Comments Add Comment

दशैंमा फिल्म रिलिजः ‘यो वर्ष भागाभाग, अर्को वर्ष भिडभाड’

तीज, दशैं, तिहार र नयाँ बर्ष नेपाली फिल्म रिलिजका लागि सबैभन्दा राम्रो मानिन्छन् । यसैले, पनि होला यी मुख्य चार समयमा नेपाली फिल्म रिलिजका लागि निर्माता तछाडमछाड गर्छन् । तर, यी चार मितिमा चलचित्र प्रदर्शनको घोषणा गर्न जती हतार निर्माता गर्छन्, त्यती नै हतार यी मिति नजिकिदै गर्दा पछि सर्नमा पनि गर्छन् ।

यो बर्षको दशैंमा पनि चलचित्र रिलिज गर्ने भन्दै गतबर्ष नै केही चलचित्र घोषणा भएका थिए । तर, त्यसमध्ये, यो बर्ष ‘रातो टिका निधारमा’ मात्र दशैंलाई लक्षित गर्दै रिलिज भयो । भोली शुक्रबार केही नेपाली चलचित्र त रिलिज हुँदैछन्, तर ती चलचित्रको चर्चा बजारमा कम छ ।
यसको अर्थ, यो बर्षको दशैंमा निर्माताको भागाभाग भयो भन्दा हुन्छ । तर, दशैंमा चलचित्र रिलिज गर्नका लागि निर्माताले तछाडमछाड गर्न भने छाडेका छैनन् ।

यो बर्षको दशैं हिन्दी चलचित्रका लागि छाडिदिएका नेपाली चलचित्रका निर्माताले अर्को बर्ष फेरि रिलिजका लागि तछाडमछाड गर्दैछन् । अफिसियल रुपमा नै घोषणा गर्ने निर्माता ३ जना देखिएका छन् । निर्माता तथा निर्देशक अशोक शर्माले आउँदो बर्षको दशैंमा चलचित्र ‘अल्लारे २’ रिलिज गर्ने घोषणा गरिसकेका छन् । गतबर्षदेखि नै अशोकले चलचित्र दशैंमा रिलिज गर्दै आएका छन् ।

चलचित्र ‘छड्के २’ पनि आउँदो बर्षको दशैंमा रिलिज गर्ने घोषणा गरिएको छ । यस्तै, अर्को बर्षको दशैंलाई नै लक्षित गरेर निर्देशक प्रदिप भट्टराइले पनि चलचित्र निर्माणको घोषणा आजै गरेका छन् । चलचित्रमा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य मुख्य भूमिकामा रहनेछन् ।
यी बाहेक, निर्माता भूवन केसीले चलचित्र ‘एन्टी हिरो’ पनि दशैंमा रिलिज गर्ने बताउँदै आएका छन् । ‘आई एम ट्वान्टी वान, ए मेरो हजुर ४’ लगायतका निर्माताले पनि दशैंलाई टार्गेट गरेका छन् ।

अफिसियल घोषणा ३ चलचित्रले गरेका छन् भने अन्य केही निर्माताले दशैंलाई लक्षित मात्र भनेका छन् । आमा सरस्वती मुभिजले सधै नै दशैंमा चलचित्र रिलिज गर्दै आएकाले आउँदो बर्ष पनि दशैंलाई नै टार्गेट गर्ने संभावना छ । यस्तो अवस्थामा आउँदो बर्षको दशैं निर्माताले घोषणा गरे जस्तै भीडभाड होला कि, यो बर्षको दशैं जस्तै भागाभाग होला, प्रतिक्षा गरौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment