+
+
Shares

नेपाल–चीन सम्बन्धको ऐतिहासिक पाटो

सुदर्शन अर्याल सुदर्शन अर्याल
२०७६ असोज २५ गते १०:३७

शुक्रबार चिनियाँ राष्ट्रपति सी जिनपिङका नाममा गोरखापत्र दैनिकलगायतका केही राष्ट्रिय दैनिकले एक आलेख छापे । सीको नाममा ‘हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पु‍र्‍याऔं’ शीर्षकमा लेखिएको सो आलेखमा भनिएको थियो ‘करिब १६ सय वर्षअघि चिनियाँ महान भिक्षु फा सियान र नेपाली महान भिक्षु बुद्धभद्रले एकअर्काको देशमा भ्रमण गरेका थिए र संयुक्त रूपमा बौद्ध धर्मका शास्त्रपदहरू अनुवाद गरेका थिए ।’

राष्ट्रपति सीको आलेखमा अगाडि भनिएको थियो, ‘चीनको थाङ राजवंशका पालामा नेपाली राजकुमारी भृकुटीको तिब्बती राजा स्रोङचन गम्पोसँग विवाह भएको थियो ।

महान भिक्षु स्यवीयान चाङले शाक्यमुनिको जन्मस्थल लुम्बिनीको बहुमुल्य वर्णन आफ्नो यात्रावृतान्त लेखेका थिए । य्वीयान राजवंशमा नेपालका प्रसिद्ध कलाकार अरनिकोले चीनमा आएर पेइचिङमा श्वेत स्तुपको निर्माण गरेका थिए । युगौंयुगदेखि हाम्रा दुवै देशका जनताबीच रहँदै आएको मैत्रीपूर्ण सम्बन्धका यी केही उदाहरणहरू हुन् ।’

चिनियाँ यात्रीहरुको आत्मवृत्तान्तलाई मान्दा ईसाको सातौं शताब्दीको सुरुमा सत्तामा आएका महासामन्त अंशुवर्माको समयदेखि मात्रै नेपाल चीनबीच आपसी आउजाउ सुरु भएको देखिन्छ । तर, त्योभन्दा पहिले नेपाल र चीनबीचको सम्बन्ध कस्तो थियो त ? यस्ता तथ्यहरु पर्याप्त प्रमाण नपाउँदा इतिहासको गर्भमै हराउने गरेका छन् ।

अंशुवर्माकालीन सम्बन्ध

सुदर्शन अर्याल

नेपाल र चीनबीचको सम्बन्धको इतिहास जति पुरानो छ । त्यसको निकैपछि मात्र नेपाल आएका चिनियाँहरुले यहाँको वस्तुस्थितिका बारेमा पुस्तक लेख्ने गरेको पाइन्छ । अहिलेसम्म प्राप्त भएको वृत्तान्त नेपालमा अंशुवर्माले शासन गरेको समय आसपास र त्यो भन्दा अघि चौथो शताब्दीको अन्त्य र पाँचौं शताब्दीको सुरुसम्मको मात्र छ । अंशुबर्माले छैठौं शताब्दीको अन्त्यदेखि सातौं शताब्दीको सुरुवातमा नेपालमा शासन गरेका थिए । उनकै शासनकालमा वाङ हुएन त्से नामक चिनियाँ यात्री नेपाल आएका थिए । नेपालबाट फर्किएपछि उनले लेखेको आत्मवृत्तान्तमा अंशुबर्माको दरबार कैलाशकुट भवनको भव्यताको बारेमा व्याख्या गरिएको थियो ।

त्योभन्दा पहिले चौथो शताब्दीको अन्त्यतिर र पाँचौं शताब्दीको सुरुवातमा चिनियाँ यात्री फाहियान नेपाल आएका थिए । उनले बौद्ध धर्मको ग्रन्थलाई चिनियाँ भाषामा उतारेका थिए । यसरी नेपालमा आएर आत्मवृत्तान्त लेख्ने क्रम चौथो शताब्दीदेखि सुरु भएकै आधारमा नेपाल र चीनबीचको सम्बन्ध सोही समयदेखि सुरु भयो भन्न सक्ने आधार छैन । केही साहित्यिक स्रोतलाई आधार मान्दा नेपालमा बस्ती बसाउने श्रेय नै चिनियाँ धर्मपुत्र मञ्जुश्रीलाई जान्छ । त्यसैले नेपालमा बसोबासको सुरुवात हुनुभन्दा पहिलेदेखि नेपाल र चीनबीचको सम्बन्ध रहेको जान्न सकिन्छ ।

मञ्जुश्रीले जोडेको नेपाल–चीन सम्बन्ध

नेपालमा पाइएका कतिपय साहित्यिक स्रोतहरुले नेपाल र चीनबीचको सम्बन्ध ईसापूर्व हजार वर्षदेखि अर्थात् आजभन्दा झण्डै ३ हजार वर्ष अघिदेखिको मान्ने गरेका छन् । स्वयम्भू पुराणले नेपालको उत्पत्तिको समयदेखि नै चीन र नेपालको सम्बन्ध रहेको विषय उल्लेख गरेको छ । मञ्जुश्रीले चोभारमा आफ्नो खड्गले गल्छीलाई काटेर यहाँ बस्न योग्य बनाएको भन्ने हामीले सुनेको किंवदन्ती स्वयम्भू पुराणमा उल्लेख छ । मञ्जुश्री चिनियाँ यात्री रहेको दाबी गर्दै ‘स्वयम्भू पुराण’ मा मञ्जुश्रीको आगमन र ‘नेपाल’को उत्पत्तिको कथालाई यसरी विश्लेषण गरिएको छ–

…अघि यो उपत्यका ‘नागवास’ नामक ठूलो बर्तुलाकार तालको रुपमा थियो । …तर त्यहाँ कमलको फूल भने थिएन … । … त्यहाँ विपश्वी बुद्धले कलमको बीज रोपे … । … कालान्तरमा विशाल कमल उम्रियो । जहाँ ज्योतिरुप स्वयम्भूको रुपमा आदिबुद्धको प्रादुर्भाव भयो । … जसको दर्शन गर्न अनेक मानुषी बुद्धहरु यहाँ आए … । (महाचीन देशको) पञ्चशीर्ष पर्वतमा निवास गर्ने बोधिसत्व मञ्जुश्रीले त्यहीँ बसी दैवी शक्तिको बलमा ध्यान लगाउँदा ‘नागवास’मा ज्योतिरुप स्वयम्भूको उत्पत्ति भएको कुरा थाहा पाएर त्यहीँ जाने विचार गरे … ।

… आफ्ना देशका कृषक, भिक्षु र राजाधर्माकर र दुई पत्नी (देवी) हरुसमेत अनेक शिष्यहरुको साथमा मञ्जुश्री ‘नागवास’ आए । … र, स्वयम्भूको पूजा र परिक्रमा गरे । दोस्रो परिक्रमको सन्दर्भमा मञ्जुश्रीले दक्षिण दिशाको पहाडमा पुग्दा त्यसैलाई पानीको निकासको लागि बढी उपयुक्त ठानी आफ्नो खण्डक (तरबार) ले त्यस पहाडलाई काटे । परिणाम स्वरुप पानीको निकास बन्यो र ताल सुक्दै गयो ।

… त्यसपछि तिनी उपत्यकाका विभिन्न स्थानमा घुम्न लागे । गुह्येश्वरीमा पुग्दा तिनले जोरसँग पानीका फोका उठिरहेको देखे र त्यसलाई रोक्ने कोसिस गर्दा … प्रज्ञास्वरुप गुह्येश्वरीको दर्शन भयो । … उनले जलरहित उपत्यकाको नामकरण “नेपाल” (अर्थात् ने–स्वर्गतिर पठाउने, स्वयम्भू र तिनद्वारा पालित क्षेत्र) भनी गरे । उनले स्वयम्भू
र गुह्येश्वरीको बीचमा ठ्रलो वस्ती बसाले जसको नाम‘मञ्जुपत्तन’अर्थात् ‘मञ्जुश्रीद्वारा निर्मित नगर’वा‘सुन्दर नगर‘भनी राखे ।… त्यहाँ आफूसँग आएका शिष्यहरुलाई आवाद गरी तथा धर्माकरलाई राजा थापी उनी स्वदेश फर्के ।”

लिच्छविकालमा नेपाल चीन सम्बन्ध

लिच्छविकालमा नेपाल र चीनबीचको सम्बन्धलाई हेर्दा चौथो शताब्दीदेखि सुरु भएको मान्ने गरिन्छ । संस्कृतिविद् सत्यमोहन जोशीका अनुसार चौथो शताब्दीको अन्त्यतिर र पाँचौं शताब्दीको सुरुवातमा चिनियाँ यात्री फाहियान नेपाल आएका थिए । उनले बौद्ध धर्मको ग्रन्थलाई चिनियाँ भाषामा उतारेका थिए । अहिलेसम्म प्राप्त प्रमाणका आधारमा नेपाल आएर यहाँको बारेमा पुस्तक छाप्ने उनी नै पहिला चिनियाँ हुन् । त्यसपछि ह्वेन साङ, वाङ इन चे लगायत नेपाल आएर यहाँको समाज र संस्कृतिको बारेमा वृत्तान्त लेखेका थिए ।

लिच्छविकालमा नेपाल र चीनबीच धेरै भातृ सम्बन्ध पनि भयो र समय समयमा युद्ध पनि भएको पाईन्छ । जसले सम्बन्धमा उतारचढाव गराइरह्यो । सधैं नेपाल र चीन(तिब्बत)बीच राम्रो सम्बन्ध मात्रै भएन । शिवदेव द्वीतीयको समयमा नेपाल र भोटबीच युद्ध भएको थियो । त्यतिबेला नेपालको आक्रमणमा परी भोट (तिब्बत)का राजा मारिएको कुरा पनि वाङ इन चेको यात्रा वृत्तान्तबाट जान्न सकिन्छ । सोही समयमा नै नेपालको कपिलवस्तुको तर्फबाट बुद्धभद्रले चीनको भ्रमण गरेका थिए ।

केही साहित्यिक स्रोतहरुले ने नेपाल संवतको सुरुवात बारे निर्णय गर्दा नेपाल तिब्बतको अधिनमा रहेको र स्वतन्त्र भएपछि नेपालसंवतको सुरुवात भएको समेत उल्लेख गरेको छ । सिल्भाँ लेभी नामक विदेशी इतिहासकारले सातौं शताब्दीमा नेपाल तिब्बतको अधिनमा रहेको उल्लेख गरेका छन् । त्यसैबाट मुक्ति पाएपछि नेपाल संवतको सुरुवात भएको बताएपनि नेपाल संवतको सुरुवाता नवौं शताव्दीको अन्तिम तिरबाट भएकोले यो तर्कको कुनै आधिकारिकता छैन ।

सन् ६२४ को समयमा नेपालमा राजालाई भगाएर सामन्तहरुले राजकाज सम्हालेका थिए । सन् ६२० मा अंशुबर्माको निधन भएपछि अंशुबर्माले सामन्तबाट सत्ताच्यूत गराएका गुप्तहरु पनि एकाएक सलबलाए । अंशुबर्मापछि राजा भएका उदयदेवलाई उनीहरुले कारबाही गर्न लागेपछि उनी भागेर तिब्बत गएको घटना इतिहासमा पाइन्छ । यसले पनि नेपाल र चीनबीच त्यो समयसम्म आइपुग्दा सम्बन्ध सुमधुर भएको थाहा हुन्छ ।

ताङ वृत्तान्तमा नै तिब्बतको सहयोगमा उनकै छोरा नरेन्द्र देवले सन् ६४० मा पुस्तैनी राज्य फिर्ता लिएको उल्लेख छ । चिनियाँ सम्राट स्रङचङ गम्पोले भारत विरुद्ध मच्चाएको संघर्षमा नेपालको तर्फबाट नरेन्द्रदेवले समर्थन मात्रै नगरी भारतीय शासक अरुणाश्वलाई पक्रिएर तिब्बतलाई बुझाएको कुराले पनि त्यतिबेला भारतसँगभन्दा धेरै राम्रो सम्बन्ध चीनसँग रहेको बुझिन्छ । चिनियाँ बृत्तान्तहरुले नै उल्लेख गरेका हुन् ।

सत्यमोहन जोशीका अनुसार सातौँ शताब्दीमा चीनका बौद्ध विद्वान हुयान चाँई लुम्बिनी आएका थिए । बुद्धका बारेमा ग्रन्थको सङ्कलन गरेर उनले चीनमा प्रचार गरेको कुरा पनि चिनियाँ वृत्तान्तहरुमा नै उल्लेख छ ।

भृकुटीको विवाहको सम्बन्धमा पनि चीनमा बौद्ध धर्म प्रचार गर्ने सर्तमा मात्रै भृकुटी विवाहको लागि राजी भएको उल्लेख पाइन्छ । त्यतिबेला राजा स्रङचङ गम्पोलाई सपनामा भृकुटीसँग विवाह गरेमा उनको मान प्रतिष्ठा र श्री सम्पत्ति बढ्छ भन्ने भएपछि भृकुटी माग्नका लागि हात्ती घोडाको लावालस्कर सहित गम्पोका सेनाहरु नेपाल आएका थिए ।

कत्ति आग्रह गर्दा र उपहार दिँदा पनि नमानेकी भृकुटीले आफ्ना केही सर्तहरु राखेर सोही सर्त पूरा गर्न तिब्बती राजा तयार भएपछि मात्रै तिब्बती बुहारी बनेर गएकी थिइन् । उनको सर्तमा चीनमा बौद्ध धर्मको विकास गर्न पाउनुपर्ने, नेपाल तर्फ ढोका राखेर घर वा ठूलो गुम्बा बनाउनु पर्ने लगायतका थिए ।

त्यसपछि १३ ‍औं शताब्दीसम्म त्यस्तो चर्चित व्यक्तित्वहरुको नेपाल आगमन वा नेपालका चर्चित व्यक्ति चीन गएको प्रमाण छैन । सातौं शताब्दीदेखि दशौं शताब्दीसम्मका कुनैपनि अभिलेख एवं साहित्यिक स्रोतहरु समेत प्राप्त नभएकाले यो युगलाई अँध्यारो युग पनि भनिन्छ । एकैपटक १३ औँ शताब्दीमा आएर नेपाली कलाकार अरनिकोले चीनमा गएर स्वर्ण धातुमा आफ्नो कला देखाएपछि चिनियाँहरु नेपालीहरुसँग धेरै नजिक भएको पाइन्छ ।

अरनिकोको समयमा तत्कालीन नेपाल (काठमाडौं उपत्यकामा) कहिले डोय त कहिले तिरहुतेहरुले आक्रमण गर्ने गरेका थिए । बरु पछि मल्लकालको उत्तरार्धमा तिब्बतसँग मैत्री सम्बन्ध कायम भएको पाईन्छ । व्यापार व्यवसायको लागि सन्धी गर्नुका साथै तिब्बतमा चलाउने सिक्का छाप्दा समेत नेपालसँग अनुमति लिनुपर्ने अवस्था समेत आएको थियो । अधिकांश सिक्काहरु त नेपालले नै छापेर तिब्बत पठाउने गरेको थियो ।

यसरी नेपाल र चीन(तत्कालीन तिब्बत सहित) बीचको सम्बन्धको उतार चढाव देखिन्छ । पृथ्वीनारायण शाहको समयमा पनि व्यापारको हिसाबले नेपाल र चीनबीच मैत्री सम्बन्ध नै थियो भन्न सकिन्छ ।

राणा शासन कालमा खासै चीनसँग मैत्री सम्बन्ध कायम भएका घटनाहरु पाईँदैन । दुईदेशबीच राणा शासनकालमा पटक–पटक युद्ध भएको थियो । राणाहरु ब्रिटिस र भारततिर धेरै झुकाव राख्ने स्वभावका भएकाले राणाकालीन इतिहासमा चीनसँगको सम्बन्धबारे त्यति धेरै उल्लेख पाइँदैन ।

एकैपटक पञ्चायती शासनकालमा राजा महेन्द्रले लिएको नीतिपछि भारत र चीनलाई सामान दृष्टिले हेर्न थालिएको पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?