Comments Add Comment

त्यसपछि म पनि शाकाहारी बनेँ

मांसाहार वैदिक शास्त्र संगत छ कि छैन ?

वैदिककालदेखि नै महत्वपूर्ण रहेको शारदीय नवरात्रिको महत्वलाई विविध पक्षबाट विश्लेषण गर्न सकिन्छ । दसैंको महत्व केवल सामाजिक हिसाबले मात्रै विश्लेषण गरेर हुँदैन । यसको दार्शनिक, पौराणिक, मनोबैज्ञानिक रुपले समेत यसको महत्वलाई उजागर गराउन सकिन्छ ।

एकसरो लुगामा वर्ष गुजारेकाहरुको लागि यो एकसरो कपडा फेर्ने पर्व हो । वर्षभरी घरजान नपाएकाहरुको लागि यो घरमा आफन्तहरुसँग भेटघाट गर्ने पर्व हो भने वर्षभरी मासु खाने हैसियत नभएका निम्नवर्गीय मानिसहरुको लागि ऋणधन गरेरै भएपनि मासु खाने पर्व हो ।

दसैंसँगै मानिसहरुको पीडा भरिएको कहानी पनि आश्विन शुक्लपक्षको प्रतिपदादेखि नै सुरु हुने गर्दछ । छिमेकीको घरमा कराएको खसीको आवाजसँगै छोराको रोदनका कारण साहुको कठोर सर्त मानेर खसी किन्नेहरुदेखि छिमेकीको छोराले लगाएको नयाँ कपडासँगै आफ्नो खातामा ऋणको अंक थपिने बाबुसम्मको कहानी आ–आफ्नै किसिमको हुने गरेको छ ।

असत्यमाथि सत्यको विजय भएको सम्झनामा मनाईने दसैंमा एउटा निम्नवर्गीय परिवारको सदस्यले असत्य हाँसो भित्र रोएको रोदनलाई सम्झिएर नै डेढ दशक अघि मांसप्रति वितृष्ण फैलिएको थियो । दसैंमा देखिने ती रोदनहरु केवल मासुबाट सिर्जित समस्या पक्कै होईन । मासु र नयाँ कपडा त एउटा साधन मात्रै हो । साध्य त हाम्रो सोच हो जसले हामीलाई समाजमा एउटै स्तरको देखिनको लागि साहुको दैलोसम्म पुऱ्यायो । तर, पनि कलिलो मजगले त्यतिबेला त्यही साधनरुपी मांसलाई नै दसैंमा छिमेकी दाजुको रोदनको कारक ठान्यो र मासु नखाने निर्णय गरियो ।

मासु खानेको पीडालाई सम्झिएर शाकाहारी बनेको केही समयसम्म तिनै दसैंमा अव्यक्त पीडाहरु जस्तै पीडाले पछ्याईरह्यो । मासु छाडेपछिको समयमा घरपरिवार र आफन्तहरुले मासु छाड्दाको समस्याको बारेमा सुनाएका कहानीहरुले छोराको रोदन सहन नसकेर साहुसँग ऋण काढेर दसैं मनाएको बाबुकोभन्दा कम्ती पीडा दिने थिएनन् ।

मासु छाड्ने समयमा धर्मशास्त्रमा मांसाहार र शाकाहारसम्बन्धी कुनैपनि कुरा जानकारी नभएको मलाई शाकाहारी बन्नुको कारण सोध्नेहरुको प्रश्नले जबर्जस्ती पौराणिक कहानी खोतल्न बाध्य गरायो । शाकाहारी बन्नुको सत्यता ओकल्नसक्ने हिम्मत पनि थिएन । जसका कारण पौराणिक कहानीहरुको सहयोग लिएर ती प्रश्नहरुको जवाफ खोज्ने गरेको थिए ।

दसैंको ऐतिहासिकता खोज्दै जाँदा पौराणिक कहानीहरुमा कतै दूर्गा र महिसासुरसँगको कहानी जोडिएको छ भने कतै यसलाई राम र रावणको कहानीसँग पनि जोड्ने गरिएको छ । परम्परागत रुपमा यसको महत्व जे सुकै भएपनि वर्तमानमा दसैंको महत्व फरक हुन थालेको छ ।

नवदूर्गाहरुलाई गरिने पूजाको विधि वैदिक विधिबाट पुराण निर्देशित विधिमा रुपान्तरित भएको छ भने सत्य र असत्य तत्वहरुबीचको युद्धको सम्बन्धलाई मासु खाने र परिवारसँगको भेटघाटको पर्वको रुपमा जोडेर यसको महत्व दर्शाउन थालिएको छ । सजिलो अर्थमा भन्दा अहिलेको दसैं मासु खाने र आफन्तजनसँगको भेटघाट गर्ने पर्वको रुपमा विकास हुँदै गएको छ ।

दसैंमा शाकाहारीले भोग्नुपर्ने पीडा

शाकाहारी हुनुका बाबजुद पनि दसैं आएलगत्तै मन चंगा सरी उँड्न थालिहाल्छ । किनकी शाकाहारी बनेपछिको १५ वटा दसैंले यो पर्व केवल मांसाहारहरुको मात्रै पर्व होईन भन्ने पुष्टि गरिसकेको छ ।

तरपनि शाकाहारी बनेको डेढ दशकसम्म पनि शाकाहारी भएकै कारणले भोग्नुपरेको पीडा भने अझै हटिसेकेको छैन । दसैंमा टीका लगाउनको लागि जाने ठाउँ घरबाहेक काटिकुटी एक दर्जन जति होलान् । त्यसमध्ये पनि केही त समय समयमा गईरहने ठाउँ हो । समय समयमा गईरहने ठाउँमा त आफू शाकाहारी भएको धेरै पटक आवृत्ति गराईसकेको छु । त्यसैले ती ठाउँहरुमा कुनै समस्या भोग्नु पर्दैन । तर, दसैंमा टीका थाप्ने बाहानामा मात्रै भेटघाट हुने आफन्तहरुकोमा भने अझै पनि शाकाहारी भएकै कारण समस्या भोग्नु परिरहेको हुन्छ । केही वर्ष पहिले त अन्जानमा नै शाकाहारी व्रत भंग समेत भएको गर्नुपरेको घटना समेत छन् ।

विगत एक दशकदेखि परिवारमा केवल म मात्रै शाकाहारी भईन । विस्तारै विस्तारै परिवारका सबै सदस्यहरु शाकाहारी भएपछि पछिल्लो एक दशकदेखि घरमा पशुबलि नै बन्द भएको छ । त्यसैले दसैंमा आफ्नो घरमा आउने पाउनाहरुको स्वागत समेत अरु घरमा जस्तो मासुबाट गर्ने गरिएको छैन । अहिले त बरु घरमा आउने पाहुनाहरु समेत परिवार नै शाकाहार भएकोबारे जानकार हुन थालिसकेका छन् ।

शाकाहारीले के खाने दसैंमा ?

सुरु सुरुका दसैंमा आफू एक्लै अरुभन्दा भिन्न हुँदा केही समस्या भोग्नुपरेको भएपनि अहिलेको यो समस्या त्यस्तो जटील छैन । परिवार नै शाकाहारी भएपछि अरु गेडागुडी, फलफूलहरुबाट नै दसैं, दसैं बन्ने गरेको छ । मांसाहारीहरुले दसैंको लागि भनेर खसीबोकाको बन्दोबस्त गरेजस्तै शाकाहारी परिवारमा फलफूलहरुको बन्दोबस्त गरेर राखिन्छ । गिट्ठा–भ्याकुर जस्ता कन्दमूलबाट नै विविध परिकार बनाएर खाने गरिन्छ । यसरी आउने पाहुनाहरुलाई पनि यस्तै फलफूल एवं परिकारहरुले स्वागत गर्ने गरिन्छ । साथमा पनीर जस्ता दूधबाट बनेको परिकारहरुबाट समेत पाहुनाहरुको स्वागत गर्ने गरिन्छ ।

 मांसाहार ठीक कि बेठीक ?

सुदर्शन अर्याल

कुनैपनि धार्मिक कृत्य गर्दा अवस्था हेरेर बलि चढाउने प्रचलन वैदिक कालदेखि नै चलिआएको हो । इसापूर्व १५०० देखि झण्डै ५ दशकसम्म चलेको ऋग्वैदिक कालमा त नरबलि अर्थात् (मानिसको बलिदिने चलन) को समेत प्रचलन रहेको पाईन्छ । त्यतिबेला समेत कुनैपनि धार्मिक कृत्यमा अनिवार्य रुपमा जीवित प्राणिहरुको बलि दिनैपर्ने भन्ने पनि उल्लेख पाईँदैन । तर, ऋण गरेरै भएपनि समाजमा अरुको स्तरमा पुग्ने अभिलाषाका कारण दसैं धेरैको अभिशाप बन्ने गरेको छ ।

झण्डै १५ वर्ष घरको पहिलो शाकाहारी सदस्य बन्नको लागि मासु छाड्ने समयमा सानो दबाबको सामना गर्नुपरेको थिएन । परिवारमा पहिलो पटक मासु छाड्दा सबैको एउटै जिज्ञासा थियो दसैंमा के खाने ? ती प्रश्नवाणहरु आफूतिर तेर्सिँदा लाग्थ्यो दसैं केवल मासु खानेहरुको लागि मात्रै हो । अझ भनौं मासु खान छाड्नेहरुको लागि दसैं, दसैं नै होईन ।

यही कारणले त होला छिमेकमा अरुले खिसिट्युरी नगरुन् भनेर ऋणधन काढेर मासु ल्याउनेहरुले पनि त यही प्रश्नको उत्तर नपाएर नै होला नपरेको बोझ काँधमा राखेर साहुको ऋणमा मासुको स्वाद लिने गरेको ।

यसरी धेरैको प्रश्नरुपी आक्रमणको शिकार भएपछि बलिप्रथा र शाकाहारहरुको समेत पौराणिक वा धार्मिक इतिहास खोज्न मन लाग्यो । वैदिक एवं पौराणिक कहानीहरु खोज्दै जाँदा थाहा भयो न त मांसाहार गलत हो न त शाकाहार नै । यो ठीक या बेठीक भन्ने कुरा केवल आफ्नो चाहानाले निर्धारण गर्दाे रहेछ ।

यसकै खोजी गर्दै जाँदा महाभारतको शान्तिपर्वमा लेखिएको एउटा संस्कृत श्लोक भेटिएयो । त्यसमा भनिएको थियो:

सुरा मत्स्याः पशोर्मांसं द्विजातीनां बलिस्तथा ।

धूर्तेः प्रवर्तितं यज्ञे नैतद् वेदेषाकथ्यते ॥

अर्थात् सुरा जाँड(रक्सी आदि माछा र पशुहरुका मासु तथा द्विजातिहरुको बलि आदि धूर्तहरुद्वारा यज्ञमा प्रवर्तित भएको हो, वेदमा मांसको विधान छैन ।

यसबाट पनि शाकाहारी बनेको मेरो मनलाई केही सान्त्वना दियो । यतिमा मात्रै सीमित नभएर अझै अरु पनि प्रमाणहरुको खोजी गर्दै गएँ । खोज्दै जाँदा त्रेता युगमा रावण र रामको परिवारले मांसको बारेमा राखेको धारणा बुझ्ने अवसर मिल्यो ।

त्रेता युगका रावण पनि वेदका ज्ञाता थिए । उनले वेदको भाष्य पनि तयार पारेका थिए । तर, उनले आफूले गर्ने यज्ञमा मासु र रगतद्वारा हवन गर्ने गरेका थिए । वेदका त्यस्ता ज्ञाताले गरेको त्यो कार्य पनि पक्कै वेद विरुद्ध थिएन । तर, अवश्य पनि त्यो तामसी स्वभाव भने हो ।

त्रेता युगमा समान किसिमको यज्ञमा पनि रावणादिले गर्ने यज्ञमा मासु र रगतको हवन हुन्थ्यो भने दशरथ आदिको यज्ञमा खिर जस्ता सामग्रीले हवन गर्ने गरिन्थ्यो । मासु खानु शास्त्र संगत छ या छैन भन्ने कुराको बहस वेदमा भएको दुईवटा अर्थ दिने शब्दको कारण कहिलै पनि टुङ्गिन नसक्ने अवस्थामा छ ।

संस्कृतमा अज शब्दले पुरानो चामल भन्ने शब्द र बाख्राको पाठो भन्ने दुईवटा अर्थलाई जनाउने गर्दछ । यज्ञस्थलमा ‘अज’ पेश गर्नुभन्दा त्यसलाई चामल वा बाख्रा जस्तो अर्थमा समेत प्रयोग गर्न सकिने हुन्छ । यस्तै शब्दका कारण मांसाहार शास्त्र संवत् हो या त बर्जित हो ? भन्ने कुराको बहस अन्त्यहीन बन्न पुगेको छ । जसका कारण म जस्ता धेरै शाकाहारीहरु मांसाहारको पक्ष वा विपक्षमा शास्त्रीय ढंगले बहस गर्न सक्ने अवस्थामा छैनौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment