Comments Add Comment
चिनियाँ राष्ट्रपति भ्रमणको समीक्षा :

‘नयाँ युगमा असुहाउँदो तयारी, कर्मकाण्डी कूटनीति’

कहाँ गयो ‘गेम चेन्जिङ’ परियोजना ?

२७ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दुईदिने औपचारिक भ्रमणमा आएका आफ्ना चिनियाँ समकक्षी सी चिनफिङलाई अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेपछि नेपाल र चीनबीचको सम्बन्ध नयाँ युगमा प्रवेश गरेको धारणा सार्वजनिक गरिन् ।

‘हाम्रोनिकट छिमेकी मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका महामहिम राष्ट्रपति सी चिनफिङज्यूको ऐतिहासिक राजकीय भ्रमणबाट नेपाल र चीनबीचको अटल र सुदृढ सम्बन्ध नयाँ युगमा प्रवेश गरेको छ’, राष्ट्रपति भण्डारीले ट्विटमा भनेकी छन्, ‘महामहिमज्यूले नेपाल र नेपालप्रति दर्शाउनुभएको अपार सद्भावका लागि हार्दिक कृतज्ञता ज्ञापन गर्दछु ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सीको भ्रमणबाट दुई देशबीचको सम्बन्धले नयाँ उचाइ र गतिशीलता प्राप्त गरेको उल्लेख गरेका छन् । ‘मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका महामहिम राष्ट्रपति सी चिनफिङको दुई दिवसीय ऐतिहासिक नेपाल भ्रमण भव्य रुपमा सम्पन्न भएको छ। उहाँको भ्रमणबाट दुई देशबीचको सम्बन्धले नयाँ उचाइ र गतिशीलता प्राप्त गरेको छ ।’

राष्ट्रपति र प्रधानमन्त्रीले भनेजस्तै उत्तरी छिमेकका राष्ट्रपतिको भ्रमण ऐतिहासिक र सफल भएकोमा सन्देह छैन । २३ वर्षयता भएको उच्चस्तरीय भ्रमण दुई देशबीचको सम्बन्ध अझै प्रगाढ तुल्याउनमा फलदायी भएकोमा पनि दुईमत छैन ।

चीन–नेपाल सीमा वारपार रेलमार्ग परियोजनाको सम्भाव्यता अध्ययनबारे सम्झौता (एमओयु), अर्थ मन्त्रालय र चीनको अन्तराष्ट्रिय विकास समन्वय एजेन्सीबीच सुरुङ निर्माण सम्बन्धमा सम्झौता, चीनको छेङ्दुमा नेपालको महावाणिज्य दूतावास स्थापनाका लागि एक्सचेन्ज अफ नोटलगायत २० वटा सम्झौता/सहमति/समझदारी भए ।
यो पनि पढ्नुहोस नेपाल र चीनबीच २० वटा सम्झौता, रेलको सम्भाव्यता अध्ययन गरिने (सूचीसहित)

महाशक्ति राष्ट्र बन्ने दौडमा रहेको देशका राष्ट्रपतिको भ्रमणले विश्व कुटनीतिमै नेपालको ध्यान आकर्षित गर्न सफल भएको परराष्ट्र मामिलाका जानकारहरू बताउँछन् । सीको नेपाल आगमनलाई विश्वले कति महत्व दिएको रहेछ भन्ने जान्न भ्रमणको पूर्वसन्ध्यामा नेपालका लागि अमेरिकी राजदुत र्याण्डी बेरीको एउटा ट्विट हेरे पुग्छ । उनले चिनियाँ राष्ट्रपतिको औपचारिक भ्रमणको अघिल्ले दिन शुक्रबार दुई मिनेटभन्दा लामो भिडियोमार्फत इन्डो–प्यासिफिक रणनीतिबारे अमेरिकी धारणा सार्वजनिक गरेका थिए ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का विदेश मामिला विभाग उपप्रमुख राम कार्की विश्व राजनीतिमा नेपालको महत्व कति रहेछ भन्ने सीको भ्रमणका क्रममा पनि प्रष्ट देखिएको बताउँछन् । उनी भन्छन्, ‘कुटनीतिक संकेत बुझ्ने जोसुकैले यो भ्रमणका बेला चीन, भारत र अमेरिकाको नेपाल चासो के थियो भन्ने बुझ्न सक्दछ ।’

राष्ट्रपतिको भ्रमणको एक महिना पहिला नै चिनियाँ विदेश मन्त्री वाङ यीले नेपालको तीनदिने तयारी भ्रमण गरेका थिए । भ्रमण शुरु हुनुभन्दा एक दिन पहिला राष्ट्रपति सीको नेपालसम्बन्धी लेख विभिन्न सञ्चार माध्यममा प्रकाशित भए । भ्रमणका लागि उनीहरूको पर्याप्त पूर्वतयारी थियो भन्ने यसले पनि देखाउँछ ।

गणतन्त्र आउनुअघिसम्म बेइजिङ नेपालमा राजसंस्थासँग मात्रै सम्बन्ध कायम राख्दा पुग्छ भन्ने मान्यतामा देखिन्थ्यो । तर, गणतन्त्र स्थापनापछि उसले ‘परिस्थिति अनुसारको कुटनीति’ मा विश्वास गर्न थाल्यो ।

त्यसैको परिणाम थियो, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको भेटवार्ता । द्विपक्षीय भेटमा सीले आफूलाई चीन भ्रमणको निम्तो दिएको सभापति देउवाले कोजाग्रत पूर्णिमाको दिन आयोजित चियापान कार्यक्रममा जानकारी दिए ।

‘प्रमुख प्रतिपक्षी पार्टीका नेतासँगको भेट कुनै आकस्मिकता थिएन, यसका लागि उनीहरूले भ्रमणअघि नै सम्पूर्ण तयारी गरिसकेका थिए’ पूर्वराजदुत हिरण्यलाल श्रेष्ठ भन्छन्, ‘नेपालमा भने भ्रमणको अघिल्लो दिनमात्रै प्रधानमन्त्रीले सुझाव लिन कार्यक्रम आयोजना गरे ।’

राष्ट्रपति सी चेन्नईबाट काठमाडौं उडीसक्दा पनि भीभीआईपीको भ्रमण रुटमा परेको माइतीघर क्षेत्रमा भने सडक पीच गर्ने क्रम जारी थियो । हेर्दा सामान्य जस्तो लागे पनि बहुप्रतिक्षित भ्रमणका लागि नेपालको तयारी कस्तो थियो भन्ने दर्शाउन अर्को उदाहरण थियो त्यो ।

कम्तिमा दुई देशबीचको सम्बन्धलाई नयाँ युगमा प्रवेश गराउने वा नयाँ उचाइमा पुर्‍याउने तहको तयारी त छँदै थिएन ।

बिरालो बाँध्ने कुटनीति

अन्तिम समयमा भइरहेको सडक मर्मत, सरसफाइ, सजावट आदिले काठमाडौंमा उच्चस्तरीय भ्रमण हुँदैछ भन्ने छनक दिइरहेको थियो । यस्तो गर्नु भनेको पाहुना आउने पक्का भएपछि मात्रै घर लिपपोत गर्ने परम्पराको निरन्तरता हो ।

परराष्ट्र सम्बन्धको मामिला पनि नेपाल श्राद्धमा बिरालो बाँध्ने भनेजस्तै परम्परागत कुटनीतिमै अल्झिएको जानकारहरू बताउँछन् । जब कि मौन कुटनीतिमा विश्वास गर्ने चीन स्वयम् ‘भोकल डिप्लोमेसी’ आइसकेको छ । उसले परस्थिति अनुसार ‘सफ्ट पावर डिप्लोमेसी’ को भरपुर उपयोग गर्न थालेको छ ।

‘यो भ्रमणमा नेपालले दीर्घकालीन लाभका लागि ध्यान दिनुको सट्टा औपचारिकता निर्वाहमा समय खेर फाल्यो,’ पूर्वपरराष्ट्र मन्त्री रमेशनाथ पाण्डे भन्छन्, ‘प्रचलित प्रत्यक्ष कूटनीतिको शैलीलाई नेपालले अपनाउन नसकेको यसपालि प्रष्ट भयो ।’

नेपाल आउनुअघि चिनियाँ राष्ट्रपति सी दक्षिणी भारतमा थिए । २२ घण्टाको अनौपचारिक भारत भ्रमणमा सीले करिब ९ घण्टा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग ‘वान टु वान’ वार्ता गरे । जहाँ दोभाषे समेत राखिएन । यसले पनि सी–मोदी वार्ताको गम्भीरता र गहनता देखाउँछ ।

जबकी २१ घण्टे नेपाल भ्रमणका क्रममा सीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आधा घण्टा मात्रै ‘वान टु वान’ वार्ता गरे । ‘प्रधानमन्त्रीसँगको आधा घण्टाको वार्ता र ४० मिनेटको दुई पक्षीय प्रतिनिधि मण्डलबीचको वार्ता बाहेकको समय औपचारिकता निर्वाह, कर्मकाण्डी कामकारवाहीमा खेर गयो’, पूर्व मन्त्री पाण्डे भन्छन् ।

तथापि, राष्ट्रपति सीको भ्रमणलाई सफल बनाउन अहोरात्र खटिएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भने तीन दिनको छोटो तयारीमा भ्रमणलाई सफल बनाउन सिंगै राज्यसंयन्त्र राम्रोसँग परिचालित भएको भन्दै सन्तोष व्यक्त गरेका छन् । मन्त्री ज्ञवालीले यो भ्रमणको सफलतालाई आफ्नो कार्यकालको महत्वपूर्ण उपलब्धीसमेत बताएका छन् ।
यो पनि पढ्नुहोस भारत र चीन नजिक हुँदा खुशी छौं – परराष्ट्रमन्त्री ज्ञवाली

परराष्ट्र मामिलाका जानकार दिनेश भट्टराई भ्रमणका क्रममा सरकारले ठोस कूटनीति अवलम्वन गर्न नसकेको बताउँछन् । उनी भन्छन्, ‘हामीले यसपटक पनि भ्रमणलाई उपलब्धीमूलक बनाउनुभन्दा परम्परागत रुटिन मै अल्झियौं ।’

कहाँ गयो ‘गेम चेन्जिङ’ परियोजना ?

आफ्ना समकक्षीको सम्मान आयोजित रात्रीभोजमा मन्तव्य राख्दै राष्ट्रपति भण्डारीले विश्वका १५० भन्दा बढी राष्ट्रहरू तथा दर्जनौं संघसंस्थाहरू बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) को पक्ष बनेको स्मरण गरिन् । नेपाल पनि २९ बैशाख २०७४ मा बिआरआईमा प्रवेश गरिसकेको छ । नेपालले यातायात सञ्जाल, व्यापारघाटा र उर्जालाई प्राथमिकतामा राखेको छ ।

तर, चिनियाँ राष्ट्रपतिको बहुप्रतिक्षित भ्रमणपछि सार्वजनिक १४ बुँदे संयुक्त वक्तव्यमा भने सानोभन्दा सानो विषयलाई पनि निकै ठूलो उपलब्धी जस्तो गरी राखिएका छन् । जस्तो काठमाडौं महानगरपालिका र बुटवल उपमहानगरपालिकाबीच चीनको दुई वटा शहरसँग भगिनी सम्बन्ध स्थापनाका बुँदा छन् ।

जब कि यस्तो समझदारी मेयरस्तरीय भ्रमणका बेला हुनुपर्ने हो । आलोचकहरूले यसलाई झिंगा मार्न तोपको प्रयोग गरेको भन्ने गरेका छन् ।

परराष्ट्र मन्त्री रहेका बेला ०७४ सालमा बिआरआईमा नेपालको तर्फबाट हस्ताक्षर गरेका कांग्रेस नेता डा. प्रकाशशरण महत महत्वपूर्ण भ्रमणबाट नेपालले अपेक्षित लाभ लिन नसकेको बताउँछन् । उनी भन्छन्, ‘यति उच्चस्तरको भ्रमण हुनु हाम्रा लागि खुशीको कुरा हो । तर, दुईवटा शहरबीचको भगिनी सम्बन्ध स्थापनाको कुरा यति उच्चस्तरीय भ्रमणको एजेण्डा नबन्नुपर्ने हो ।’

नेपालले प्राथमिकता निर्धारण र पूर्व तयारी गर्न नसक्दा भ्रमणबाट पूर्ण लाभ लिन नसकेको जानकारहरूको भनाइ छ । नेकपाका विदेश विभाग उपप्रमुख राम कार्की नेपालले आजसम्म पनि आफ्नो प्राथमिकता के हो भन्ने ठम्याउनै नसकेको बताउँछन् । कार्की भन्छन्, ‘तय नै नभएको प्राथमिकता राखोस् पनि कसरी ?’

परराष्ट्र मामिलाका जानकार दिनेश भट्टराई प्राथमिकता के हो भन्नेमा प्रष्ट नहुँदा सबै कुरा प्राथमिकजस्तो देखिएको बताउँछन् । ‘दीर्घकालीन सोच राखेर पूर्वतयारीका साथ सम्झौता गर्न सकेको देखिएन,’ भट्टराई भन्छन्, ‘यत्रो सम्झौता भए, तर गेम चेन्जिङ प्रोजेक्ट कुन हो ? भन्दा त एउटा पनि छैन ।’

सीले खोलेको रेलको ढोका

सम्भवतः भ्रमणअघि सबैभन्दा बढी चर्चामा रहेको विषय हो बीआरआईमा नेपालले प्राथमिकतामा राखेको भनिएको केरुङ–काठमाडौं रेलमार्ग । रेलमार्ग बनाउन चीनले ५० प्रतिशत अनुदान तथा २५ प्रतिशत ऋण दिने र नेपालले जम्मा २५ प्रतिशत लगानी गर्ने सहमति भएको चर्चा चल्यो । कतिपयले स्रोतको हवाला दिएर प्रधानमन्त्री ओलीले ८० प्रतिशत अनुदानका लागि प्रयास गरिरहेको दाबीसमेत गर्न भ्याए ।

केरुङ–काठमाडौं रेलमार्ग निर्माणबारे राष्ट्रपतिको भ्रमणका बेला चीनले ‘बीग सरप्राइज’ दिने चर्चा पनि चल्यो । तर, ती यी सबै कुरा अनुमान मात्रै थिए भन्ने त्यतिबेला प्रष्ट भयो जब, राष्ट्रपति भण्डारीद्वारा आयोजित रात्रीभोजमा चिनियाँ राष्ट्रपति सीले चीन–नेपाल सीमापार रेलमार्गको बल्ल सम्भाव्यता अध्ययन सुरु गर्न लागिएको घोषणा गरे ।
यो पनि पढ्नुहोस ‘भूजडित नेपाल’ बनाउने राष्ट्रपति सीको वाचा पूरा गर्ने बुँदा नम्बर ५

संयुक्त वक्त्तव्यमै पनि चीन–नेपाल सीमा वारपार रेलमार्ग परियोजनाको सम्भाव्यता अध्ययनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र चीनको यातायात मन्त्रालयबीच सम्झौता भएको उल्लेख छ । सम्भाव्यता अध्ययन अर्थात चीन–नेपाल सीमा वारपार रेलमार्गले जोड्न सम्भव छ कि छैन भन्ने विषयमा अध्ययन गर्ने सम्झौता भएको छ ।

केरुङ–काठमाडौं रेलमार्ग बन्ने नबन्ने कुराको निक्र्योल हुने भनेको सम्भाव्यता अध्ययनपछि हो । बन्न सक्ने कि नसक्ने यकिन नै नभएको परियोजनामा कसले कति लगानी गर्ने भनेर सम्झौता हुने त प्रश्न नै भएन ।

यो रेलमार्गको विषयमा चर्चा गर्दा छुटाउनै नहुने अर्को विषय के हो भने चीनको स्वशासित क्षेत्रको केरुङ शहर आफैं रेलमार्गको पहुँचमा छैन । ‘रेलको कुरा गर्दा हामी यथार्थवादी हुन सकेनौं कि जस्तो लाग्छ’ पूर्वपरराष्ट्र मन्त्री महत भन्छन्, ‘फेन्टासीका लागि बोल्नु भन्दा पनि जे गर्न सकिन्छ, त्यही बोल्दा राम्रो हुन्छ ।’

कार्यान्वयनमा जोड

राष्ट्रपति सीले आफ्नो मन्तव्यमार्फत चिनियाँहरू भनाइमा होइन, कार्यान्वयनमा विश्वास गर्छन् भन्ने स्पष्ट सन्देश दिए । ‘म प्रायः भन्ने गर्दछु, हामीले बनाएका योजनाहरुलाई पूरा गरेरै छोडौं, हामीले चीनमा पनि यस्तै गरेका छौं’ सीको भनाइ थियो, ‘हाम्रो उद्देश्य छ, दुई शत वाषिर्कीका दुई लक्ष । यसको पहिलो लक्ष हामी आगामी वर्षमा साकार तुल्याउने छौं । दोस्रो लक्ष्यचाहिँ ३० वर्षपछि । तर, हाम्रो काम गर्ने मार्ग स्पष्ट छ, त्यसलाई कार्यान्वयन गर्नुपर्छ ।’

यो पनि पढ्नुहोस योजना पूरा गरेरै छोडौं, चीनमा यस्तै गरेका छौं

सीको यो भनाइले नेपाल सरकारको अकर्मण्यतातर्फ इंगित रहेको जानकारहरू बताउँछन् । हुन पनि १९५५ मा दौत्य सम्बन्ध स्थापना भएयता चीनले नेपाललाई गरेको सहयोग गरेका परियोजनाहरू धमाधम बन्द भइरहेका छन् । चीनसँग जोडिएका उद्योग, कलकारखाना वा अन्य व्यवसाय धमाधम बन्द भइरहेका छन् ।

त्रिपुरेश्वर–सूर्यविनायक चल्ने ट्रली बस, हेटौंडा कपडा उद्योग, बुटवल धागो कारखाना, भृकुटी कागज कारखाना, नेसनल ट्रेडिङ यसका केही उदाहरण हुन् ।
यो पनि पढ्नुहोस चिनियाँ लगानीको तीतो विगत : ट्रलीबसदेखि हवाईजहाजसम्म

एक अर्थविद् भन्छन्, ‘फाइदा नहुने ठाउँमा एक पैसा पनि लगानी नगर्ने देशको नेतृत्वलाई आफ्नो लगानी बालुवामा पानी हुँदा छाती पोल्दैन भन्ने लाग्दैन ।’

ती अर्थविदका अनुसार नेपालमा कार्यरत चिनियाँ ठेकेदारहरूमार्फत पनि यहाँको भनाइ र गराइबीचको भिन्नताबारे चीनले निरन्तर रिर्पोट लिईरहेको छ ।

दुवै छिमेकी भाइभाइ

चिनियाँ राष्ट्रपति सीको सम्बोधनपछि एउटा शब्द चर्चामा छ, भूजडित । ‘नेपालको भूपरिवेष्ठित देशबाट भूजडित देश बन्ने सपना साकार तुल्याउन मद्दत गर्नेछौं’ उनको सम्बोधनको एउटा वाक्यांश यस्तो थियो ।

सीले सिधै बेइजिङबाट आएर यस्तो भनाइ राखेका होइनन् । काठमाडौं उनी चेन्नईबाट आए । त्यतिमात्रै होइन त्यसको एक साताअघि मात्रै सीले बेइजिङमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई स्वागत गरेका थिए ।

नेपालसहित सार्कका पाँचवटा देशसँग चीनको सीमाना जोडिएको छ । अर्थात दक्षिण एसियाली देशहरू मध्ये चीनको सबैभन्दा नजिक छु भन्ने भ्रमबाट नेपाल मुक्त रहन सक्नुपर्छ । चीनले नेपालसँग दोस्ती गर्नकै लागि भारतसँग शत्रुता मोल्दैन भन्ने सन्देश दिन खोजेको जानकारहरू बताउँछन् ।

त्यसो त १९६० को दशकदेखि नै नेपालको सामरिक तथा भौगोलिक यर्थाथता बुझेर चीनले नेपाललाई भारतसँग राम्रो सम्बन्ध राख्नु भन्दै आएको छ ।

नेकपा विदेश विभाग उपप्रमुख कार्कीको बुझाइमा चीन–भारतको सुदृढ सम्बन्ध पनि सीको नेपाल भ्रमण सम्भव तुल्याउने एउटा कारण हो । नेपालले दुई छिमेकबीचको सम्बन्धको विश्लेषण गर्दा १९६२ को सिनो–इन्डिया युद्धकालीन चश्मा फ्याँक्नु पर्ने परराष्ट्रविदहरू बताउँछन् ।

भारतसँग चित्त नबुझ्दा चीन र चीनसँग चित्त नबुझ्दा भारतलाई कार्डको रुपमा प्रयोग गर्ने महेन्द्रकालीन विदेशनीतिबाट मुक्त हुनु जरुरी छ । दुई फरक राजनीतिक प्रणाली भएका शक्तिशाली देशहरूबीच समदुरीको सम्बन्ध कायम, यो भ्रमणको अर्को सन्देश हो ।

पूर्वपरराष्ट्र मन्त्री पाण्डे भन्छन्, ‘यो भ्रमणको परिणामलाई कूटनीतिक शालीनताबाट उपयोग गर्नमा चूक भयो भने नेपाल भूराजनीतिक अप्ठ्यारोमा पर्न सक्छ ।’

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको विश्लेषणमा यो भ्रमणले ऐतिहासिक अवसरको ढोका खोलेको भएता पनि नेपाल सरकारका तर्फबाट केही कमी कमजोरीहरु पनि देखिए । जस्तो– राष्ट्रपतिकहाँ प्रधानमन्त्रीको अनुपस्थितिमा डेलिगेसन लेभलको वार्ता हनु, मधेसकेन्द्रित दलहरुलाई उपेक्षा गर्नु अनि रात्रीभोजमा ड्रेस कोडमा नाममा नेपालको जातीय एवं सांस्कृतिक विविधतालाई बेवास्ता गरिनु सरकारका तर्फबाट भएका कमी कमजोरी हुन् ।

साथै अब नेकपा सरकारले चीनलाई देखाएर भारत वा अमेरिकासँग दूरी राख्न खोज्यो भने त्यो गलत हुने पूर्वप्रधानमन्त्री डा. भट्टराईको सुझाव छ ।
यो पनि पढ्नुहोस ‘बढी नफुर्कौं, अमेरिका र भारतसँग पनि मित्रता राख्नुपर्छ’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment