Comments Add Comment

जो दशैंमा बिछोडिँदैछन् ! (फोटोफिचर)

छोरा–छोरीको भिसा लाग्दा आमा–बावुको दशैं खल्लो !

१७ असोज, काठमाडौं । रसुवाका लक्ष्मण आचार्यको घरमा जमरा हुर्किसक्यो । आफैंले रोपेको त्यो जमारा उनले लाउन भने पाउने छैनन्, कारण हो, यो दशैंमा उनी अर्कै देशमा हुनेछन् ।

लक्ष्मणले विदेश जान खोजेको लामै समय भयो । प्रयास गर्दा गर्दा बल्ल भिसा आयो । म्यानपावरले ‘काठमाडौं आइहाल्नू’ भनेर बोलाएपछि दशैं पर्खेर बस्ने कुरा भएन । उनी दौडेर आइहाले । हतार–हतार काठमाडौं आएका उनी विमानस्थलमा निन्याउरो अनुहार लगाएर साथीलाई कुर्दैछन् ।

‘नचाहँदा–नचाहँदै दशैंमा विदेश नै पुगिने भयो,’ त्रिभुवन विमानस्थलमा काकासँग बिदा मागेपछि उनले अनलाइनखबरसँग भने, ‘खल्लो लागेको छ ।’

लक्ष्मण मात्रै होइन, झापाका सञ्जीवकुमार पण्डित पनि दशैंको मुखमा विदेश जाँदैछन् । उनी एक महिनाअघि बिदामा घर आएका थिए, बिदा सकिएपछि कम्पनीमा फोन गरेर १५ दिन लम्बाइदिन आग्रह पनि गरे । तर, कम्पनीले मानेन ।

उनी दशैंको टिका–जमरा लगाउने सयममा बिदाइको टीका लगाएर घरबाट काठमाडौं आएका छन् । उनलाई पनि दशैंका बेला घर छोडेर हिँड्नु परेकोमा दुःख लागिरहेको छ ।
‘नरमाइलो लागिरहेछ, तर के गर्नु आफ्नो कर्म हो, जानै पर्छ,’ उनले भने, ‘दशैंको बेलामा हिँड्दा घर पनि शून्य भएको छ । घरका मान्छेको पनि दशैं रमाइलो नहुने भयो ।’


अहिले त्रिभुवन विमानस्थलमा दशैंका लागि घर फर्किनेको घुइँचो छ । साथै, विदेशिन लाइन बस्ने पनि उत्तिकै छन् । परदेशबाट फर्केकाहरूको अनुहारमा उत्साह–उमंग देखिन्छ भने विदेशिन लागोकहरूको अनुहार निराशाले टिठलाग्दो देखिन्छ । विमानस्थलको आगमनतर्फको भागमा मिलनको खुशी छाइरहँदा प्रस्थानतर्फको भागमा वियोगको अश्रुधारा बगिरहेको छ । आफन्तलाई विमानस्थलसम्म बिदाइ गर्न आइपुगेकाहरू आफूलाई सम्हाल्न नसकेर भक्कानिएका देखिन्छन् ।
यो पनि पढ्नुहोस दशैंमा परदेशी घर फर्किँदाको खुसी

दशैंको समयमा पनि घर–परिवारबाट छुट्टिएर हिँड्नुपर्दा कसको मन नरोला र ? तर, कतिले आफूलाई सम्हालेका छन् भने कतिले सकेका छैनन् । दशैंको माहोलले ढपक्कै छोप्दा र आमा–बुवाको हातबाट टीका लगाउने दिन नजिकै आइपुग्दा देश नै छाडेर कामका लागि विदेश जानुपर्ने पीडा कम्ता दुःखदायी छैन ।
छोरी बिदाइ गर्न आएकी रूपमाया रोक्का ‘रुन्नँ’ भन्ने बाचा गरेर विमानस्थल आएकी थिइन् । तर, बिदाइ गर्ने सयममा उनले बाचा हारिन् । भरिएका आँखाबाट झर्ने आँसु रोक्न सकिनन् । छोरी विमानस्थलभित्र छिरेपछि घाँटी तन्काएर हेरिरहिन्, आँसु पुछिरहिन् छोरीलाई देखिन्जेलसम्म ।

तर, आमा रोएको देखेपछि आफूलाई जसोतसो सम्हालेकी छोरीले पछाडि फर्किएर हेर्ने आँट गर्न सकिनन् ।

‘अरूको घरमा दशैं आयो होला, मेरो त दशैं गयो,’ उनले आँसु पुछ्दै भनिन्, ‘सन्तान काखमा नभएपछि के चाड, के रमाइलो ?’

विमानस्थलमा पुग्दा लोकबहादुर क्षेत्रीको त्यो गीतको याद आयो-

‘आमा रुँदै गाउँबेसी मेलैमा

छोरा रुँदै गोरखपुर रेलैमा…’

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment