+
+
Shares

कांग्रेसको प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले भने– योबेला झूलो चकमक लगाउने काम नगरौं

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०७६ असोज २६ गते २०:३७

२६ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनपिःङको नेपाल भ्रमण र दशैं चाडले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र सत्तारुढ नेकपालाई नजिक बनाएको छ । अक्सर विवाद गरिरहने दुई पार्टीका नेताहरु केही दिनयता निकट बनेका छन् ।

२३ बर्षपछि चीनबाट भएको राष्ट्रपतिस्तरीय नेपाल भ्रमणलाई दुबै दलका नेताहरुले स्वागत र प्रशंसा गरेका छन् । यसको प्रष्ट दृश्य नेपाली कांग्रेसले आइतबार सानेपामा आयोजना गरेको चियापानमा पनि देखियो ।

कांग्रेसले दशैँ, तिहार, छठ लगायत पर्वका अवसरमा पार्टीको केन्द्रीय कार्यालय सानेपा ललितपुरमा शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम राखेको थियो । चियापानमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली, नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल, नेकपाका बरिष्ठ नेताद्धय झलनाथ खनाल, माधवकुमार नेपाल, नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ, समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई, राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलगायत सहभागी भए ।

कांग्रेस सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय विमलेन्द्र निधि र विजय गच्छदार, महामन्त्री शशांक कोइराला लगायतले कार्यक्रममा सहभागीहरुलाई स्वागत गरे ।

स्वागत कक्ष नजिकै शुभकामना मन्तव्य दिन राखिएको पोडियममा उभिएर कांग्रेस–कम्युनिस्ट नेताहरुले एकैखालका अभिव्यक्ति दिए । एकअर्कासँगको सहकार्य र सहअस्थित्वको स्मरण गरे । सबैले एकैस्वरमा चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणको स्वागत र प्रशंसा गरे ।

कांग्रेसको चियापानमा सहभागी हुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी कांग्रेस सभापति देउवा, बरिष्ठ नेता पौडेल लगायतसँगको आफ्नो सम्बन्धलाई स्मरण गरे ।

‘शेरबहादुर देउवासँग मेरो ४५ वर्षदेखिको सम्बन्ध हो, रामचन्द्र पौडेल पनि ४५ बर्ष देखिकै साथी हुनुहुन्छ’ प्रधानमन्त्रीले भने, ‘यस प्रकारका कार्यक्रमले दलहरुबीचको कटुतालाई अन्त्य गर्छ । अहिले त हामीमा मित्रता छ । यस कार्यक्रमले हाम्रो मित्रतालाई थप बलियो बनाएको महसुस मैले गरेको छु ।’

प्रधानमन्त्री ओलीले कांग्रेसले नै दशैं, तिहार जस्ता चाडपर्वका अवसरमा चियापान कार्यक्रम गर्न सुरु गरेको र अहिले नेपालीको संस्कृतिका रुपमा विकसित भएको बताए ।

प्रधानमन्त्री ओलीले लोकतन्त्रप्रतिको निष्ठालाई तलमाथि हुन नदिने प्रतिवद्धता पनि व्यक्त गरे । ‘उहाँहरु (देउवा, पौडेल) लाई लोकतन्त्रप्रतिको मेरो निष्ठा राम्रैसँग थाहा छ । त्यो निष्ठालाई म तलमाथि हुन दिन्नँ’ कार्यक्रममा प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीलाई पत्रकारले प्रश्न गरे, ‘कांग्रेसले सरकारको गतिविधिलाई लिएर लोकतन्त्रबारे प्रश्न उठाएको छ नि ? ओलीले जवाफ फर्काए, ‘योबेला झूलो चकमक लगाउने काम नगरौं ।’

त्यसैगरी कांग्रेसको चियापानमा सहभागी हुन पुगेका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसमा मनोबल बढ्दै गरेको आफूले महसुस गरेको बताए । ‘म यहाँ (चियापान कार्यक्रम)मा आउँदै गर्दा तपाईं (कांग्रेस नेता)हरुको मनोबल बढ्दै गरेको, संस्कृतिप्रतिको लगाव र निष्ठा अक्षुण रहेको महसुस गरें । यस अर्थमा पनि तपाईंहरुलाई बधाई भन्न चाहन्छु’ अध्यक्ष प्रचण्डले भने ।

राजनीतिमा असम्भव भन्ने केही नहुने बताउँदै प्रचण्डले कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालालाई सम्झिए । जोसँग अध्यक्ष प्रचण्डले १२ बुँदे सम्झौता गरेर जनयुद्धलाई शान्ति प्रक्रियामा रुपान्तरण गरेका थिए ।

‘राजनीति यस्तै नै हो । मैले भन्ने गरेको छु, राजनीतिमा असम्भव भन्ने कुरा केही हुँदैन’ अध्यक्ष प्रचण्डले भने, ‘असम्भव देखिने कुराहरु पनि राजनीतिक पार्टीको नेतृत्वको सहकार्यद्वारा सम्भव बनाउन सकिन्छ भन्ने कुराको एउटा ठूलो दृष्टान्त दिवंगत गिरिजाप्रसाद कोइराला र मैले हस्ताक्षर गरेर शुरु गरेको शान्ति प्रक्रिया, संविधानसभाको निर्वाचन र संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा र हामीहरुको बीचमा भएको सहकार्य र सहयात्राको नयाँ अभियान हो ।’

अध्यक्ष प्रचण्डले विगतका कांग्रेस सभापति देउवासँगै गरेको सहयात्रालाई पनि सम्झिए र भने, ‘तपाईंहरुसँग आउँदा सहयात्रीहरुसँगै भेटघाटमा आएको महसुस हुन्छ । हेर्दै जाउँ आगामी दिनमा राजनीतिले कसरी कोल्टो फेर्दै जान्छ । मलाई विश्वास छ, हाम्रो सहयात्रा जारी रहनेछ । हाम्रो एकता र शान्तिप्रतिको संकल्प जारी रहनेछ र सहयात्रीकै रुपमा हामी निरन्तर अघि बढि राख्नेछौं ।’

तुरुन्तै पत्रकारले प्रचण्डलाई सोधे, ‘दुई तिहाइको सरकार रहेका बेला कांग्रेससँग कस्तो सहकार्यको संकेत गर्न खोज्नुभएको ?’ प्रचण्डले जवाफ फर्काए, ‘अहिले दुई तिहाईको कुरा नगरौं ।’

सी भ्रमणको स्वागत गरेका छौं : देउवा

प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष प्रचण्डबाट प्रशंसा खाएका कांग्रेसका सभापति देउवाले दुबैलाई धन्यवाद दिए । कार्यक्रममा उपस्थित भएकाहरुलाई धन्यवाद र देश विदेशमा रहेका नेपालीहरुलाई शुभकामना दिएर मन्तब्य टुङ्ग्याउन खोजेका देउवालाई ‘सी भ्रमणलाई कसरी लिनुभएको छ ? भन्दै पत्रकार रोके ।

जवाफमा सभापति देउवाले चिनियाँ राष्ट्रपति सीको भ्रमणलाई कांग्रेसले स्वागत गरेको बताए । उच्चस्तरीय भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने भन्दै प्रशंसा गरे । ‘सीको भ्रमणलाई नेपाली कांग्रेसले स्वागत गरेको छ, चीनले विगतदेखि नै नेपाललाई सहयोग गर्दै आएको छ, भोलिको दिनमा पनि गरोस् भन्ने चाहना छ’ उनले भने ।

चिनियाँ राष्ट्रपति सीसँग देउवाले पनि भेटवार्ता गरेका थिए । उक्त भेटमा सीले आफूलाई चीन भ्रमणको निम्तो दिएको र आफूले मिलाएर आउने जवाफ दिएको उनले सुनाए ।

कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस–कम्युनिस्ट मिलेर नेपालमा ठूला ठूला परिवर्तन सम्भव भएको बताए । गत निर्वाचनमा कांग्रेस नतिजामा कमजोर देखिएको भए पनि कांग्रेसप्रति जनताको आस्था नघटेको उनले दाबी गरे । ‘कांग्रेस एउटा वैकल्पिक र जनताको भरोसाको शक्तिमा रुपमा रहन चाहन्छ ।’ उनले भने ।

नेकपा अध्यक्ष प्रचण्डले कांग्रेसमा मनोबल बढ्दै गरेको आफूले महसुस गरेको भन्दै गरेको टिप्पणीतर्फ इकिंत गर्दै उनले भने, ‘कांग्रेसमा मनोबल बढ्दै गरेको सत्तापक्षकै नेताले भन्नुभयो । हामी त्यो बढेको मनोबललाई अझ बढाएर अघि बढ्छौं ।’

बरिष्ठ नेता पौडेलले पनि चिनियाँ पाहुना (राष्ट्रपति सी) को नेपाल भ्रमणको प्रशंसा गरे ।

कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टी नेपालका संघीय परिषद्का अध्यक्ष डा भट्टराईले सीको नेपाल भ्रमण पूर्णत सफल रहेको बताए । ‘सीको भ्रमण अत्यन्त महत्वपूर्ण थियो । यो भ्रमणका लागि चिनियाँ सरकार र नेपाल सरकारलाई धन्यवाद र बधाई दिन चाहन्छु । भ्रमण मूलतः सफल नै रह्यो’उनले भने ।

नेकपाका बरिष्ठ नेताद्धय झलनाथ खनाल र माधवकुमार नेपालले पनि सीको भ्रमण शानदार भएको टिप्पणी गरे । सीको भ्रमणपछि नेपालले राखेको रेलको सपना पनि पूरा हुने लक्षण देखा परेको नेताद्धयको भनाइ थियो ।

विगतमा भन्दा व्यवस्थित कांग्रेसको चियापान

अघिल्लो बर्षको तुलनामा यस बर्षको कांग्रेसको चियापान कार्यक्रम व्यवस्थित देखिन्थ्यो । पर्याप्त मात्रामा स्वमंसेवकहरु खटिएका थिए । अतिथि कक्ष र शुभकामना दिन पोडियम राखिएको थियो ।

अघिल्लो बर्ष नेताहरुको प्रतिक्रिया लिन पत्रकार ठेलम ठेलको स्थिति झेल्नुपरेको थियो । यसबर्ष त्यस्तो हुन नदिने गरी ब्यवस्था मिलाइएको थियो ।

कार्यक्रम ब्यबस्थित देखेर नेकपाका बरिष्ठ नेता माधव नेपालले भने, ‘यसपटक कांग्रेसको चियापन व्यवस्थित देखियो । कम्युनिस्टबाट सिकेछन् । राम्रै भयो । राम्रो कुरालाई सबैले सिकौं ।’

कांग्रेसको चियापान कार्यक्रम ब्यबस्थित देखिएको भन्दै नेकपाका अध्यक्ष प्रचण्डले पनि प्रशंसा गरेका थिए ।

लेखक
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?