Comments Add Comment

सरकारलाई रवीन्द्र मिश्रको सुझाव : झ्वाम्लाङ्गै अंगालो नहालौं

२४ असोज, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले चिनियाँ राष्ट्रपतिको भ्रमणमा बढी उत्साहित भएर विगतमाझैं अंगालो हाल्ने गल्ती नगर्न सरकारलाई सुझाव दिएका छन् ।

बढी आशावादी भएर विदेश नीतिमा समनिकताको दीर्घकालीन महत्व र आवश्यकतालाई बिर्सन नहुने उनले बताएका छन् । सीको भ्रमणबारे सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले ८ बुँदे सुझाव दिएका छन् ।

१. राष्ट्रपति सी चिनफिङलाई ह्रिदयदेखिको स्वागत छ। स्वागतका लागि रातारात काठमाडौँको मुहार जसरी फेरियो त्यो देखेर नेपालस्थित विदेशी अधिकारीहरू मनमनै मुस्काईरहेको हुनुपर्छ। दुई हप्तामा फेर्न सकिने मुहार गत दुई वर्षमा फेर्न कोशिस गरेको भए शहरको सौन्दर्य कति दिगो हुने थियो। शहरको मुहार दिर्घकालका लागि यसैगरी फेरौँ र पाहुना आउँदा त्यसमा थोरै ‘श्रृङ्गार’ थप्ने गरौँ। नत्र सधैँ ‘फेर्नेलाई भन्दा देख्नेलाई लाज’ हुने अवस्था सिर्जना हुन्छ।

२. बढी उत्साहित भएर विगतका केही घटनामा जस्तो झ्वाम्लाङ्गै अंगालो हाल्ने या प्रोटकलको ख्याल नगर्ने काम नगरौं।

३. बढी आशावादी भएर हाम्रो वैदेशिक नीतिमा सम-निकटता (equi-proximity) को दिर्घकालीन महत्व र अत्यावश्यकतालाई नबिर्सौं ।

४. बदलिँदो विश्व राजनीतिमा नेपालको रणनीतिक महत्व सर्वशक्तिमान अमेरिका र उदयमान शक्ति चिन र भारत दुबैको लागि बढेको प्रष्टै देखिएको छ। यो चुनौति र अवसर दुबै हो। पार्टीगत घेराभन्दा माथि उठेर राष्ट्रिय हितका लागि ‘संवेदनशील, सकारात्मक, सन्तुलित र स्वाभिमानपूर्ण’ ढङ्गबाट परिपक्व कुटनीतिको अभ्यास गरौँ।

५. सबैको चासो बढेका बेला पूर्वाधार विकासमा सहयोग लिनेदेखि बैदेशिक लगानी बढाउने सुनौलो अवसर मिलेको छ। हाम्रो काम गर्ने आन्तरिक क्षमता अभिवृद्धि नगर्ने हो भने हामीले प्राप्त गरेको अवसर गुमाउने छौं। राष्ट्रपति सिको भ्रमणलाई दिएको जत्तिकै महत्व भ्रष्टाचार नियन्त्रण गर्न र सुशासन बढाउन दिएनौँ भने भएका संझौताहरू लामो समयसम्म अलपत्र पर्नेछन् ।

६. चिनियाँ सहयोगका कारण कयौँ देशहरू ऋणको पासोमा परेका समाचारहरू आउने गरेका छन्। ती पुराना अनुभवबाट हामी सावधान हुन सक्छौँ। यसमा ख्याल गरौँ ।

७. चिनबाट रूपान्तरणकारी सहयोग प्राप्त हुँदा त्यसले भारतबाट पनि त्यस्तै सहयोग आकर्षण गर्न सहयोग पुर्‍याउने छ। तर त्यो हाम्रो कुटनीतिको स्तरमा भर पर्नेछ ।

८. भारत र चीन जसरी विकशित भइरहेका छन्, त्यसको बीचमा अवस्थित नेपालको सिर्फ दुईवटा नियति हुन सक्छस् पहिलो, ‘संवेदनशील, सकारात्मक, शन्तुलित र स्वाभिमानपूर्ण’ कुटनीतिक अभ्यासद्वारा विकासको सहयात्री बन्ने। दोस्रो, भ्रष्ट, अपरिपक्व र स्वार्थ केन्द्रीत राजनीतिद्वारा नेपाललाई शक्तिराष्ट्रहरूको क्रिडास्थल बनाउने। अहिलेको नेतृत्व र प्रमुख प्रतिपक्षको लागि वैदेशिक नीतिमा सबैभन्दा ठूलो चुनौती त्यही नै हुनेछ।

भ्रमण पूर्णरूपमा सफल रहोस्, नेपाल-चीन सम्बन्ध प्रगाढ र उपलब्धिमूलक होस् !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment