Comments Add Comment

भगवान कोइरालालाई रोक्न डा. केसीको अल्टिमेटम ?

२० असोज, काठमाडौं । चिकित्सा क्षेत्र सुधारका लागि संघर्षरत वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसीले सरकारलाई दुई हप्ते अल्टिमेटम दिएका छन् । र, उनको प्रमुख माग छ, त्रिभुवन विश्वविद्यालयका उपकुलपति नियुक्ति प्रक्रिया रोक्नुपर्छ ।

अहिले त्रिवि उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस भएको छ, जसमध्ये एक डा. भगवान कोइराला पनि छन् । डा. केसी जस्तै नेपाली चिकित्सा क्षेत्रका अर्का लोकप्रिय हस्ती हुन् कोइराला । शिक्षामन्त्री नेतृत्वको सिफारिस समितिले उनको सिफारिस गरेको तीन जना मध्ये पहिलो नम्बरमा डा. कोइराला छन् । दोस्रोमा डा. धर्मकान्त बास्कोटा र तेस्रोमा चन्द्रमणि पौडेल छन् ।

स्रोतका अनुसार शिक्षामन्त्री गिरिराजमाणी पोखरेल डा. कोइरालालाई उपकुलपति बनाउने पक्षमा छन् । उनले कोइरालाई भेटेरै उपकुलपति बन्न प्रस्ताव राखेका थिए र कोइराला यसमा सकारात्मक छन् । तर प्रधानमन्त्री केपी शर्मा ओलीको ग्रिन सिग्नल आएको छैन । स्रोतका अनुसार उपकुलपतिका लागि सिफारिस भएका धर्मकान्तको नाम प्रधानमन्त्रीकै जोडबलमा थपिएको हो । नाक–कान–घाँटीका विशेषज्ञ बास्कोटा नेपाल मेडिकल काउन्सिलका पूर्व अध्यक्ष हुन् ।

यसैगरी सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई खुशी पार्न चन्द्रमणीको नाम तेस्रो नम्बरमा उनले राखेका छन् । पौडेल राष्ट्रिय परिक्षा बोर्डका अध्यक्ष तथा त्रिविकै पूर्व रजिस्ट्रार पनि हुन् ।

तत्कालीन उपकुलपति तीर्थ खनियाँको कार्यकाल सकिएपछि दुई महिनादेखि सुधा त्रिपाठीले कार्यवाहक उपकुलपतिको जिम्मेवारी सम्हालेकी छन् । तर सिफारिस समितिले उनको नाम सिफारिसमा नपारेपछि उनी रिङआउट भएकी छन् ।

समिति भएका तीन नाम मध्ये एक जनालाई कुलपतिले उपकुलपति चयन गर्ने व्यवस्था छ । त्यसैले अब बल प्रधानमन्त्रीको कोर्टमा छ । प्रधानमन्त्रीले निर्णय नलिइसके पनि उनलाई निकटवर्तीहरुले कोइरालाकै पक्षमा वकालत गरेको बुझिएको छ ।

डा. कोइरालाको छवि पनि राम्रो छ । उनी देशकै अब्बल मुटुरोग विशेषज्ञ हुन् । अहिलेसम्म उनले १० हजारभन्दा बढि मुटुरोगीहरुको शल्यक्रिया गरिसकेका छन् । नेपालमा ओपन हार्ट सर्जरीका लागि उनी ‘पायनियर’ नै हुन् ।

प्रशासकीय जिम्मेवारीमा समेत डा. कोइराला सफल छन् । सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा उनको योगदान अविस्मरणीय छ । उनी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका कार्यकारी निर्देशकसमेत नियुक्त भएका थिए । त्यतिबेला उनले शिक्षण अस्पतालमा केही सुधारका कामहरु थाले पनि डा. केसीको आन्दोलनकै सेरोफेरोमा १ सय ८ दिनमै उनले पद त्याग गरे ।

सन् २०११ देखि २०१३ सम्म कार्डियोलोजी साइन्टिफिक काउन्सीलको एसीया प्यासिफिक सोसाइटीका लागि कार्डियोभास्कुलर सर्जरीको टिममा पनि प्रतिनिधित्व गरेका थिए । कोइराला अहिलेसम्म चिकित्सा क्षेत्रका निर्विवाद पात्र हुन् र त्रिविमा डा. कोइरालाको सम्भावित नियुक्तिलाई लिएर राम्रै प्रतिक्रिया छ ।

यो पनि पढ्नुहोस डा. गोविन्द केसी भन्छन् – विश्वविद्यालयहरुमा नियुक्ति प्रक्रिया नरोकिए सत्याग्रह थाल्छु

त्यसो भए डा. केसीले एकाएक किन उपकुलपति नियुक्ति प्रक्रिया रोक्न माग गरे त ?

कतिपयले डा. कोइरालालाई रोक्न केसीले १७ औं अनसनको धम्की दिएको अनुमान गरेका छन् । किनकी कोइरालाले पछिल्लो दिनहरुमा डा. केसीको आन्दोलनमा त्यति खुलेर साथ दिएका छैनन् । बरु केसीका कतिपय मागमा उनको विमति राख्ने गरेका छन् । जस्तो कि, उपत्यका बाहिरका पूर्वाधार सम्पन्न मेडिकल कलेजहरुको सम्वन्ध रोक्नु नहुने तर्क कोइरालाले गर्ने गरेका छन् ।

डा. कोइराला टिचिङ अस्पतालको कार्यकारी हुँदा डा. केसीको अनशनलाई लिएर गम्भिर असन्तुष्टि पोखेका थिए । एउटा टेलिभिजनलाई दिएको अन्तरवार्तामा डा. कोइरालाले भनेका छन्, ‘मैले राजनीतिक दबाबका कारण (टिचिङको जिम्मेवारी) छोडेको होइन । म त भीसी र केसीको चेपुवामा परेर निस्किएको हुँ । केसीको पहिलो आन्दोलनमा खिलराजजीसँग भनेर उहाँको धेरै कुराहरु पुरा गरेको थिएँ । तर, उहाँले स्टाटस चेन्ज गर्नुभयो । नयाँ–नयाँ माग आए । फेरि अनशन बस्नुभयो । मेरो अस्पताल ध्वस्त भयो ।’

उनले थप भनेका छन्, ‘ म रोएँ १३ दिन (अनसन अवधि) । म चिकित्सक भएपछि बिरामी उपचार नगरी बसेँ भने मेरो खुट्टा कहाँ हुन्छ ? त्यसमा पनि म डाइरेक्टर । मेरो अस्पतालमा भाषणबाजी, माइक के मात्र भएन त्यो १३ दिनमा ? मेरो विरामी गलहत्याएर निकालिएको हो नि त । सलाइन थुतेर निकालियो भनेर आयो । भएको पनि हो । मलाई ल्याकमेल गरे साथीहरुले ।’

डा. कोइराला र डा. केसी क्लासमेट हुन् । उक्त अन्तर्वार्तामा डा. केसीबारे कोइराला भन्छन्, ‘उ मेरो अनन्य मित्र हो । हामी एउटै बिरामीको खुट्टा समातेर धेरै रात बसेका छौं । उ इमान्दार छ । उसको पनि मप्रति राम्रो फिलिङ छ । तर त्यो फरक कुरा हो । देश बनाउने संस्था बनाउने कुरा, ऐन–कानून बनाउने कुरा र व्यक्तिगत सम्वन्ध कुरा अलग हुँदारहेछ । म भनिरहेको छैन कि माफयासँग सम्झौता गराैं । म पनि त लडेरै बसेको छु । तर, अडान लिने तरिका र राम्रो कुरा प्राप्त गर्न प्रयोग गरिने माध्यमबारे सचेत हुनुपर्छ ।’

यो सम्वादहरुले पनि डा. केसी र डा. कोइरालाबीच सम्बन्ध पहिला जस्तो नभएको बुझ्न सकिन्छ ।

त्यसैले कतिपयले अहिले डा. केसीले उनलाई त्रिवि उपकुलपति हुन सक्ने खोजेको अनुमान गरेका छन् । किनकी डा. केसीको सातबुँदे माग मध्ये दोस्रो नम्बरमै विश्वविद्यालयहरुमा पदाधिकारी नियुक्तिको हालको प्रक्रिया रोक्न आग्रह गरेका छन् ।

तर डा. केसी निकटवर्तीहरु भने यो मान्न तयार छैनन् । सोलिडारिटी फर डा. केसी अलाइन्सका संयोजक डा. जीवन क्षेत्रीकाअनुसार त्रिवि उपकुलपतिका लागि सिफारिस भएका तीन नाममा डा. कोइरालाको नाम आएपछि अल्टिमेटम केही समयका लागि स्थगित गर्ने कि भन्ने छलफल पनि भएको थियो ।

उनले भने, ‘डा. केसीले हामीले व्यक्ति विशेषलाई हेर्नु हुँदैन । सिस्टम बसाउनुपर्छ भन्नुभयो  ।’

डा. केसीको असहमति व्यक्तिमा नभई उपकुलपति सिफारिस प्रक्रियामा भएको उनले प्रष्ट पारे । डा. केसी स्वयंमदले पनि आफ्नो वक्तव्यमा परासर कोइरालाको नेतृत्वको मापदण्ड निर्धारण समितिले दिएको सुझाव अनुरुप निश्पक्ष र पारदर्शी ढंगले पदाधिकारी नियुक्त गर्ने कानूनी व्यवस्था गर्नुपर्ने माग गरेका छन् ।

डा. केसीले लेखेका छन्, ‘व्यक्तिविशेषको नियुक्तीभन्दा पद्दति बसाल्नु ठूलो कुरा हो । त्यसैले पद्दति सुधारका लागि मार्ग प्रशस्त गर्न यो प्रक्रियाबाट पछि हट्न हाल नाम सिफारिस भएका प्राध्यापकहरुलाई विशेष आग्रह गर्दछौं ।’

उनले ‘सुधार पछाडि’ कुनै पनि व्यक्ति नियुक्त भएमा आपत्ति नरहने पनि स्पष्ट गरेका छन् । डा. केसीले आफ्नो वक्तव्यमा लेखेका छन्, ‘पार्टी वा गुट विशेषको जोडबलमा विश्वविद्यालयको उपकुलपति जस्तो पदमा नियुक्त हुँदा उक्त पदकै अपमान हुने हुँदा यो अवस्थाको अन्त्य गर्नु सबैको हितमा छ ।’

मागपत्रमा उनले नेपालका सबै निजी मेडिकल कलेजले अवैधरुपमा असूल गरेको रकम फिर्ता गरिनुपर्ने, शीर्ष नेताहरु उपचारका लागि सरकारी खर्चमा विदेश जान रोक्नुपर्ने लगायतका लोकप्रिय मागहरु पनि समावेश गरेका छन् ।

डा. केसीका अहिलेसम्मको सत्याग्रहमा बलियो जनसमर्थन मिलिरहेको छ । अर्को शब्दमा भन्दा जनसमर्थन र मिडियाको साथले उनका अधिकांश माग सम्वोधन गर्न सरकार वाध्य हुने गरेको छ । तर डा. कोइरालालाई त्रिविको उपकुलपति बन्न रोक्ने गरी सत्याग्रहमा उत्रिए पहिलेकै जस्तो जनसमर्थन हासिल नहुनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
चिरञ्जीवी पौडेल

झण्डै डेढ दशकदेखि पत्रकारितामा सक्रिय पौडेल अनलाइनखबर डटकमका एसोसिएट एडिटर हुन् ।

Advertisment