Comments Add Comment

दशैंमा उत्साहित छैन असनको ‘परम्परागत व्यापार’

असनको मछिन्द्र बहाल केटोलमा ढाकाको पसल चलाईरहेका भक्तपुर दधिकोटका गोपाल बख्रेलले अहिले आवश्यकता असीमित हुन्छन् भन्ने दार्शनिक मान्यता सम्झन थालेका छन् ।

उनले १८ वर्ष अघि यही ठाउँमा पसल सुरु गर्दा दैनिक ४/५ हजार रुपैयाँको व्यापार हुन्थ्यो । त्यत्तिमा पनि उनी खुशी नै थिए । आज उनको सोही पसलबाट दैनिक २ लाखसम्मको कारोबार हुने गरेको छ । तरपनि उनलाई त्यतिले चित्त बुझेको छैन ।

दशैं आईसकेको छ । नेपालीहरुले सबैभन्दा धेरै खर्च गर्ने समय दशैंमा समेत उनको पसलमा पहिलेजस्तो भिड छैन । उनी अरु समयको र दशैंको व्यापारमा खासै भिन्नता नरहेको सुनाउँछन् । उनको बुझाईमा ढाकाको व्यापारमा कमि आएको होईन । धेरै ढाका पसलेहरु भएका कारण नै आफूहरुको व्यापारमा कमि आएको हो । बख्रेल भन्छन् ‘ढाका पसल पनि किराना पसल जस्तै भयो । पहिले ढाका किन्न भनेपछि सिधै असन र त्यसमा पनि यही टोलमा आउने गर्दथे । तर, अहिले जता त्यतै पसल खुल्दा असनको महत्व नै घटेको छ । यसको पहिचानमाथि नै संकट आएको छ ।’

पहिले पहिले दौरा सुरुवाल र त्यसमा पनि ढाकाका पहिरनहरुलाई पाखे र गाउँघरमा बस्नेहरुले लगाउने पहिरनको रुपमा सोच्ने गरिएको थियो । तर, अहिले यो फेसनको रुपमा विकास भएको छ । ढाकाप्रति मानिसको आकर्षण त बढिरहेको छ । तर, जुन ढाकाको लागि असनको पहिचान थियो । त्यसमा भने कमि आएको छ ।

पछिल्लो समय दौरा सुरुवालमा पनि अहिले प्लेन दौरा सुरुवालको माग बढिरहेको छ । महिलाले लगाउने यसको पहिरनमा एप्पल सिक्स जस्ता भारतीय कपडाहरुको प्रयोग धेरै हुने गरेको छ । पछिल्ला नेपाली ब्राण्डहरुमा क्वालिटी कम र मूल्य धेरै भएकोले पनि भारतीय पहिरनतिर आकर्षण बढेको व्यापारीहरुले बताउने गरेका छन् ।

असनले दशैंको लागि ढाकाका कुनै नयाँ ब्राण्ड पनि बनाउन सकेको छैन । त्यसैले पनि दशैंमा खासै धेरै आकर्षण हुने गरेका छैनन् । अहिले ढाकाबाट दौरा सुरुवाल पार्टी सुज, लेहंगा, स्कट, कुर्ता, चौबन्दी चोली पहिरनहरु बन्ने गरेको छ । बढी दौरा सुरुवाल र कोटहरु नै बिक्री हुने गर्छ ।

असनमै परम्परागत एवं आधुनिक साडीहरुको व्यापार गर्ने नुवाकोटका विकास मुडवरीको पसलमा अहिले पोहार परारको दशैंमाभन्दा आधा पनि व्यापार भएको छैन । ‘कारण त थाहा छैन । पोहोर परारको भन्दा यो सालको दशैंमा आधा पनि व्यापार भएको छैन ।’ मुडवरीले अनलाईनखबरसँग भने ‘पहिले दैनिक डेढलाख रुपैयाँसम्मको कारोबार हुन्थ्यो । अहिले मुस्किलले ८० हजार पुग्छ । यो दशैंमा त सुख्खा नै लाग्यो ।’

दशैंको माहोल सबैतिर तातिरहेको बेलामा नेपालको ‘सबैभन्दा पुरानो खुल्ला सुपरमार्केट’ असनमा दशैंको त्यति उत्साह छैन । यो ऐतिहासिक शहरमा मानिसको जन्मदेखि मृत्युसम्मको लागि चाहिने सबैकुरा पाईन्छ । नुनदेखि सुनसम्मका सामानको लागि अरु बजारको आवश्यता नै दिलाउँदैन असनले । यो एकैभित्र सम्पूर्ण बजार हो ।

असन बजार क्षेत्रले पूर्वमा रानीपोखरी, दक्षिणमा भोटाहिटीदेखि महाबौद्धसम्म, पश्चिममा न्हैकन्तलादेखि बाङ्गेमुढासम्म र उत्तरमा त्यौडसम्मको ठाउँलाई जनाउने स्थानीय बासिन्दा बताउँछन् । जमलको कमलाक्षी चोकबाट भित्र छिरेपछि २०० मिटर जतिको यात्रामा पुगिन्छ असनको ऐतिहासिक बजार । असन चोकबाट सम्मुख हेर्दा देखिने अन्नपूर्ण मन्दिरसँगै जोडिन्छ असनको ऐतिहासिकता ।

यो बजारमात्रै ऐतिहासिक होईन । अन्त कतै पनि नपाईने ऐतिहासिक सामग्रीहरुको लागि असनको विकल्प छैन । स्थानीय भन्छन् ‘लेकाली जिम्बु, बिरेनुन, सिधेनुन, तोरी, सस्र्यूं, कालो तील, टिम्बुर जस्ता जडीबुटीका लागि काठमाडौंमा असनको विकल्प छैन ।’ यी सामग्रीहरु बेच्ने र किन्नेको पाईला सिधै असनतिरै जाने गर्दछ । पछिल्लो समय रैथाने नेवारीहरु उपत्यका बाहिरका वा गैरनेवारहरुले बजारमा ‘कब्जा’ गरिसकेका छन् । फेसनका कपडा एवं अरु सामग्रीले असनको ऐतिहासिकतामाथि चुनौती थपिरहेको छ । तर, पहिलेको भव्य शहर असनले आफ्नो धर्म छाडिसकेको छैन ।

यो बजारमा पुराना नेवारी परम्परागत पोषाक हाकुपटासी, लवेदा सुरुवाल, जर्सीकोट, इष्टकोट, भेँडाको ऊनको सुईटर आदि पाईन्छ  । अहिले चिनियाँ कपडाको बजारले यस्ता परम्परागत पोषाकलाई संकुचित बनाईदिएको परम्परागत पोषाक विक्रेता राजु तण्डुकारले जानकारी दिए । उनले अहिलेको दशैंमा समेत परम्परागत पोषाकप्रति मानिसहरुको त्यति धेरै आकर्षण नबढेको बताए । ‘अहिले त पहिलेकोभन्दा आधा पनि बिक्री हुँदैन ।’ उनले अनलाईनखबरसँग भने ‘चिनियाँ कपडाको बजारले हामीलाई संकुचित गराईसकेको छ ।’

अन्नपूर्ण मन्दिरदेखि ईन्द्रचोक जाने बाटोतर्फ केही अगाडि बढेपछि तामा, पित्तल जस्ता धातुका सामग्रीहरुको पसल पाउन सकिन्छ । त्यो व्यस्त बजारमा सानो कोठाभित्र भरिभराऊ सामान देख्न पाईन्छ । हातको घनले ठोकी–ठोकी बनाएका फोसी, खड्कुला, गाग्री, कसौडी खरिदको लागि पनि सजिलो बजार यही हो । तामाको भाँडा होस् या त फलामका अरु कुनै सामग्री । असनमा नपाईने धातुका सामग्रीहरु अन्त कतैपनि पाईँंदैनभन्दा फरक नपर्ला । तर, यी व्यापारीहरुले पनि दशैंमा खासै धेरै व्यापार गर्न सकेका छैनन् ।

यही असन हो जसले धेरै सुत्केरीहरुको उद्दार गरेको छ । सुत्केरीको स्वास्थ्यको लागि आवश्यक पर्ने धेरै सामानहरु अन्त नपाउँदा पनि असनले त्यो आवश्यकता पूरा गरिदिएको छ । बाहिर पाउन कठिन भईसकेको सुत्केरी मसलाहरु जस्तै गुँद, दालचिनी, मरिच, सुकमेल, जाइफल, ल्वाङ, मेथी, ज्वानो जस्ता सुत्केरी मसलाहरुको माग यही असनले धानेको छ ।

पुरानो स्टक मार्केट

राणाकालीन समयमा एउटा तिर्जा प्रथा नामक प्रथाको चलन थियो । कुनै ठाउँको निश्चित बाली उठाई खान दिइएको अधिकारपत्रलाई तिर्जा प्रथा नामले चिनिन्थ्यो । यो जुद्दशमशेरको पालामा चलेको प्रथा हो । यस्तो अधिकारपत्र राज्यका सिपाही तथा हाकिमलाई तलबको रुपमा हरेक वर्ष दिने गरिन्थ्यो ।  यो प्रथा अनुसार श्रावण संक्रान्ति र श्रीपञ्चमीका दिन क्रमश: हिउँदे र वर्षे बाली कमाएपछि असन बजारमा सामान ल्याइन्थ्यो । असन बजारमा जम्मा पारेको सबैसामानहरुलाई अहिलेको स्टक एक्सचेन्जको जस्तै प्रक्रियाले बिक्री हुने गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment