Comments Add Comment

छापामा आज : चीनसँग भएका सबै सम्झौता अनुदानमा

२७ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङको दुईदिने राजकीय भ्रमणका क्रममा भएका सम्झौता र यसका विविध आयामबारे आजका सबैजसो दैनिक पत्रिकाहरूले चर्चा–परिचर्चा गरेका छन् ।

कान्तिपुरले ‘नेपाल–चीन अब रणनीतिक साझेदार’ शीर्षक दिएर समाचार बनाएको छ । दुईदिने राजकीय भ्रमणले राजनीतिक र कूटनीतिक अर्थमा महत्त्वपूर्ण सन्देश छाडेको ठहर कान्तिपुरले गरेको छ । दुई देशबीच विकास र समृद्धिमा साझा रणनीति तय गर्नु उपयुक्त हुने धारणा राख्दै बाचा गरेका प्रतिबद्धताहरू पूरा गर्नैपर्ने अडान दोहोर्याएर सीले राजनीतिक वृत्तमा पनि गतिलो सन्देश दिएको उसको विश्लेषण छ ।

कान्तिपुरले विभिन्न व्यक्तिबाट भ्रमणको विश्लेषण पनि गराएको छ । चीन मामलाका जानकार मदन रेग्मीले सडक, बन्दरगाह, नाका, हवाई सम्पर्क र रेलवे सञ्जालमार्फत विकास–समृद्धिको अभियानलाई अघि बढाउने राष्ट्रपति सी चिनफिङको घोषणा अर्थपूर्ण मान्नुपर्ने बताएका छन् ।

पूर्वराजदूत केदारभक्त माथेमाको बुझाइमा कतैबाट पाइने सहयोग रकम वा सम्झौता बुँदाभन्दा पनि आफ्ना लागि नेपाल महत्त्वपूर्ण छ भन्ने चीनको सन्देश आफैंमा ठूलो कुरा हो ।

चीनका राष्ट्रपति सीको नेपाल भ्रमणमा भएका सबै सम्झौता तथा समझदारी चिनियाँ अनुदानबाट कार्यान्वयन हुने अर्को खबर पनि कान्तिपुरले छापेको छ । समाचार अनुसार बहुचर्चित केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन, केरुङ–काठमाडौं (सुरुङ मार्गसहित) सडक निर्माण अघि बढाउने र अन्य प्राविधिक तथा प्रशासनिक सम्झौता अनुदानअन्तर्गत मात्रै रहेको सरकारले जनाएको छ ।

‘यसपटक नेपाल–चीनबीच भएका सम्झौता कार्यान्वयनको खर्च ऋणअन्तर्गत बजेट हुने छैन’, अर्थमन्त्री खतिवडाले कान्तिपुरसँग भनेका छन् ।

समझदारी तथा सम्झौता भएबाहेक ३.५ बिलियन युयान (करिब ५६ अर्ब रुपैयाँ) समेत तीन वर्षभित्र अनुदानका रूपमा दिने घोषणा राष्ट्रपति सीले गरेको उनले जानकारी दिए ।

अन्नपूर्णले सी भ्रमण सफल भएको र नेपाल–चीन सम्बन्ध नयाँ उचाइमा पुगेको निष्कर्ष निकालेको छ ।

नागरिकले चिनियाँ राष्ट्रपति सी चिनफिङको दुईदिने नेपाल भ्रमणका क्रममा चीनले अगाडि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) लाई नेपाल र चीन दुवै देशले साझा विकासको आधारमा स्वीकारेको लेखेको छ ।

राजधानीले नेपाल–चीनबीचको समझदारीलाई ऐतिहासिक भनेको छ भने सरकारी मुखपत्र गोरखापत्रले चीनसँगको सम्बन्ध नयाँ युगमा प्रवेश गरेको लेखेको छ ।

हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment