Comments Add Comment

सुरक्षा निकायको आँखा छलेर रक्सी बनाउन खोज्दा ५ जनाको मृत्यु

१६ असोज, वीरगञ्ज । सुरक्षा निकायको आँखा छलेर अवैध घरेलु रक्सी उत्पादन गर्न खोज्दा बारामा एकै परिवारका ४ जनासहित ५ जनाको मृत्यु भएको छ । रक्सी बनाउन घरमै बनाइएको भूमिगत खाल्डोमा बाराको फेटा गाँउपालिका-४ बतराका जोगा मुखिया बिनसहित ५ जनाको शव बुधबार बेलुकी भेटिएको हो ।

ट्याङ्कीमा ४० वर्षीय जोगा, उनको श्रीमती ३७ वर्षीया लालमुनि देवी, छोरी १२ वर्षीया सुमनी कुमारी, जोगाका भाइ ३५ वर्षीय महेन्द्र मुखिया बिन र मदिरा भट्टीमा काम गर्ने भारतको मोतिहारी आदापुर १२ का ५५ वर्षीय गुलाबचन्द माझी मुसहर मृत भेटिएका थिए । मृतक पाँचै जनाको शव पोष्टमार्टमका लागि कलैया अस्पतालमा राखिएको छ । मृत्युको कारण अझै खुल्न सकेको छैन ।

अक्सीजनको निसास्सिएर वा विद्युत सर्ट भई करेन्ट लागेर ज्यान गएको हुन सक्ने अनुमान गरिएको छ । जोगा मुखियाले लामो समयदेखि अवैध रुपमा घरेलु रक्सी उत्पादन गरी बिक्री गर्दै आएका थिए ।

स्थानीयका अनुसार अवैध घरेलु रक्सी नियन्त्रणका क्रममा सुरक्षा निकायले पटक पटक बिन परिवारले सञ्चलन गरेको रक्सी भट्टी नष्ट गरेको थियो । पछिल्लो पटक गत भदौ २३ गते प्रहरीले छापामारी गरी छतमा बनाइएको रक्सी उत्पादन गर्ने भट्टी र भाँडाकुडा नष्ट गरेको थियो ।
सुरक्षा निकायको आँखा छल्नका लागि उनीहरुले घर भित्रै सेप्टी ट्याङकी जस्तै ६ फिट गहिरो खाल्डो बनाएर परिवारका सदस्य बाहेक कसैले थाहा नपाउने गरि रक्सी उत्पादन गर्दै आएका थिए ।

बुधबार बेलुकी गुलाब चन्द घरेलु रक्सी उत्पादनकै लागि भूमिगत खाल्डोमा पसेका थिए । उनी बाहिर ननिस्किएपछि के भएछ भनी हेर्न गएका घरमुली जोगासहित अन्य चार जनाको पनि मृत्यु भएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ । परिवारका सदस्यहरुका अनुसार एक साता अघि मात्रै पानीमा सख्खर र रासायनिक मल मिलाएर रक्सी उत्पादनका लागि तयारी गरिएको थियो ।

पक्की घरभित्र चारैतिरबाट पर्खाल लगाएर जमिन मुनि बनाइएको ५ फिट गहिरो खाल्डोमा मदिरा बनाउनका लागि सडाईएको वस्तुबाट विषाक्त ग्यास बन्न गई अक्सिजनको कमीका कारणले निसास्सिएर उनीहरुको मृत्यु भएको हुन सक्ने प्रहरी नायब उपरीक्षक रञ्जित सिंह राठौर बताउँछन् । ‘शव निकाल्न खोज्दा श्वास फेर्न निकै गाह्रो भयो, रक्सी बनाउने कच्चा पदार्थको दुर्गन्धका कारण खाल्डोमा अक्सिजनको कमी हुँदा प्रहरीसमेत बेहोश हुने अवस्था आएको थियो,’ उनले भने, ‘त्यसपछि दुईतिरको पर्खाल भत्काएर शव निकालेका थियौं ।’ अक्सिजनको कमीले नै उनीहरुको मृत्यु भएको हुन सक्ने उनले बताए । तर मृत्युको यकिन कारण भने पोष्टमार्टम रिपोर्ट आएपछि मात्र खुल्ने उनी बताउँछन् ।

घटनाको बारेमा जानकारी पाए लगत्तै प्रहरी परिचालन गरिएको थियो । बुधबार राति नै घटना स्थलमा फेटा गाउँपालिकाका अध्यक्ष अमिरीलाल प्रसाद, बाराका प्रमुख जिल्ला अधिकारी फडिन्द्र पोखरेल, प्रहरी उपरीक्षक विकासराज खनाल, डिएसपी राठौर लगायत पुगेका थिए ।

कतिपयले घरेलु मदिरा उत्पादनका लागि बनाइएको भूमिगत खाल्डोमा पसेका बेला करेन्ट लागेर उनीहरुको मृत्यु भएको हुन सक्ने आशंका गरेका छन् । रक्सी बनाउनका लागि खाल्डोभित्र हिटर फिट गरिएको थियो । भित्र ओसिलो भएका कारण हिटरबाट करेन्ट सर्ट भई  उनीहरुको मृत्यु भएको हुन सक्ने अनुमान स्थानीयको छ ।

बाराका प्रमुख जिल्ला अधिकारी पोखरेलले पनि करेन्ट सर्ट भएर मृत्यु भएको हुन सक्ने बताए । ‘यकिन कारण त पोष्टमार्टम रिपोर्ट आएपछि नै खुल्ला, घट्नको अवस्था हेर्दा करेन्ट सर्ट भएर उनीहरुको मृत्यु भएको हो कि जस्तो देखिन्छ,’ उनले भने, ‘यो सुरक्षा निकायको धारणा होइन मेरो व्यक्तिगत विश्लेषण हो ।’

फेटा गाउँपालिकाका अध्यक्ष अमिरीलाल प्रसादले बतरामा अवैध रक्सी भट्टी धेरै नै सञ्चालनमा रहेकोले अब त्यसलाई नियन्त्रण गर्ने बताए । ‘एउटा दुर्घटना त भइसक्यो, अब यस्तो दुर्घटना हुन नदिन सजग हुनुपर्छ,’ उनले भने, ‘बतरामा धेरै रक्सी भट्टी सञ्चालनमा छ, सुरक्षा निकायसँगको समन्वयमा पहिला त्यसलाई नियन्त्रण गर्छु ।’

उनले गाउँपालिकालाई नै ‘मदिरा निषेधित’ क्षेत्र बनाउने तर्फ काम अघि बढाउने प्रतिबद्धता जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment