+
+
Shares

ब्रम्हायणीमा शरीरमा दीप बालेर पूजा गर्दै भक्तजन, हेर्नुस् ६ तस्वीर

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज २१ गते १०:४०

२१ असोज, भक्तपुर । प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुर–१ च्यामासिंहस्थित ब्रह्मायणी मन्दिरमा लाग्ने ब्रम्हायणी जात्रा मध्यरातिदेखि शुरु भएको छ । मन्दिरमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ ।

नवदुर्गाको शक्तिपीठका रूपमा मानिने ब्रम्हायणी मन्दिरमा मंगलबार नवदुर्गा प्रकट हुने जनविश्वासअनुरुप परम्परादेखि नै विजयादशमीको दिन यहाँ भव्य मेला लाग्ने गर्दछ ।

ब्रह्मायणी मन्दिरमा पूजा गर्न भक्तपुर, मध्यपुर थिमी, ताथली, सुडाल, बागेश्वरी, चित्तपोल, सिपाडोल, नंखेल, गुण्डुलगायत काभ्रे, ललितपुर र काठमाडौँदेखिका भक्तजन आउने गर्दछन् ।
मन्दिरमा जमरा, हाँसको फुल, हाँस, बोका, कुखुराको भालेको बलिसमेत दिने गरिन्छ ।

व्रत बसेकाहरू बिहानै घरदेखि मन्दिरसम्म घस्रिँदै, पल्टिँदै र शरीरमा ५, ७ र १८ वटा दीप (दियो) बालेर जाने र पूजा गर्ने प्रचलन छ । यसो गरेमा मनोकाङ्क्षा पूरा हुने, पाप नष्ट हुने, धर्म प्राप्त हुने जनविश्वास रहेको छ । मन्दिरमा मंगलबार दिनभरि नै मेला लाग्ने गर्दछ ।

गाँठेमङ्गलका दिन नवदुर्गा मन्दिरमा ल्याएर पालिएको महिषासुर दैत्यको प्रतीक खःमेय अर्थात राँगोलाई गए राति नवदुर्गा मन्दिरबाट जाँड खुवाएर मत्ताएर अबिर दलेर दौडाउँदै, लखेट्दै ब्रह्मायणी मन्दिर पुर्याएर बध गरेपछि रातिदेखि नै यो जात्रा शुरु हुने गर्दछ ।

यसैगरी नवमीको दिन मध्यराति मनाइने प्रसिद्ध खःमेय्अर्थात् राँगो जात्रा गएराति सम्पन्न भएको छ । धार्मिक एवं सांस्कृतिक दृष्टिले महत्वपूर्ण मानिने सो जात्रा महिषासुर दैत्यको प्रतीकका रूपमा गठेमङ्गलका दिन खःमेय्अर्थात् राँगोलाई ल्याएर भक्तपुरको नवदुर्गा मन्दिर प्राङ्गणमा बाँधेर राख्ने र सोही राँगोलाई नवमीको राति बध गरी मनाइने परम्परा रहिआएको छ ।

महानवमीको राति नवौँ देवी त्रिपुरासुन्दरी प्रकट भई नवदुर्गा भवानी पूर्ण हुने हुँदा परम्परागतरूपमा खःमेय्को बधजात्रा मनाउने प्रचलन रहेको स्थानीयवासीको भनाइ रहेको छ ।

नवदुर्गा मन्दिरमा ल्याएर बाँधिएको खःमेय् अर्थात् राँगोलाई गए राति तान्त्रिक विधिअनुरूप पूजाआजा गरी जाँडरक्सी खुवाएर मत्ताई शरीरभरि अबिर दलेर स्थानीय भक्तजनले नवदुर्गा द्यो छेँ (देवगृह) बाट लखेट्दै च्याम्हसिंहस्थित ब्रह्मायणी मन्दिरमा पुर्याई देवीलाई चढाएर जात्रा मनाएका छन् । खःमेय् लखेट्दा दायाँबायाँ सुकुन्दा बालेर खःमेय्सँगसँगै दौड्ने परम्परा रहेको छ ।

बध गरिएको खःमेय् राँगोको एक टुक्रा मासु लिन हजारौँ व्यक्तिको भीड लागेको थियो । सो मासुको टुक्रा प्रसादका रूपमा घरमा लगेर सुकुटी बनाई धूलो पारेर घ्यूमा मुछेर धूप बनाई बाल्ने गरिन्छ । लक्ष्मीपूजाका दिन सो धूप बालेमा भूतप्रेत नलाग्ने, शत्रुनाश हुने र घरमा लक्ष्मीबास हुने जनविश्वास रहेको छ । रासस

तस्वीरहरूः विकाश श्रेष्ठ/अनलाइनलाइखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?