Comments Add Comment

सशस्त्र प्रहरीद्वारा २ करोडको समान बरामद

२५ असोज, वीरगञ्ज । सशस्त्र प्रहरीले चालु आर्थिक वर्षमा वीरगञ्जबाट २ करोड २१ लाख ३ हजार  ९३ रुपैयाँ बराबरको समान बरामद गरेको छ । भन्सार छली अवैध रुपमा भित्र्याईएका लत्ता कपडा, इलेक्ट्रिक, हार्डवेयरका समान, घरायसी किराना समानहरु बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल नं १४ गुल्म हेड क्वाटर वीरगञ्ज भन्सार क्षेत्रमा राजश्व तथा भन्सार गस्ती सुरक्षाका लागि तैनाथ छ । बरामद गरिएको समान आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक अमर बहादुर खत्रीले जानकारी दिए । उनका अनुसार सशस्त्र प्रहरीको टोलीले साउन महिनामा ४३ लाख ७८ हजार २ सय ५५, भदौ महिनामा १ करोड ४४ लाख १६ हजार ४ सय २३ रुपैयाँ र असोजको २४ गतेसम्ममा ३३ लाख, ८ हजार ४ सय १५ रुपैयाँको भन्सार छलीका समान बरामद भएको छ ।

त्यस्तैगरि सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषध पनि नियन्त्रणमा लिएको छ । लागूऔषध औसार पसारमा संलग्न १३ जनालाई पक्राउ गरेको सशस्त्र प्रहरीले जनाएको छ । उनीहरुलाई बरामद गरिएको लागु औषध सहित आवश्यक कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाईएको डिएसपी खत्रीले बताए ।

उनीहरुको साथबाट डाईजेल्याब २ हजार २ थान, फेनारगन १ हजार ६ सय ९७ थान, नोफिन १ हजार ७ सय १४ थान, वीन सिरेक्स २५ बोतल, ब्राउन सुगर २ ग्राम बरामद भएको थियो । सोही अवधिमा सशस्त्र प्रहरीले १५ लाख ८ सय ३५ रुपैयाँ अवैध रकम समेत बरामद गरेको छ ।

सीमा क्षेत्रमा कडाईका चेकजाँच गर्नुको साथै मोबाइल गस्ती, पट्रोल, सरप्राईज चेक प्वाईन्ट मार्फत अवैध गतिविधिलाई नियन्त्रणको प्रयास गरिरहेको डिएसपी खत्रीको भनाई छ ।

भन्सार मुल गेट, केडिया डेन्टल अस्पताल अगाडि मुख्य सडकमा नियमित चेकजाँच गर्नुको साथै मोबाइल गस्ती, रात्री गस्ती मार्फत पनि भन्सार क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गरिरहेको सशस्त्र प्रहरीले जनाएको छ ।

सोही क्रममा शनिबार मात्रै सशस्त्र प्रहरीले वीरगञ्जबाट भन्सार छली अबैध रुपमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको १० लाख ४० हजार ८ सय ५० रुपैयाँको लत्ता कपडा, हार्डवेयर तथा किराना सामानहरु बरामद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment