Comments Add Comment

दशैँपछि सौराहा आउने पर्यटक बढे

२६ असोज, भरतपुर । दशैँपछि देशकै तेस्रो पर्यटकीय गन्तव्यको रूपमा रहेको चितवनको सौराहामा पर्यटकको चहलपहल बढेको छ । दशैँअघि सुनासनजस्तै बनेको सौराहामा यतिबेला पर्यटक आउनेक्रम बढेको हो ।

सौराहामा अहिले सबैभन्दा धेरै पर्यटक आउने बेला हो । विगतका वर्षमा दशैँअघिदेखि नै पर्यटकको भीडभाड हुनेगरेको तर यसपटक ढिला गरी पर्यटकको चहलपहल बढेको क्षेत्रीय होटल सङ्घ चितवन सौराहाका अध्यक्ष दीपक भट्टराईले बताए । उनले सुनसान बनेको सौराहा अहिले भरिभराउ हुन थालेको जानकारी दिए  ।

‘आन्तरिक पर्यटक ह्वात्तै बढेको छ, तर रात बिताउने पर्यटकको सङ्ख्या अझै कम छ’ उनले भने । केही वर्षयता आन्तरिक पर्यटककै भरमा सौराहाको पर्यटन व्यवसाय चलेको छ । नेपालीहरू बिदाको समयमा घुम्ने संस्कार बढेकाले त्यसको प्रभाव बर्सेनि पर्यटकको सङ्ख्या बढ्दै गएको भट्टराई बताउँछन् ।

प0छिल्लो समय चितवनमा देखिएको डेङ्गुको प्रकोप र काठमाडौँबाट चितवन भित्रिने सडकको दुरावस्थाका कारण पर्यटकको चहलपहल घटेको सौराहाका रेष्टुरेन्ट व्यवसायी गोकर्ण गिरी बताउँछन् । उनले दशैँपछि घुम्ने परम्परा रहेकाले अब पर्यटकको सङ्ख्या बढ्ने विश्वास व्यक्त गरे ।

पछिल्लो समय सौराहामा विदेशी पर्यटकभन्दा स्वदेशी पर्यटकको सङ्ख्या बढ्दो छ । अहिले पनि आन्तरिक पर्यटक नै धेरै छन् सौराहामा । ‘सौराहाको राप्ती किनार क्षेत्रका रेष्टुरेन्टहरू भरिभराउ हुन थालेका छन्’, रेवान सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडाले भने, ‘परिवारसँग घुम्न आउने पर्यटक बढेका छन्, बाह्य पर्यटक भने फाट्टफुट्ट केही मात्रामा मात्र देखिन्छन् ।’ चिनियाँ र भारतीय पर्यटक बढी छन् । सौराहामा ५० प्रतिशत आन्तरिक पर्यटक र ३० प्रतिशत बाह्य पर्यटक आउने गरेको व्यवसायीको भनाइ छ ।

पर्यटक आउने ‘सिजन’ बल्ल शुरु भएकाले विस्तारै पर्यटक बढ्दै जाने होटल व्यवसायी सुमन घिमिरे बताउँछन् । तुलनात्मक रूपमा यसपटक पर्यटकको सङ्ख्यामा कमी आए पनि पर्यटकको सङ्ख्या बढ्ने क्रममा रहेको उनले बताए । ‘नोभेम्बरसम्म नै पर्यटकको आउने सिजन हो’, उनले भने, ‘गत वर्षकै अनुपातमा पर्यटक आउने अनुमान गरेका छौँ ।’

सौराहामा गतवर्षको तुलनामा यो सिजनमा यसपटक २० प्रतिशत पर्यटक पनि भित्रिएका छैनन् । गत वर्ष यसबेला दैनिक एक हजारको हाराहारीमा पर्यटक भित्रिएको क्षेत्रीय होटल सङ्घले जनाएको छ । विशेषगरी चितवन राष्ट्रिय निकुञ्ज अवलोकन, हात्ती सफारी र जिप सफारीका लागि पर्यटकहरू सौराहा आउने गरेका छन् ।

साना तथा ठूला १५० होटल र ८० रेष्टुरेन्ट रहेको सौराहामा सात हजार पर्यटक अट्ने क्षमता रहेको छ । गत वर्ष सौराहामा स्वदेशी तथा विदेशी गरी डेढ लाख पर्यटक भित्रिएका थिए । चितवन आउने पर्यटकमध्ये ८० प्रतिशतले सौराहा घुम्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment