Comments Add Comment

मानव तस्करी र बेचबिखनसम्बन्धी मुद्दाको अनुसन्धान एकै स्थानबाट

२६ असोज, काठमाडौं । मानव तस्करी र बेचबिखनसम्बन्धी अनुसन्धान एकै निकायबाट गर्नेगरी नेपाल प्रहरीमा ‘मानव बेचबिखनसम्बन्धी अनुसन्धान ब्युरो’ स्थापना गरिएको छ ।

प्रहरी नियमावली सातौं पटक संशोधन गरी गृह मन्त्रालयले नेपाल प्रहरीमा मानव बेचबिखनसम्बन्धी अनुसन्धान ब्युरोको स्थापनालार्ई कानुनी मान्यता दिएको छ । वैदेशिक रोजगारीका नाममा मानव तस्करी बढको भन्दै सरकारले २७ जेठ २०७५ मा नेपाल प्रहरीमा उक्त ब्युरो स्थापना गर्ने निर्णय गरेको थियो ।

सोही अनुसार काठमाडौं बबरमहलमा मानव बेचबिखनसम्बन्धी अनुसन्धान ब्युरोको कार्यालय स्थापना भइसकेको छ । तर, कानुन अभावमा उक्त ब्युरोले आफैं काम गर्न सकेको थिएन । गत १३ असोज मा प्रहरी नियमावली सातौं संशोधन नेपाल राजपत्रमा प्रकाशित भएपछि उक्त ब्युरोले कानुनी मान्यता पाएको हो ।

महानगरीय प्रहरी अपराध महाशाखा र सीआईबीमा पनि मानव तस्करीसम्बन्धी अनुसन्धान गर्ने छुट्टै निकाय छन् । ती निकायमा मुद्दाको चाप बढ्न थालेपछि मानव बेचबिखनसम्बन्धी घटनाको एकै स्थानबाट विशिष्टिकृत अनुसन्धानका लागि ब्यूरो स्थापना गरिएको गृह मन्त्रालयले जनाएको छ ।

नेपाली युवायुवतीलाई भारतको बाटो हुँदै वैदेशिक रोजगारीमा प्रतिबन्ध लगाएका देशमा पुर्याएर अलपत्र पार्ने, प्रलोभन देखाएर युवाहरुलाई विदेश लैजाने र ठग्ने प्रवृति छ । यस्तो प्रवृत्तिलाई रोक्न ब्यूरोलाई क्रियाशील तुल्याउने सरकारी लक्ष्य छ । सोहीअनुसार नियमावलीमै ‘मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसूर हुन नदिन आवश्यक ब्यवस्था मिलाउने’ जिम्मेवारी ब्युरोलाई दिइएको छ ।

सबै अनुसन्धान ब्युरो मातहत

संशोधित नियमावलीअनुसार ब्युरोको मातहत रहेर मात्रै मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसूरमा अन्य प्रहरी कार्यालयले अनुसन्धान गर्न सक्छन् । त्यसरी गरेको अनुसन्धान पूरा गरी सरकारी वकिल समक्ष प्रतिवेदन पेश गर्दा पनि त्यसको जानकारी ब्युरोलाई गराउनुपर्ने संशोधित नियमावलीमा उल्लेख छ ।

‘मानव बेचबिखन तथा ओसारप्रसार सम्बन्धी मुद्वाको सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयले पनि अनुसन्धान गर्न सक्छन् तर, ब्युरोको मातहत रहनुपर्ने कानुनी ब्यवस्था गरिएको छ’ प्रहरी उपरीक्षक एवं ब्युरोका प्रवक्ता गोबिन्द थपलियाले अनलाइनखबरसँग भने । मानवबेचबिखनसम्बन्धी अनुसन्धान एकै स्थानबाट गर्दा अनुसन्धान थप प्रभावकारी हुने प्रवक्ता थपलियाको विश्वास छ ।

प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)को नेतृत्वमा रहने ब्युरोलाई मानव बेचबिखनसम्बन्धी मुद्दामा अन्य प्रहरी कार्यालयबाट जारी रहेको अनुसन्धानको पनि अनुगमन गर्ने अधिकार दिइएको छ ।

‘मानव बेचबिखन तथा ओसारप्रसार सम्बन्धी कसूरको नियन्त्रण तथा सो को अनुसन्धानसम्बन्धी कार्यमा अन्य प्रहरी कार्यालयबाट भए गरेका कामको सुपरिवेक्षण, अनुगमन तथा समन्वय गर्ने’ प्रहरी नियमावलीको सातौं संशोधनमा ब्युरोको काम कर्तब्य र अधिकारमा उल्लेख छ ।

ब्युरोमै जाहेरी परेका कसूर, अनुसन्धान ब्युरोले अनुसन्धान गर्ने भनी प्रहरी प्रधान कार्यालयले तोकिदिएको कसूर, मानव बेचबिखन अनुसन्धान ब्युरोले अनुसन्धान गर्दा प्रभावकारी हुने भनी सम्बन्धित प्रहरी कार्यालयले अनुरोध गरी पठाएको कसूरमाथिको अनुसन्धान पनि ब्युरोले गर्नेछ ।

काम सुरु गरिसक्यौं : ब्यूरो

गत १३ असोज मा प्रहरी नियमावली सातौं संशोधन नेपाल राजपत्रमा प्रकाशित भएपछि तुरुन्तै आफ्नो जिम्मेवारी अन्तर्गतको काम सुरु गरिसकेको ब्युरोले जनाएको छ ।

ब्यूरोका प्रवक्ता थपलिया भन्छन्, ‘महानगरीय प्रहरी वृत सिंहदरबारसँगको समन्वयमा अनुन्धानको काम गर्दै आएका थियौं । कानुनी मान्यतासँगै ब्युरोले नै अनुसन्धान सुरु गरेको छ । हाल केन्द्रीय अनुसन्धान ब्युरोमा अनुन्धानको क्रममा रहेका मानवबेचबिखनसम्बन्धी मुद्दाको अनुसन्धान र अनुगमन गरिरहेका छौं ।’

कार्यालय स्थापना भएपछि प्रहरी नियमावली संशोधन गर्नमा समेत केही समय ब्यतित गरेको उनले बताए । नियमावली संशोधन भएर आइसकेपछि ब्युरो सक्रिय भएको उनको भनाइ छ । ‘नियमावली आइसकेकाले अब आफ्नै हिरासत कक्ष राख्न सक्छौं । आफैं अनुसन्धान गर्न सक्छौं’ उनले भने । यो बीचमा ब्युरोमा एउटा मानव तस्करी सम्बन्धी मुद्वा परेको पनि उनले जानकारी दिए ।

प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) को नेतृत्वमा ब्युरोमा हाल ६० जनाको दरबन्दी छ । दुई एसपी, तीन डीएसपी, ८ इन्सपेक्टर, सई, असईसहित ६० जनाको दरबन्दी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment