर्ण हुन्छ । तपाईं प्राय चिनेजानेको व्यक्ति, आफन्तको पसलमा जाने विकल्प रोज्नुहुन्छ होला । तर, यस्तोमा जाँदा तपाईं खुलेर बार्गेनिङ गर्न सक्नुहुन्न । त्यसैले तपाईं ठगिन पनि सक्नुहुन्छ । पसलेप्रति पूर्ण भरोसा छ भने मात्रै यस्तो ठाउँ रोज्नुहोस । अन्यथा सामान्य चिनजानकै आधारमा ढुक्क भएर किनमेल नगर्नुस ।

– यदि तपाईंसँग कपडाको गुणस्तर चिन्ने र बार्गेनिङ गर्ने कला कमजोर छ भने स्थिर मूल्य पसलमै किनमेल गर्नुस । अन्यथा नराम्ररी ठगिन सक्नुहुन्छ । ठूला सपिङ सेन्टरहरुमा मोलमोलाई हुँदैन । तर, यस्तोमा पनि कपडाको गुणस्तरमा तपाईं झुक्किन भने सक्नुहुन्छ ।

– एक्लै किनमेलमा जानुभन्दा कम्तिमा एकजना व्यक्ति सँगै लैजानुस जो कपडा जाँच्न र मोलमोलाई गर्न खप्पिस छ । खासगरी महिलाहरु यस्तो मामलामा पुरुषभन्दा अगाडि हुन्छन् । यदि विवाहित हुनुहुन्छ भने श्रीमतीलाई अन्यथा गर्लफ्रेन्डलाई पनि लैजान सक्नुहुन्छ ।

– बजारमा अत्याधिक भीड लागेको पसलमा नछिर्दा नै उपयुक्त हुन्छ । छिर्नुपरे पनि भीड घटेको सयममा मात्रै मोलमोलाइ गर्नुस । मोलमोलाइ गर्दा विक्रेताको मनोविज्ञान बुझ्नु पनि महत्वपूर्ण हुन्छ ।

– बजारमा भेटिनेर कपडा र जुत्ताहरुको गुणस्तर ठ्याक्कै कस्तो हो भन्ने जान्न निकै कठीन हुन्छ । गुणस्तर उच्च भएको भन्दै ठग्ने प्रचलन ब्याप्त रहेकाले आफूले किन्न लागेको सामानको गुणस्तर भनिएको मूल्य अनुसारको हो÷होइन भन्ने कुार निकै विचार पुर्‍याउनुपर्छ ।

– कतिपय पसलले ब्रान्डेड सामानकाका नाममा पनि ठगी गरिरहेका हुन्छन् । त्यस्ता कुरामा होस पुर्‍याउनुपर्छ किनकी काठमाडौंमा पनि विश्वप्रख्यात ब्रान्डका आधिकारिक शोरुमहरु निकै कम छन् ।

– दरबारमार्ग र न्युरोड लगायतका ठाउँमा केही ब्रान्डेड शोरुम छन् । तर, जताततै ब्रान्डेड कपडा र जुत्ता भन्दै महंगोमा विक्री गर्ने गरेको भेटिन्छ । कपडा र जुत्ता पसलहरुमा मूल्यमा आधारित भएर खासै सरकारी अनुगमन पनि हुँदैन ।

– त्यसैले आफूले किन्न लागको कपडा र जुत्ताको गुणस्तर र डिजाइन बिचार गरेर मात्रै कति तिर्ने भन्ने निर्णय लिन उपयुक्त हुन्छ । कसैले अप्रत्यासित मूल्य भनेमा उसले किनेर ल्याएको बिजक देखाउन अनुरोध गर्न सकिन्छ ।

– फुटपाथमा किनमेल गर्नेहरुले सामानको गुणस्तरमा ध्यान दिनुपर्छ । सस्तो मूल्यमा लोभिएर कपडा र जुत्ताहरु किन्दा कमजोर गुणस्तरका कारण ठगिनुपर्ने हुन सक्छ ।

– कपडा ट्राइ गर्ने ठाउँ भएको पसल रोज्नुस । ट्राई नगरी कपडा किन्दा ठिक नभएर साट्न आउनुपर्ने हुन्छ । यसो गर्दा अनावश्यक दुख त हुन्छ नै त्यसको बदला अर्को कपडा लिँदा विक्रेताले चर्को मूल्य असुल्न सक्छन् । किनकी तपाईंसँग कपडा फिर्ता गर्ने विकल्प हुँदैन ।

–झ्प्याप्पै एउटा पसलमा छिर्नासाथ कपडा किनिहाल्नुभन्दा पनि पहिले दुई–तिनवटा पसल चहारेर मूल्य बुझ्नु राम्रो हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment